चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध « Khabarhub

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय सुरक्षामा जोखिम पर्न सक्ने भन्दै विदेशी निर्मित नयाँ ह्युमनोइड रोबोट (मानव आकारका रोबोट) र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यो कदम मुख्यतः चीनलाई लक्षित रहेको देखिएको छ । चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी भन्दै आलोचना गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ताको पूर्वसन्ध्यामा आएको यस कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने देखिएको छ । विश्वव्यापी ह्युमनोइड रोबोट बजारमा चीनको हिस्सा करिब ८५ प्रतिशत रहेको छ ।

एफसीसीको प्रतिबन्धमा चार खुट्टे ‘क्वाड्रुपेड’ रोबोट अर्थात् ‘रोबोट कुकुर’को नयाँ आयातसमेत समेटिएको छ । आयोगले यस्ता उपकरणबाट साइबर सुरक्षा र राष्ट्रिय सुरक्षामा जोखिम बढ्न सक्ने जनाएको छ ।

पावर इन्भर्टरले प्रत्यक्ष विद्युत् प्रवाह ९डीसी०लाई वैकल्पिक विद्युत् प्रवाह ९एसी०मा रूपान्तरण गर्छ । यसको प्रयोग नवीकरणीय ऊर्जा प्रणाली, डाटा सेन्टर तथा घरायसी उपकरणमा हुने भएकाले यसमा लगाइएको प्रतिबन्धको प्रभाव व्यापक हुन सक्ने बताइएको छ ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले मङ्गलबार प्रतिबन्धको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति शृङ्खलालाई सुरक्षित गर्नु रहेको बताएका छन् । उनका अनुसार प्रतिबन्ध आयात गरिने यस्ता उपकरणका नयाँ संस्करणमा लागू हुनेछ ।

यो कदम चीनबाट आयात हुने ड्रोनलगायतका प्रविधिमा अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध तथा चीनमा अमेरिकी उन्नत प्रविधिको निर्यातमा लगाइएको नियन्त्रणकै निरन्तरता हो । अमेरिकी सरकारले चिनियाँ ‘ओपन–सोर्स’ कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रयोगमा समेत नियन्त्रण गर्ने विषयमा विचार गरिरहेको छ ।

चीनले प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिमार्फत रोबोटको प्रयोग तीव्र रूपमा विस्तार गरिरहेको छ । मोर्गन स्टेनलीका विश्लेषकका अनुसार सन् २०३० सम्ममा चीनको ह्युमनोइड रोबोट बजार १५ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्छ ।

मर्निङस्टारकी विश्लेषक काङ्युक्सियाओ लीका अनुसार चिनियाँ उत्पादकले विदेशी प्रतिस्पर्धीको तुलनामा तीव्र गतिमा उत्पादन बढाउँदै लागत घटाइरहेका छन् । उहाँले अमेरिकामा चिनियाँ रोबोटको पहुँच सीमित गर्दा अमेरिकी विकासकर्तालाई मूल्य प्रतिस्पर्धाबाट केही राहत मिल्ने भए पनि चीनको समग्र रोबोट उद्योगमा ठूलो असर नपर्ने बताए ।

प्रविधि अनुसन्धान तथा परामर्श समूह ओमडियाका अनुसार सन् २०२५ मा विश्वभर पठाइएका करिब १५ हजार ह्युमनोइड रोबोटमध्ये चीनका दुई प्रमुख कम्पनी युनिट्री र एजीआइबोटले पाँच–पाँच हजारभन्दा बढी रोबोट पठाएका थिए । अमेरिकाका टेस्ला र फिगर एआइजस्ता कम्पनीले भने केही सय वा त्यसभन्दा कम रोबोट पठाएका थिए ।

पावर इन्भर्टरमाथिको प्रतिबन्धले अमेरिकी बजारमा भने सीमित प्रभाव पार्ने मर्निङस्टारका अर्का विश्लेषक चेङ वाङले बताए । उनका अनुसार यसले पहिले नै स्वीकृत चिनियाँ उपकरणको निरन्तर प्रयोग वा बिक्रीमा तत्काल असर नपार्न सक्छ ।

चीनद्वारा अमेरिकी कदमको आलोचना

चीनको विदेश मन्त्रालयले अमेरिकी कदमको आलोचना गर्दै वासिङ्टनले चिनियाँ कम्पनीलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गरेको आरोप लगाएको छ ।

चिनियाँ व्यवसायको वैध अधिकार र हितको रक्षा गर्न चीनले आवश्यक सबै उपाय अपनाउने मन्त्रालयले जनाएको छ ।

“संरक्षणवादले अमेरिकालाई थप प्रतिस्पर्धी बनाउँदैन । यसले अमेरिकी कम्पनी र उपभोक्ताको हितमा मात्र क्षति पुर्याउनेछ,” मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने ।

ओमडियाका प्रमुख विश्लेषक लियान जे सुका अनुसार नयाँ प्रतिबन्धले अमेरिकी र चिनियाँ प्रविधि कम्पनीबीचको सहकार्यमा असर पार्न सक्छ । एनभिडियाले गत जुनमा चीनको युनिट्रीले निर्माण गरेको ह्युमनोइड रोबोटको चेसिस प्रयोग गर्ने रोबोटसम्बन्धी सन्दर्भ डिजाइन सार्वजनिक गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले हालै युनिट्रीलगायत केही प्रमुख चिनियाँ प्रविधि कम्पनीलाई चिनियाँ सेनासँग सम्बन्ध वा सहकार्य रहेको आरोप लागेका कम्पनीको सूचीमा राखेको छ । चीनले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : १३ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी