काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने संक्रमण तथा महामारीको जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले शव व्यवस्थापन प्रक्रिया तीव्र बनाएको छ।
शवगृहको अभाव तथा लामो समयसम्म शव सुरक्षित राख्न कठिनाइ भएपछि केही शव सड्न थालेको र दुर्गन्ध फैलिन थालेकाले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सामूहिक रूपमा शव व्यवस्थापनको प्रक्रिया अघि बढाएको हो।
नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ गरी ६६९ वटा शव फेला परेका छन्।
चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नखुलेका शव व्यवस्थापनको प्रक्रिया सुरु भइसकेको छ। अन्य जिल्लामा पनि आवश्यक कानुनी तथा सुरक्षा प्रक्रियासहित सोहीअनुरूप शव व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव र शरीरका अंगहरू आवश्यक सावधानी अपनाउँदै संकलन गरिन्छ। शव फेला परेको स्थानमा लासजाँच मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई ‘डेड बडी ब्याग’मा राखेर अस्पतालको शवगृहमा सुरक्षित राख्ने व्यवस्था गरिएको छ।
त्यसपछि फरेन्सिक चिकित्सकको उपस्थितिमा शवको आवश्यक सफाइ गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचानजन्य अंग र चिन्ह देखिने गरी विभिन्न कोणबाट तस्बिर खिचेर सुरक्षित राखिने प्रहरीले जनाएको छ। आवश्यकताअनुसार पोस्टमार्टम परीक्षणसमेत गरिन्छ।
पहिचानका लागि शवका तस्बिर तथा उपलब्ध विवरण सर्वसाधारणलाई सहज रूपमा हेर्न मिल्ने गरी प्रदर्शन गर्ने व्यवस्था गरिएको छ। कुनै नागरिकले शव आफ्नो आफन्तको हुन सक्ने जानकारीसहित हेल्प डेस्कमा सम्पर्क गरेमा थप तस्बिर, हुलिया, कपडा तथा घटनास्थलको लासजाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा सनाखत र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाउने गरिएको छ।
पहिचान हुन नसकेका शवलाई भने छुट्टाछुट्टै संकेत वा कोड नम्बर प्रदान गरी तस्बिर, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्रीलगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने गरिएको छ। भविष्यमा पहिचान गर्न सकिने गरी DNA नमुनासमेत संकलन गरी सुरक्षित राखिने प्रहरीले जनाएको छ।
बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवका सम्बन्धमा सम्बन्धित जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रक्रिया अघि बढाइने गरिएको छ।
शवलाई जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेत वा कोड नम्बर जमिनमुनि र माथि समेत राखिनेछ। साथै, शव व्यवस्थापन गरिएको स्थानको GPS लोकेसन, तस्बिर, नक्सा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिने प्रहरीले जनाएको छ।
जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको तस्बिर, DNA नमुना, संकेत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, पोस्टमार्टम रिपोर्ट, लासजाँच मुचुल्का, व्यवस्थापन मिति र स्थानको विवरण सुरक्षित राखिनेछ। यसले भविष्यमा कुनै परिवार वा आफन्तले आफ्नो सदस्य भएको दाबी गरेमा वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।
बेवारिसे तथा पहिचान नखुलेका शवसम्बन्धी विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटको ‘पहिचान नखुलेको शवहरूको विवरण’ शीर्षकअन्तर्गत हेर्न सकिने व्यवस्था गरिएको छ।












प्रतिक्रिया