एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका र इरानका अधिकारीहरूले मध्यस्थकर्ताहरूसँग छुट्टाछुट्टै वार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको साधारण सभाका क्रममा इरानले प्रस्तुत गरेको संशोधित सात दिने प्रस्तावमा आधारित रहेर थप वार्ता अघि बढ्ने अपेक्षा गरिएको छ ।
इरानको सात दिने प्रस्तावअनुसार इरान र लेबनानमा हुने सम्पूर्ण द्वन्द्व अन्त्य हुनुपर्ने, रोक्का गरिएका अर्बौँ डलर बराबरका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने, इरानी तेलमाथिको प्रतिबन्ध हटाइनुपर्ने र इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नाकाबन्दी समाप्त हुनुपर्ने सर्त राखिएको छ ।
यसको बदलामा इरानले विश्वव्यापी तेल आपूर्तिमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खोल्न अनुमति दिने उल्लेख छ । साथै, दुवै पक्षले इरानको आणविक कार्यक्रम र इरानको उच्च संवर्धित युरेनियम जफत वा नष्ट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहनाबारे पुनः वार्ता सुरु गर्नेछन् ।
न्यूयोर्कमै रहेका इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार इरानले युद्धविराम प्रस्ताव र होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पुनः सञ्चालनका सर्तहरूबारे अमेरिकाको आधिकारिक जवाफको प्रतीक्षा गरिरहेको छ । ‘यदि अमेरिकीहरू शान्तिपूर्ण समाधान खोजिरहेको दाबी गर्छन् भने हामीले त्यो समाधान प्रस्तुत गरिसकेका छौँ’, अराघ्चीले भनेका छन् । होर्मुज मार्ग खोल्ने जुनसुकै कदम इरानका सर्तहरू पूरा हुनुमा निर्भर रहेको पनि उनले स्पष्ट पारेका छन् ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अधिकारीहरूले पनि मध्यस्थकर्ताहरूसँग छुट्टाछुट्टै कुराकानी गरेको पुष्टि गरेका छन्, तर विस्तृत विवरण भने दिएका छैनन् ।
ट्रम्पले आणविक सहुलियतको बदलामा इरानलाई प्रतिबन्धमा छुट वा फुकुवा सम्पत्ति दिने प्रस्ताव गरिएको भन्ने समाचारको खण्डन गर्दै ट्रुथ सोसलमा भनेका छन्, ‘मैले उनीहरूलाई केही पनि प्रस्ताव गरेको छैन ।’
यो युद्ध गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको हो । यस युद्धमा सात महिनाको अवधिमा हजारौँ मानिसको ज्यान गइसकेको छ भने तेल आपूर्तिको प्रमुख जलमार्ग अवरुद्ध हुँदा विश्वव्यापी बजार नराम्ररी प्रभावित भएको छ । यसअघि अप्रिल र जुन महिनामा पनि दुई पटक मध्यस्थतामार्फत युद्धविराम सम्झौता भए पनि टिक्न सकेन ।
कूटनीतिक प्रयास जारी रहँदा मध्यपूर्वका अन्य क्षेत्रमा भने हिंसा कायमै छ । यमनको रणनीतिक बाब अल९मन्दाब जलडमरूमध्यनजिकै लाहाज प्रान्तमा यमन सरकारी फौज र हुथी समूहबीच भएको भीषण झडपमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निमन्त्रणामा युएईको भ्रमण गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय चुनौतीबारे छलफल गरेका छन् ।














प्रतिक्रिया