दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति « Khabarhub

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ ।

प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन् ।

दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।

अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि बन्द भएको छ ।

पछिल्लोपटक असोज ८ देखि ११ गतेको वर्षातपछि कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीले बताए ।

प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बेनीदेखि पैदलयात्रा गरेर सोमबार पोखरेबगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)ले बेनी–पोखरेबगर खण्डमा थुप्रै ठाउँमा सडक भासिएको, कटान गरेको, पहिरो थुप्रिएको, विद्युतका तार र पोलहरूमा क्षति गरेको बताए ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मको क्षेत्रमा रहेका टावरमा विपदबाट क्षति पुगेको र स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाएको जानकारी दिए । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति गराउने वैकल्पिक उपाय अपनाउने र प्रसारण लाइन पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय गरिएको उनले बताए ।

पुरानो ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा बाढीपहिरोले क्षति गरेको छ । दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत आपूर्ति गराउन प्रयास गरे पनि टावरहरूमा देखिएको समस्या पहिचान गर्न सडक यातायात र सञ्चारको समस्याले नसकिएको उनले बताए ।

बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क विच्छेद भएको छ । विद्युत् अभावमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द हुँदा जनजीवन प्रभावित भएको छ । मुस्ताङसहित म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा पनि विद्युत्, सडक र यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ४५ बजे

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल