काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ।
बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डमा खसेका पहिरो पन्छाएपछि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारबाट तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ‘ट्रयाक’ खोलेर सवारीसाधन सञ्चालन गरिएको हो।
उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः ‘डाइभर्सन’ निर्माण गरिनेछ।
रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा निर्माण गरिएका अस्थायी ‘डाइभर्सन’ बगाएको थियो। यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।
हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। ती स्थानमा दुईतर्फी यातायात सञ्चालन गर्ने गरी सडक मर्मत तथा व्यवस्थापनको काम भइरहेको कार्यालयले जनाएको छ।
सडक खुलाउन डिभिजन सडक कार्यालयले सोमबार बिहानदेखि अस्थायी ‘डाइभर्सन’ निर्माण र विभिन्न खण्डमा खसेका पहिरो पन्छाउने काम थालेको थियो।














प्रतिक्रिया