याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको सहायताकर्मीहरूले बताएका छन्।
सोमबार राखाइन राज्यको क्याक्टाउ सहरमा नदी किनारमा रहेको व्यापारिक केन्द्रमा सेनाले बम प्रहार गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणपछि प्रारम्भिक रूपमा करिब ३० जनाको मृत्यु भएको थियो। मंगलबारसम्म मृतकको सङ्ख्या ५० पुगेको र ५८ जना घाइते भएको सहायता कर्मीहरूले बताएका छन्।
सहायता कर्मी वाई हुन आङका अनुसार बम विस्फोटपछि लागेको आगलागीमा केही शव जलेर वा हराएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ।
सुरक्षाका कारण नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानीय स्वयंसेवकले पनि मृतकको सङ्ख्या पुष्टि गरेका छन्। आक्रमणबारे प्रतिक्रिया लिन म्यान्माको सेनासँग तत्काल सम्पर्क हुन नसकेको जनाइएको छ।
राखाइन क्षेत्रमा नियन्त्रण कायम गरेको जातीय विद्रोही समूह अराकान आर्मी (एए)ले भने आक्रमणमा ४९ जनाको मृत्यु भएको र ५८ जना घाइते भएको जनाएको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको समूहले जनाएको छ।
एएको विज्ञप्तिअनुसार मृत्यु हुनेमा सर्वसाधारण विक्रेता, पसले तथा सामान ओसारपसार गर्ने कामदारहरू रहेका छन्।
सन् २०२१ मा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यान्मामा गृहयुद्ध जारी छ। त्यसयता राखाइन राज्य पनि द्वन्द्वको चपेटामा परेको छ। पछिल्लो समय बजार तथा आसपासका क्षेत्र आपराधिक गतिविधिको केन्द्र बनेको स्थानीय स्रोतहरूले बताएका छन्।
राखाइनका अधिकांश भूभागमा अराकान आर्मीको नियन्त्रण रहेको जनाइएको छ। सेनाले भने केही प्रमुख सहरी केन्द्रमा आफ्नो नियन्त्रण कायम राखेको छ। रुसी र चिनियाँ निर्मित लडाकू विमान प्रयोग गर्दै म्यान्माको सेनाले विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दै आएको आरोप छ।
सेनाको हवाई शाखामाथि विद्यालय, मठ तथा धार्मिक कार्यक्रमलाई समेत लक्षित गरी आक्रमण गरेको आरोप मानवअधिकार समूहहरूले लगाउँदै आएका छन्। उनीहरूले यस्ता आक्रमण युद्ध अपराधको श्रेणीमा पर्न सक्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण राखाइनमा करिब पाँच लाख मानिस विस्थापित भएका छन्। द्वन्द्व निगरानीकर्ता एसीएलडीका अनुसार सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई सेनाले अपदस्थ गरेपछि म्यान्मामा जारी द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।














प्रतिक्रिया