काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म सेना पूर्ण रूपमा फिर्ता बोलाउने भएको छ । दुई दशकभन्दा लामो समय चलेको इराकमा युद्धमा ४,५०० भन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए । यस्तो अवस्थामा इराकबाट अमेरिकी सेनाको बहिर्गमनलाई छिमेकी इरान र उसका सहयोगी समूहहरूले विजयका रूपमा अर्थ्याएका छन् ।
सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको सम्झौता अनुसार डोनाल्ड ट्रम्प प्रशासनले इराकबाट सैनिक फिर्ता बोलाएको हो । इरानसँग युद्ध चलिरहेकै अवस्थामा इराकबाट सेना फिर्ता बोलाउने ट्रम्प प्रशासनको निर्णयप्रति धेरैले आश्चर्य प्रकट गरेका छन् । सुरक्षा विश्लेषकहरूले अमेरिकाको कदमबाट इरान र उसका सहयोगीहरूलाई इराकमा पकड जमाउने बाटो खोल्नुका साथै ‘इस्लामिक स्टेट’ जस्ता समूहहरूलाई पुनर्जीवित हुने अवसर दिनसक्ने चेतावनी दिएका छन् ।
इराकी सुरक्षा विश्लेषक जसिम अल-बहाद्लीका अनुसार वर्षौँदेखि इरानको प्रभावलाई सन्तुलनमा राख्दै आएको अमेरिकी सैन्य उपस्थिति हट्दा यसबाट इरानले रणनीतिक लाभ उठाउनेछ । इरान समर्थक शिया लडाकु समूहहरूले यसलाई आफ्नो विजयका रूपमा प्रस्तुत गर्दै सुरक्षा र राजनीतिक निर्णय प्रक्रियामा आफ्नो प्रभाव बढाउन प्रयोग गर्ने उनको धारणा छ ।
‘इस्लामिक रेजिस्टेन्स इन इराक’ का कमाण्डर अबु मुज्ताबा अल-यासिरीले अमेरिकी सेनाको फिर्तीलाई इराकामा रहेका इरान समर्थित समूहहरूको जित र अमेरिकी परियोजनाको पराजयको रूपमा टिप्पणी गरेका छन् । उनले सेप्टेम्बर ३० मा इराकी इतिहासको कालो पाना समाप्त भएको खुसीयाली मनाउने दाबी गर्दै इराकको सार्वभौमसत्ता विदेशी सेनाले नभई प्रतिरोध र जनताको इच्छाले मात्र सुरक्षित हुने बताए ।
आम इराकी नागरिकहरूमा सैन्य फिर्ताको विषय लोकप्रिय भए तापनि इरान समर्थित समूहको शक्ति वृद्धिबाट चिन्तित वर्ग भने अमेरिकी निर्णयप्रति असन्तुष्ट छ । फलुजा शहरका सुन्नी जनजाति अगुवा अब्दुलरहमान अल-जोबाईले इराक अझै पनि पूर्ण रूपमा सुरक्षाको जिम्मा लिन तयार नभएको बताउँछन् । उनका अनुसार गठबन्धन सेना यसरी हट्दा सिर्जना हुने सुरक्षा शून्यताप्रति आम इराकीहरू सशंकित छन् ।
अमेरिकी सेनाले सुन्नी तानाशाह सद्दाम हुसैनको सत्ता ढाल्न सन् २००३ मा इराकमाथि आक्रमण गरेको थियो । पछि शिया नेतृत्वको सरकार गठन गरी सन् २०११ देखि अमेरिकी सेना फिर्ता हुन सुरु गरेको थियो । त्यसपछि सन् २०१४ देखि २०१७ सम्म सुन्नी बहुल आतङ्कवादी समूह इस्लामिक स्टेटलाई परास्त गर्न अमेरिकी सेनाले इराकमा प्रभाव विस्तार गरेको थियो । इराकमा अमेरिकी सेनाको कारवाहीका क्रममा अफगानिस्तान युद्धको तुलनामा दोब्बर अमेरिकी सैनिकको ज्यान गएको थियो ।
पछिल्ला वर्षहरूमा इराकले अमेरिका र इरान दुबैसँग निकट सम्बन्ध राख्ने देशको पहिचान बनाएको थियो । दुवै पक्षले इराकी भूमिलाई आफ्नो छद्म युद्धको मैदान बनाएका थिए । सन् २०२० मा अमेरिकाले बगदाद विमानस्थलमा इरानी रिभल्युसनरी गार्ड कोरका कमाण्डर कासेम सुलेमानीको हत्या गरेपछि इरानका सहयोगीहरूले इराकमा रहेका अमेरिकी बेसहरूमा निरन्तर आक्रमण गर्दै आएका थिए । यस वर्ष इरानविरुद्धको युद्धमा ज्यान गुमाएका १८ अमेरिकी सैनिकमध्ये ७ जना इराकमा मारिएका थिए ।
इरानले अमेरिकी सेनाको बहिर्गमनलाई मध्यपूर्वभरि फैलिएको आफ्नो एक्सिस अफ रेजिस्टेन्सको जितका रूपमा प्रस्तुत गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका उपाध्यक्ष अमिर हयात मोकद्दमले अमेरिकी सेना हटेपछि इराकमा स्थायी सुरक्षा कायम हुने दाबी गर्दै यस कदमको स्वागत गरेका छन् ।
अर्कोतर्फ, अमेरिकी सेनाको फिर्तासँगै निष्क्रिय अवस्थामा रहेका ‘इस्लामिक स्टेट’का लडाकुहरू पुनः सक्रिय हुनसक्ने जोखिम बढेको छ । आफ्नो उत्कर्षका बेला इराकको एक-तिहाइ भूभाग कब्जा गरेको आईएसका स्लिपर सेलहरू अझै बाँकी छन् । अमेरिकी गुप्तचर, सैन्य र ड्रोन सहयोगको अभावमा इस्लामिक स्टेटले पुनर्गठनको मौका पाउने कुर्दिस कमाण्डर सिरवान बार्जानीको बुझाइ छ ।














प्रतिक्रिया