बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर) « Khabarhub

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा ठूलो क्षति पुर्‍यायो । बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य भएका छन्। बाढीबाट विस्थापित स्थानीयले तत्काल राहतसँगै सुरक्षित बस्ती निर्माण र नदी नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्।

माछाखोलाका स्थानीय व्यापारी लालप्रसाद गुरुङका अनुसार बाढीले उनको गोदाममा मात्रै करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । लामो समयदेखि व्यापार व्यवसाय गरेर जम्मा गरेको सम्पत्ति बाढीले एकैपटक बगाएपछि उनी आर्थिक संकटमा परेका छन्।

‘१५–२० वर्षदेखि दुःख गरेर अलिअलि जम्मा गरेको पैसा व्यापारमा लगानी गरेका थियौँ। अहिले सबै शून्यमा झारिदियो,’ गुरुङले भने, ‘हामीले जानाजान कुनै बेथिति गरेका होइनौँ। अब फेरि कसरी उठ्ने भन्ने चिन्ता छ। सरकारले सहयोग गरिदिए हुन्थ्यो।’

उनका अनुसार माछाखोलाका अर्का व्यापारी धनकुमार गुरुङको करिब पाँचदेखि छ करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, स्थानीयका अनुसार माछाखोलाका ठूला व्यापारीमध्येका एक बिश गुरुङको गोदाममा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यी क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ।

बाढीले स्थानीय बस्तीसमेत प्रभावित पारेको छ। गुरुङका अनुसार तीन–चारवटा घर बगाएका छन् भने केही परिवार विस्थापित भएका छन्। घर गुमाएका स्थानीय अहिले छिमेकी तथा आफन्तको आश्रयमा बसिरहेका छन्।

बाढी आउनुअघि माथिल्लो क्षेत्रबाट फोनमार्फत बस्ती छाडेर भाग्न खबर आएको गुरुङले बताए। बाढीको जोखिमबारे सूचना पाएपछि उनीहरू चप्पल मात्रै लगाएर घरबाट निस्किएका थिए। हतारमा ज्यान जोगाउन भाग्नुपरेकाले आफ्नो गोदाम र सामान कसरी बग्यो भन्ने कुरा समेत थाहा पाउन नसकेको उनले सुनाए।

‘फोन गरेर बस्ती बग्न लागेको छ, छिटो भाग्नू भनेपछि हामी चप्पल मात्रै लगाएर भाग्यौँ। सामान कसरी बगायो भन्ने पनि थाहा पाएनौँ,’ उनले भने।

बाढीपछि सुरुका दिन आफन्तको घरमा बसेका स्थानीय एकदुई दिनपछि आफ्नै घर फर्किएका थिए। लामो समयसम्म अरूको घरमा बस्न कठिन हुने र तत्काल अन्यत्र बस्ने व्यवस्था नहुँदा जोखिमको चिन्ताबीच घर फर्किनुपरेको गुरुङले बताए।

बाढीले माछाखोलाबाट धार्चे गाउँपालिका–२ केरौँजा जाने पुलसमेत पूर्ण रूपमा क्षति पुर्‍याएको छ। उक्त पुल पुनर्निर्माणका लागि दसैँ–तिहारलगत्तै झोलुङ्गे पुल निर्माण गर्ने विषयमा कुरा भएको गुरुङले जानकारी दिए।

बाढी प्रभावितलाई गाउँपालिकाले राहत उपलब्ध गराउन थाले पनि तत्काल घर गुमाएका परिवारलाई प्राथमिकता दिइएको र व्यापारिक गोदाममा भएको क्षतिबारे भने अन्योल रहेको गुरुङको भनाइ छ। गाउँपालिकाबाट व्यवसायीले कस्तो सहयोग पाउने भन्ने स्पष्ट आश्वासन नपाएको उनले बताए।

उनले राहत रकम मात्रै नभई भविष्यमा यस्ता विपदबाट सुरक्षित हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। माछाखोलाको तल्लो क्षेत्रका बस्ती जोखिममा रहेकाले आवश्यक परे बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने वा नदी नियन्त्रणका लागि ग्याबियन वाल निर्माण गर्नुपर्ने उनको माग छ ।

‘राहतभन्दा पनि हामीलाई साहस र सुरक्षित हुने आधार चाहिएको छ। ग्याबियन वाल लगाइदिएर बस्ती सुरक्षित हुने महसुस गराउन सके राम्रो हुन्थ्यो,’ गुरुङले भने।

बाढीबाट घर र व्यापार गुमाएका स्थानीयले अहिले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना, क्षतिको उचित मूल्याङ्कन, व्यापार पुनःसञ्चालनका लागि सहयोग तथा नदी नियन्त्रणको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूका अनुसार तत्काल सुरक्षित बस्ती र जीविकोपार्जनको आधार निर्माण गर्न नसके बाढीबाट भएको आर्थिक तथा सामाजिक क्षतिबाट उठ्न अझ कठिन हुनेछ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ९ : ३८ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा