काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा उत्पादन संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । क्षेत्रीय सुरक्षा सहकार्य विस्तार तथा प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले दुवै देशले यस्तो सहमति गरेका हुन् ।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हुन् । उनले ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन गरिने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको बताए । यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
कोइजुमीका अनुसार क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएकाले जापान र अमेरिकाबीचको गठबन्धनको प्रतिरोधात्मक तथा प्रतिक्रिया क्षमता थप सुदृढ बनाउने विषयमा सहमति भएको हो । दुवै देशले अन्तर्राष्ट्रिय कानूनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा समेत जोड दिएका छन् ।
अमेरिकी रक्षामन्त्री हेग्सेथले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न ट्रम्प प्रशासन प्रतिबद्ध रहेको बताएका छन् । उनले अमेरिकाले आफ्ना सहयोगी तथा साझेदार राष्ट्रहरूको सुरक्षा र हितको रक्षा गर्ने पनि उल्लेख गरे ।
यसैबीच, अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्न प्रयास जारी राख्ने बताएका छन् । गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले सुरक्षा चासो व्यक्त गरेको थियो ।
दक्षिण चीन सागरमा चीनसँगै फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानले पनि विभिन्न क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन् । विवादित समुद्री क्षेत्रमा चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच पटक–पटक तनाव उत्पन्न हुँदै आएको छ । अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ ।
जापान र चीनबीच पनि पूर्वी चीन सागरका केही टापुलाई लिएर विवाद छ । दुवै देशले ती टापु तथा आसपासका समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी फरक दाबी गर्दै आएका छन् । यस्तो क्षेत्रीय तनावका बीच अमेरिका र जापानले प्रतिरक्षा सहकार्यलाई थप सुदृढ बनाउने प्रयास गरेका हुन् ।














प्रतिक्रिया