काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रहेका मुद्दासँग सम्बन्धित समाचार तथा सामग्री प्रकाशन गर्दा संवेदनशीलता अपनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
परिसरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वादी नेपाल सरकार प्रतिवादी इनम सापकोटासमेत रहेको मुद्दासँग सम्बन्धित अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार अनुसन्धान भइरहेका मुद्दाका विषयवस्तु गोप्य राख्नुपर्ने अवस्थामा संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको परिसरले स्पष्ट पारेको छ ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरी मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले आधिकारिकता पुष्टि गर्नसमेत परिसरले आग्रह गरेको छ ।
प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा अनुसन्धानसम्बन्धी समाचार तथा सामग्री प्रकाशन गर्दा तथ्य र सूचनाको आधिकारिकता सुनिश्चित गर्न अनुरोध गरिएको छ ।














प्रतिक्रिया