काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा कात्तिक १३ देखि ३० गतेसम्म चन्द्रागिरि नगरपालिका(६ बालागाउँस्थित मातातीर्थ कुण्डचौरमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना हुन लागेको हो ।
संस्थाका अध्यक्ष शान्त उदासले महोत्सवमा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति, फेसन तथा नृत्य, विभिन्न वस्तु तथा सेवाका प्रदर्शनी र मनोरञ्जनात्मक गतिविधि समावेश गरिने जानकारी दिए । उनले महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, कृषि औजार, अटोमोबाइल, विद्युतीय सामग्री, मोबाइल तथा इलेक्ट्रोनिक्सका साथै स्थानीय कला, संस्कृति, व्यापार र पर्यटनसम्बन्धी प्रदर्शनी हुने बताए ।
त्यस्तै, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल तथा स्थानीय उत्पादनको प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण रहने अध्यक्ष उदासले बताए । उनका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । कात्तिक १९, २०, २१, २७, २८, २९ र ३० गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमका लागि प्रवेश शुल्क लाग्ने आयोजकले जनाएको छ ।
महोत्सव व्यवस्थापन समितिका संयोजक सन्दीप महतले महोत्सवले स्थानीय व्यापार तथा व्यवसायको प्रवर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने बताए । उनले महोत्सवले चन्द्रागिरि क्षेत्रको आर्थिक र पर्यटन गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।














प्रतिक्रिया