काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटाको प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी सभापति गगन थापालगायतका व्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पारिएको भन्ने विषय गम्भीर रहेको उल्लेख गरेका छन् । हिरासतमा रहेका सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको उनको भनाइ छ ।
नेता आङदेम्बेले अनुसन्धानका नाममा हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेर तयार पारेको कागज पढ्न बाध्य पारिएको र नमाने फसाइदिने धम्की दिइएको भन्ने विषय सत्य हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने उल्लेख गरेका छन् ।
आङदेम्बेले सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ भनी प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्न गरेका छन् । उनले राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरिनु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको समेत बताएका छन् ।
‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ’, आङदेम्बेले भनेका छन्, ‘यदि यस्ता गतिविधि भइरहेका छन् भने यो राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो ।’
उनले नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि लड्दै आएको पार्टी भएकाले यसमा आफ्नो अडान कायम रहेको स्पष्ट पारेका छन् ।
राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार नभएको उल्लेख गर्दै आङदेम्बेले सरकार क्षणिक सनकमा नभई संविधान र विधिको शासनमा चल्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
उक्त प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।














प्रतिक्रिया