काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स एसिया कप) २०२६ को उपाधिका लागि आज पाकिस्तान ‘ए’ र श्रीलङ्का ‘ए’ बीच प्रतिस्पर्धा हुँदैछ ।
कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने ५० ओभरको डे–नाइट फाइनल खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । खेलको टस दिउँसो ३:१५ बजे हुनेछ ।
जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएका दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रन लागेका हुन् ।
पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’ ले भारत ‘ए’ ले प्रस्तुत गरेको ३ सय १८ रनको विशाल लक्ष्य ८ विकेटको क्षतिमा पूरा गर्दै फाइनल यात्रा तय गरेको थियो ।
यता, साविक विजेतासमेत रहेको पाकिस्तान ‘ए’ ले दोस्रो सेमिफाइनलमा बङ्गलादेश ‘ए’ लाई ५ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको इतिहासमा पाकिस्तान ‘ए’ सर्वाधिक तीन पटकको च्याम्पियन हो र आज चौथो उपाधि जित्ने दाउमा छ । श्रीलङ्का ‘ए’ ले भने सन् २०१७ र २०१८ गरी दुई पटक उपाधि जितिसकेको छ ।














प्रतिक्रिया