काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय समुदायको विकासमा लामो समयदेखि सक्रिय मुगुका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित भएका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका रोकायालाई रारा राष्ट्रिय निकुञ्जको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, जनचेतना अभिवृद्धि तथा ग्रामीण विकासमा पुर्याएको योगदानको कदर गर्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
विभागको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा। डा। अञ्जन सिंह र विभागीय प्रमुख प्रा। डा। कुमार सापकोटाले रोकायालाई सम्मान गरेका थिए ।
रोकायाले रारा क्षेत्रको प्राकृतिक सौन्दर्य तथा जैविक विविधता संरक्षणमा देखाएको सक्रियता, लगनशीलता र दीर्घकालीन प्रतिबद्धताको विभागले प्रशंसा गरेको छ । स्थानीयस्तरमा जैविक विविधताको संरक्षण र प्रवर्द्धनमा उनले पुर्याएको योगदान अनुकरणीय रहेको कदरपत्रमा उल्लेख छ ।
शिक्षाध्यक्ष सिंहले जैविक विविधता संरक्षणमा स्थानीयस्तरबाट योगदान दिने व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए । विभागीय प्रमुख सापकोटाले संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विभागले वार्षिकोत्सवका अवसरमा सम्मान गर्दै आएको जानकारी दिए ।
रोकाया समुदायमा आधारित संरक्षण अभियानमा लामो समयदेखि सक्रिय छन् । विसं २०६८ देखि २०७३ सम्म रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिको अध्यक्ष रहेका उनले वन्यजन्तु तथा वनजङ्गल संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जन वृद्धि, जनचेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रम सञ्चालनमा भूमिका निर्वाह गरेका थिए ।
प्राकृतिक सम्पदाको संरक्षण स्थानीय समुदायको सहभागिताबिना सम्भव नहुने मान्यता राख्दै आएका रोकायाले संरक्षण अभियानसँगै स्थानीयको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि पनि पहल गर्दै आएका छन् ।
उनको पछिल्लो महत्त्वपूर्ण पहल रारा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयाप जडान गर्नु हो । विसं २०८२ मा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागसँग समन्वय गरी उनले निकुञ्ज क्षेत्रमा ४२ वटा क्यामेरा ट्रयाप जडान कार्यको अगुवाइ गरेका थिए ।
वन्यजन्तुको गतिविधि निगरानी, उपस्थिति पहिचान तथा संरक्षण रणनीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले जडान गरिएका क्यामेरा ट्रयापमा निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा देखिएको थियो । उक्त उपलब्धिले रारा क्षेत्रको जैविक विविधता अध्ययन तथा वन्यजन्तु संरक्षणका थप सम्भावना उजागर गरेको थियो ।
रोकायाको योगदान संरक्षण अभियानमा मात्र सीमित छैन । मुगुको मुर्मा गाउँ तथा रारा आसपासका बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार विकासका क्षेत्रमा समेत उनले काम गर्दै आएका छन् ।
मुर्मा सामुदायिक विकास केन्द्रमार्फत गरिबी निवारण कोषसँगको साझेदारीमा रारा तथा खत्याड क्षेत्रका बस्तीमा आयआर्जन र भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरेका थिए ।
स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि हेल्प नेपालसँग समन्वय गरी मुर्मा माझघट्टमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न उनले पहल गरेका थिए । उक्त केन्द्रबाट स्थानीय बासिन्दाका साथै रारा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।
रारा ताल आसपासमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्त्वको महादेव मन्दिरको संरक्षण र प्रवर्द्धनमा पनि रोकाया सक्रिय छन् । धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत रारा क्षेत्रको पहिचान उजागर गर्ने उद्देश्यले उनको पहलमा विसं २०७६ मा रारा धार्मिक सप्ताह कार्यक्रम आयोजना गरिएको थियो ।
मुर्मा गाउँको विकास तथा स्थानीय नागरिकका समस्या समाधानका लागि निरन्तर पहल गर्दै आएका रोकायाको संरक्षण, सामाजिक विकास र समुदायको हितमा पुर्याएको योगदानको कदर गर्दै त्रिविले सम्मान गरेको हो ।













प्रतिक्रिया