हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा « Khabarhub

हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरेका उनी ३० वर्षे हद म्यादले केही महिनाअघि सेवा निवृत्त भए ।

स्वतः अवकास हुनअघि तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्चार्ज थिए । एआईजी बनेर प्रहरी सेवाबाट बिश्राम लिए ।

उनी भन्छन्, ‘एक पटकको प्रहरी सधैँ प्रहरी हुने रहेछ । म प्रहरी संगठनबाट भौतिक दूरीमा मात्रै हो ।’

तामाङ प्रहरीमा रहँदा देशमा विभिन्न घटना भए । ती मध्ये प्रमुख हुन्– माओवादी युद्ध, संविधानसभा चुनाव, नाकाबन्दी र ०७२ को विनाशकारी महाभूकम्प ।

देशमा यस्ता उथलपुथ भए । प्रहरी अधिकारीका रुपमा यी मुख्य घटना उनी दैनिक १८ घण्टासम्म व्यस्त रहे ।

भन्छन्, ‘पहिला नेपाल बन्द खुबै हुन्थ्यो । त्यो समयमा दैनिक २० घण्टा निरन्तर ड्युटी गरेको क्षण पनि छ ।’

प्रहरी अफिसर त्यसै पनि व्यस्त हुन्छ । शान्ति–सुरक्षाको जिम्मेवारी पाएपछि प्रहरी संयन्त्र चुस्त राख्नै पर्‍यो । नेतृत्व व्यस्त नहुने कुरै भएन ।

तर, यस्तो व्यस्त जागिरको बाबजुद पनि तामाङको साहित्यिक मोह गज्जब देखिन्छ । प्रहरी सेवामा रहँदा उनले तीन किताब, भजन, चार एल्बम र एक हजार बढी गीत लेखे ।

उनी भन्छन्, ‘मेरो एक सय जति गीत रेकर्ड भएको छ । ३०० जति गीत पुस्तकमार्फत् सार्वजनिक भए र बाँकी प्रकाशनका लागि तयार छन् ।’

उनका प्रकाशित किताबहरु ‘माटोको आवाज’, ‘नेपाल आमा’ र ‘भजन संग्रह’ हुन । गीत एल्बमहरु ‘स्वदेश’, ‘आमा’, ‘जीवनसाथी’ र ‘नाता’ हुन् ।

दीप श्रेष्ठदेखि रवि ओडसम्म सहकार्य

तामाङले लेखका गीतहरु वरिष्ठदेखि अहिले प्राइममा रहेका गायक-गायिकाले पनि गाएका छन् ।

उनको गीत गाउने सबैभन्दा पाका कलाकार गायक तथा संगीतकार दीप श्रेष्ठ हुन् ।

राजेशपायल राई, रामकृष्ण ढकाल, अञ्जु पन्त, सत्यराज आचार्य र स्वरुपराज आचार्यसँग उनीहरु प्राइममा रहँदा तामाङले सहकार्य गरे ।

पछिल्लो पुस्ताका गायक रवि ओड र अनु चौधरीसम्म पनि उनी सहकार्य गर्न भ्याएका छन् ।

उनको हकमा पनि ‘गीतकार सधैँ छायाँमा पर्छ’ भन्ने भाष्य लागु हुन्छ । अर्थात् गीतहरु चल्दा पनि उनी चर्चामा छैनन् ।

तामाङ भन्छन्, ‘संगीतकारको चर्चा नहुने कुरा सत्य हो । यो प्रायःमा लागु छ । अझ अहिले त गायकको पनि चर्चा हुँदैन । भिडियोमा फिचर्ड मोडल चर्चामा रहन्छन् । तर, गीतमा लगानी भने गीतकारको हुन्छ ।’

दर्शकले सर्वाधिक रुचाएको उनको गीत ‘जित्नेहरुको पनि हजार हार हुन्छन’ हो । उनी भन्छन्, ‘अहिले गीतको चर्चा टिकटकमा हुन्छ । मेरो सबैभन्दा बढी टिकटक बनाइएको गीत यही हो ।’

यसको गायक सत्यराज हुन् । भिडियोमा सरोज खनाल फिचर्ड छन् ।

उनलाई आफूले लेखेको गीतहरुमा कालजयी बन्ने आश भएको पनि यही हो । आफूले लेखेको उनको व्यक्तिगत प्रिय गीत भने ‘नजिक यति भएर पनि टाढा भयौं तिमी’ हो । यसको गायिका मेलिना राई हुन् ।

मोह साहित्य, पढाइ इन्जिनियरिङ, जागिर प्रहरी

भोजपुरमा जन्मे हुर्केका तामाङ आफ्नो साहित्यप्रतिको झुकावको कारक रेडियो नेपाल र एसएलसीको ६ महिने बिदा मान्छन् ।
बाल्यकालमा रेडियो नेपालमा बज्ने गीतहरुले आकर्षित गरेकाले यसतर्फ रुचि बढेको उनी सम्झन्छन् ।

सेयर गर्छन्, ‘गीत सुन्ने एक मात्रै माध्यम रेडियो नेपाल थियो । धेरै गीतका भाव बुझिदैन थियो । भाव बुझ्ने गीत बज्दा निकै चासोले सुन्थेँ । भाव नबुझन्ने गीतहरुले मनोरञ्जन चाहिँ दिन्थ्यो ।’

एसएलसीको लामो बिदामा साहित्यका किताबहरु पढ्दा उनी झन् लेखनमा मोहित भए ।

भन्छन्, ‘मलाई ती किताबहरु पढ्दा साहित्यिक सिर्जनाले मान्छेलाई अमर बनाउने रहेछ भन्ने भयो । मलाई पनि लक्ष्मीप्रसाद देवकोटा जस्तै लेख्ने मान्छे बन्ने लोभ पैदा भयो । यही मोहलाई मैले निरन्तरता दिएको हो ।’

लेखनलाई पूर्णकालीन पेसा बनाउन उनले सोचेनन् । एसएलसी सकेर पढ्न काठमाडौं आए । डिप्लोमा इन्जिनियरिङ गरे ।
खानेपानीमा जागिर खाँदै गर्दा प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि उनले सोच बदले ।

इञ्जिनियरिङ पृष्ठभूमिको व्यक्ति प्रहरीमा आउनुको कारणबारे उनी भन्छन्, ‘यूएन मिसनहरु जान पाइने भएकाले मेरो रुचि प्रहरीमा भयो ।’

कलम र हतियारको समायोजन

कलम र हतियार हाम्रो समाजमा विपरीत ध्रुवका रुपमा स्थापित छ । उदाहरण स्कुलको नेपाली किताबमै छ । जहाँ वादविवाद गराइन्छ, ‘कलम ठूलो कि हतायार ?’

दुवैको विशेषता फरक छन् । जबकि यी दुवैको महत्त्व उत्तिकै छ । यो वादविवादमा कलमको पक्ष लिने बौद्धिकता र हतियारको पक्ष लिनेले भौतिक बलबारे तर्क गर्छन् ।

तामाङ नोकरीकालमा यी दुवै पक्षलाई समायोजन गरेर बढे ।

प्रहरीको जागिरमा भौतिक बलमा अभ्यास बढी हुन्छ । कलमबाट यो पेसा अछुतो भने छैन ।

तामाङ आफैं भन्छन्, ‘बाहिरबाट हेर्दा प्रहरी डन्डा चलाउने, भीड नियन्त्रण गर्ने, गुण्डागर्दी गर्नेविरुद्ध भिड्ने र कठोर नै देखिन्छ । यो भौतिक पक्षसँग जोडिन्छ । जसलाई बिम्बात्मकरुपमा हतियार भन्दा फरक नपर्ला ।’

तर, प्रहरी संगठनमा कलमको स्थान हतियारको भन्दा कम नभएकामा उनी स्पष्ट छन् । ‘कानुन कार्यान्वन पक्षको कलम नभइ सम्भव छैन’ उनी भन्छन् ।

तर, उनले कलमको मजबुज पाटो साहित्यलाई गति दिए । ज्यानकै जोखिम हुँदाका जागिरेकालमा पनि उनले साहित्यबाट दूरी राखेनन् ।

यसको उदाहरण दर्शकमाझ नै छ । त्यो गीत हो, ‘जन्मे खेली हुर्कें आमा’ ।

यो गीत लेख्दाको पृष्ठभूमि उनी सेयर गर्छन्, ‘देश माओवादी युद्धमा थियो । कति प्रहरी साथीहरुले सहादत प्राप्त गरे । कति बेला ज्यान जाने हो भन्ने जोखिममै बोकेर हिँड्नुपर्थ्यो । औंशीको रातमा अझ डर हुन्थ्यो । जुनेली रातमा अलि परसम्म देखिने भएकाले केही राहत महसुस हुन्थ्यो । त्यो समयमा मैले उक्त गीत लेखेको हुँ ।’

यसरी तामाङले हतियार र कलमलाई समायोजन गरे । यस्ता विषम परिस्थितिमा पनि कलम चलाएर धेरै भावनलाई सिर्जनाको रुप दिएका छन् ।

तर, आफ्ना धेरै सिर्जना फुर्सदको सदुपयोग नै रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘इच्छा हुनुपर्छ समय हुन्छ । सधै देशको अवस्था असमान्य हुँदैन । सामान्य हुँदा नियमित कार्यालयको बाहेकको समय लेख्न सकिन्छ । मैले त्यही जागिर बाहेकको समय सदुपयोग गरेँ । अफिसको काम छोडेर कुनै पनि सिर्जना छैन ।’

प्रहरी जनतासँग प्रत्यक्ष जोडिने पेसा भएकाले साहित्यमा थप सहयोग हुने उनको अनुभव छ ।

उनी स्पष्ट पार्छन्, ‘साहित्य भनेको समाजको ऐना हो । जनताको हरेक दुखमा प्रहरी जोडिन्छ । प्राकृतिक प्रकोप होस्, राजनीतिक उतारचढाव वा शान्तिको पक्षमा नै किन नहोस् । यी घटनामा साहित्यको चेत राख्ने कमलले रोजगार पाउँछ ।’

डन्डा बिसाएपछि कलमले थप रोजगार पायो ?

सेवा निवृत्त भएपछि तामाङ जागिरे जिम्मेवारीबाट मुक्त छन् । तीन दशकको सबैभन्दा प्राथमिकतामा राखेको ड्युटी समयलाई अहिले फुर्सदमा गणना गर्न मिल्छ ।

उनी साहित्यिक रुपमा पनि स्वतन्त्र छन् । प्रहरी संगठनको आचरणबाट उनी मुक्त छन् । अब उनले चाहेको खण्डमा जुनै भावना सिर्जनामा बदल्न सक्छन् ।

तर, उनी भन्छन्, ‘एक समयको प्रहरी सधैँ प्रहरी हो । मैले मेरो स्वतन्त्रतालाई सिर्जनाका नाममा अराजक प्रेरित हुन दिनु हुँदैन भन्ने चेत छ ।’

लेख्नका लागि पर्याप्त समय भने निस्किएको बताउँछन् । तर, समय अभावले रिटायर्ड भएपछि लेख्छु भनेर राखेको भावना आफूसँग नभएको उनी बताउँछन् ।

भन्छन्, ‘अझै साहित्यमा केही बुँदा थप्ने प्रयास छ । लेखिरहेको हुन्छु । अरुको सिर्जना पढेको पनि हुन्छु । समयको स्वतन्त्रता भने पक्कै छ । केही सिर्जनाहरु चाँडै प्रकाशन हुन्छन् ।’

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १ : २३ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ९ गते शनिबार फागुन