सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य « Khabarhub

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य



काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले उपभोक्ता र लगानीकर्तामा चासो बढाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रूपैयाँमा बिक्री भएको सुन बिहीबार एक्कासी २० हजारले बढेर तीन लाख ३९ हजार ३०० रूपैयाँ पुगेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्य, नेपालमा भन्सार र अन्य लागतको आधारमा दैनिक सुनको मूल्य तोक्ने गर्छ ।

माघ महिनाको शुरुवातदेखि मात्र १५ दिनमा सुनको मूल्य प्रतितोला ६१ हजार रूपैयाँले वृद्धि भएको छ। यस्तो तीव्र मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको कमजोरी र विश्वव्यापी आर्थिक अस्थिरतासँग जोडिएको बताइन्छ । यस्तै अवस्थामा सुन सुरक्षित लगानीको विकल्पको रूपमा अझै लोकप्रिय हुँदै गएको छ । यसै विषयमा हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

सुन दिनकै २० हजारले बढ्नु को मुख्य कारण के हो ?

सुनको मूल्य अचानक बढ्नुमा प्रायः स्थानीय कारणभन्दा अन्तर्राष्ट्रिय बजारकै प्रभाव बढी हुने विज्ञहरूको भनाइ छ । भन्सार दरमा वृद्धि भएजस्ता विशेष अवस्थामा बाहेक आन्तरिक कारणले सुनको मूल्य उकालो लाग्ने सम्भावना कम हुन्छ । अहिले देखिएको तीव्र मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकै परिणाम हो ।

साथै अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राको तुलनामा अमेरिकी डलर कमजोर हुँदै जानु पनि सुनको मूल्य बढ्नुको मुख्य कारणका रूपमा हेरिएको छ । डलर कमजोर हुँदा लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पका रूपमा सुनतर्फ आकर्षित हुने भएकाले यसको माग र मूल्य दुवै बढ्ने गर्छ ।

डलर कमजोर हुँदा सुनको मूल्य किन बढ्छ ?

डलर कमजोर हुँदै जानु र त्यसको असरस्वरूप सुनको मूल्य उकालो लाग्नु पछाडि विश्व राजनीति र अर्थतन्त्रका गहिरा कारणहरू छन् । इरानमाथि अमेरिकी आक्रमणको सम्भावनाले खाडी क्षेत्रमै युद्ध फैलिन सक्ने त्रास बढाएको छ, जसले विश्व बजारलाई अस्थिर बनाएको छ । यही अस्थिरताबीच चीन र रूस पनि युद्धमा तानिए ।

विश्वयुद्धको जोखिम बढ्ने डरले लगानीकर्ताहरू सुरक्षित विकल्प खोज्दै सुनतर्फ आकर्षित भएका छन् । यसैबीच क्यानडा र बेलायतले चीनसँग र युरोपियन युनियनले भारतसँग नयाँ व्यापारिक सम्झौता गर्नुले विश्व आर्थिक शक्ति सन्तुलन परिवर्तनको संकेत दिएको छ, जसले अमेरिकी डलरको प्रभाव घटाउँदै लगेको छ ।

क्यानडामाथि ट्यारिफ लगाउनेजस्ता अमेरिकी नीतिगत कदमले पनि डलरमाथिको विश्वास कमजोर बनाएको छ । यही कारण विश्वका केन्द्रीय बैंकहरूले डलर बेचेर सुन सञ्चित गर्न थालेका छन् । भारत र चीनले ठूलो मात्रामा सुन खरिद गर्नु यसको उदाहरण हो । साथै चीनले युआन बलियो बनाउने र ‘ब्रिक्स’ जस्ता वैकल्पिक मुद्रा प्रणाली अघि सार्ने रणनीतिले डलरको विकल्प खोज्ने प्रवृत्ति बढाएको छ । यी सबै कारणले गर्दा डलर दबाबमा पर्दै गएको छ भने सुन सुरक्षित लगानीका रूपमा झन् आकर्षक बन्दै मूल्य बढिरहेको छ।

सुनको मूल्य आकाशिदै गर्दा बजारमा गहनाको माग कतिको छ ?

नेपालमा गहना बनाउने सुनको माग घट्दै गएको छ भने फिजिकल गोल्ड र चाँदी किन्ने प्रवृत्ति बढेको छ । विवाहमा नयाँ गहना बनाउनेको सट्टा पुरानो गहना साट्ने, मर्मत गर्ने र पुनः प्रयोग गर्ने चलन बढेको कारण बजारमा ठूलो मात्रामा रिसाइकल सुन–चाँदीको कारोबार भइरहेको छ । नयाँ गहना बनाउने माग करिब ८० प्रतिशतले घटेको छ ।

त्यसैगरी, नेपालमा नागरिकले काँचो सुन किन्न नपाउने व्यवस्था रहेकोले समस्या थपिएको छ । २०६७ सालदेखि राष्ट्र बैंकले काँचो सुन किन्न प्रतिबन्ध लगाएको छ । तर चाँदी भने किन्न पाइन्छ । यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको छ । विश्वभर सुन–चाँदीको माग उच्च रहँदा पनि नेपालमा नीतिगत प्रतिबन्धले बजारलाई अनौपचारिकतर्फ धकेलिरहेको छ, जसले उपभोक्ताका लागि कठिनाइ बढाइरहेको छ ।

सुनको मूल्य अझै कति सम्म बढ्ने अनुमान छ ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दो छ । यसमा केबल सुन मात्र होइन, अन्य बहुमूल्य धातुहरू जस्तै प्ल्याटिनम र रेडियमको भाउ पनि उच्च हुँदै गएको छ । यस वृद्धिका पछाडि विश्व अर्थव्यवस्थामा भइरहेको उतारचढाव मुख्य कारण हो । कर नीतिहरू, व्यापार युद्ध र राजनीतिक हस्तक्षेपले अमेरिकी डलर कमजोर बनाउँदा, लगानीकर्ताहरूले सुरक्षित विकल्प खोज्न सुरु गरेका छन् ।

सुनलाई विश्वभर “सुरक्षित सम्पत्ति” मानिने भएकाले, धेरै देशले आफ्नो सम्पत्ति सुनमा केन्द्रित गरी लगानी बढाएका छन्। डलर कमजोर हुँदा सुनको माग बढ्छ, र माग बढ्दा मूल्य स्वाभाविक रूपमा बढ्छ । यसैकारण, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च रहँदै आएको छ । आगामी दिनमा अझै बढ्ने सम्भावना देखिएको छ। लगानीकर्ताहरूका लागि सुन, मात्र आर्थिक सुरक्षा होइन, बजारमा अनिश्चितता सामना गर्ने विश्वासिलो माध्यम पनि बनेको छ।

सुनजस्तै चाँदीको अभाव हुने, मूल्य बढ्ने सम्भावना कति छ ?

अमेरिकन डलर कमजोर नहुँदा सुन–चाँदीको मूल्य अझै बढ्ने प्रवृत्ति रोकिँदैन । हाल चाँदी ११७ डलरमा किनबेच भइरहेको छ । र भविष्यमा यसको मूल्य तीन गुणासम्म बढ्न सक्ने सम्भावना छ । विश्वका ठूलो कम्पनीहरू—जस्तै ईभी निर्माता कम्पनीहरु, सामसुङ लगायतका कोरियाली कम्पनी, सेमिकन्डक्टर र एआई उपकरण उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनका लागि रियल सिल्भर चाहँदा सुन–चाँदीको माग बढिरहेको छ ।

त्यसैगरी, पृथ्वीबाट उत्खनन हुने पाँच–छ वर्षको चाँदी पहिले नै बुक भइसकेको छ । अब आउने पाँच वर्षसम्म थप उत्पादन हुने अवस्था छैन, जसले भविष्यमा चाँदीको सङ्कट हुनसक्ने संकेत दिन्छ । यसले सुन–चाँदीको मूल्य अझै बढ्ने सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : ०५ बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा