काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको छ। सर्लाहीका काङ्ग्रेस सभापति डा. सरोज कुमार पटक पटक सर्लाही र क्षेत्र नम्बर ४ ले केन्द्रीय नेता उत्पादन गरे पनि यहाँको अवस्था सुधार हुन नसकेकाले यसपटक काङ्ग्रेस सभापतिलाई नै उम्मेदवार बनाएको बताउँछन्।
सर्लाहीकै क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका सरोज कुमार शिक्षा स्वास्थ्य खानेपानी र सडक सुविधाको पहुँच सर्लाही ४ मा अहिले पनि हुन नसकेकाले स्थानीयको जीवनस्तर माथि उठ्न नसकेको बताउँछन् । सरोज २०७९ को निर्वाचनमा कांग्रेसबाट सर्लाही ४ को उम्मेदवार रहेका नागेन्द्र कुमारका छोरा हुन् । नागेन्द्र २०७९ को निर्वाचनमा अमरेश सिंहसँग झिनो मतले पराजित भएका थिए। नागेन्द्रले पनि एकपटक यहाँबाट निर्वाचन जितेका छन् । उनी एकपटक समानुपातिकमा परेका थिए ।
पेशाले गाइनोलोजिस्ट रहेका डाक्टर सरोज कुमार सर्लाही ४ बाट गगन थापालाई निर्वाचन जित्न कठिन नरहेको बताउँछन्। उनी सर्लाही ४ मा गगनको प्रतिस्पर्धी कोही नरहेको दाबी गर्छन् ।
सर्लाही ४ बाट महन्थ ठाकुरले २०४८, २०५२ र र २०५६ निर्वाचनमा जितेका थिए। कांग्रेसको गढ रहेको यस क्षेत्रमा २०७९ को निर्वाचन २०७४ र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र भएका डा. अमरे सिंह विजयी भए । चुरे भावर क्षेत्र सुक्दै गएकाले हिउँदमा पानी र बर्खामा डुबानको समस्या यहाँ बढ्दै गएको छ।
मधेश प्रदेशमा आठ जिल्ला र ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्। त्यसमध्ये काङ्ग्रेसले २० वटा निर्वाचन क्षेत्रमा जित्ने रणनीति बनाएको सरोज दाबी गर्छन्। यही रणनीति अपनाएर मधेसका विभिन्न जिल्लामा अहिले कांग्रेस सभापति दौडिरहेको उनको तर्क छ। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले मधेशलाई वास्ता नगरेका कारण नेताहरू चिढिएको बताउँदै अबको निर्वाचनमा कांग्रेसले २० सिट जितेर मधेशबाट गतिलो सन्देश दिने तर्क गर्छन्।
हामीले कांग्रेस जिल्ला कार्यसमिति कार्यवाहक सभापति समेत रहेका डाक्टर सरोजसँग सर्लाही ४ को चुनाव, समग्र मधेशको अवस्थासहितका विषयमा कुराकानी गरेका छौँ ।
काङ्ग्रेस सभापति गगन थापालाई सर्लाही ४ बाट उठाउनुको कारण के हो ?
सर्लाही कृषिमा प्रख्यात जिल्ला हो। कृषि क्षेत्रका लागि मुख्य मेरुदण्ड नेपालको मधेश प्रदेश अहिले कृषिजन्य उत्पादन गर्ने ठाउँमा छैन । मधेशको कृषि उब्जाउ जमिन मरुभूमिमा परिणत हुन लागेको छ। यसको कारण सिँचाइ अभाव छ।
पहिलो, हाम्रो ठाउँका चापाकल सपनामा पनि सुक्छन् भनेर सोचेका थिएनौँ । त्यहाँको पानी सुक्छ र हामीले डीप बोरिङमार्फत् पानी खानुपर्छ भन्ने अवस्था आउला भन्ने लागेको थिएन । तर आज चापाकल सुक्ने अवस्था भयो । मधेशमा डीप बोरिङको सहारा लिनुपरेको छ । भोलिका दिनमा डीप बोरिङ नसुक्ला भन्न सकिँदैन। जबसम्म कृषकलाई नहरको व्यवस्था हुँदैन, तबसम्म यहाँको उब्जाउजन्य भूमिको सपना त्यागेर मरुभूमिमा बस्नुपर्ने अवस्था आउन सक्छ । यस कुराको सम्बोधन गर्न उहाँले यो क्षेत्रलाई रोज्नु भएको हो ।
दोस्रो, शिक्षाको अवस्था पनि सर्लाहीमा उस्तै गम्भीर छ। सर्लाहीका १० वटा स्कुलहरू हिजोको दिनमा चर्चित थिए। एउटै कक्षामा ए, बी, सी, डी सेक्सन हुने गर्थ्यो । तर अहिले हामीले यतिका स्कुललाई सर्टिफिकेट बाँड्ने सेन्टरको रुपमा मात्रै लिन सक्ने अवस्था छ। शिक्षाको स्तरोन्नति र गुणस्तर विकासका निम्ति यहाँ व्यावहारिक शिक्षाको खाँचो र नीतिमै रोजगारीको आवश्यकता देखिन्छ। व्यावहारिक शिक्षाका लागि दीर्घकालीन प्रयास हुन सकेको छैन । यसले गर्दा रोजगारी उपलब्ध हुन पाएको छैन ।
तेस्रो, स्वास्थ्यको अवस्था पनि उस्तै गम्भीर देखिएको छ। यहाँ अनुभव भएका डाक्टरहरूलाई राम्रो वातावरण छैन । त्यसकारण सम्बन्धित विशेषज्ञ डाक्टर विदेश पलायन हुनुपरेको छ । यी समस्या समाधान गर्नका लागि पनि यहाँबाट उम्मेदवारी दिएको हो ।
चौथो, रोजगारीका अवसरहरू सिर्जना हुन सकेका छैनन् । नेपालमा प्रशस्तै सम्भावना हुँदाहुँदै पनि प्रदेशगत रुपमा सानोसानो उद्योगहरु सञ्चालन हुन सकेका छैनन् । साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न नसक्दा पनि महिला सशक्तीकरण र रोजगारीका अवसर सिर्जना भएका छैनन् । हाम्रा युवाहरू विदेश पलायन हुनुको मुख्य कारण सुहाउँदो रोजगारी नहुनु हो। यहीँ बस्ने वातावरण तत्काल बनाउन नसके पनि बिस्तारै वातावरण बनाउनका लागि हाम्रो तर्फबाट पहल गर्छौ ।
जो प्रधानमन्त्री हुन्छ, त्यसले आफ्नो क्षेत्रमा मात्रै बजेट हाल्ने व्यवस्थाका कारण मधेस पछाडि परेको विविधै छ । तर गगन दाइ प्रधानमन्त्री हुनुहुन्छ र यहााको विकास गर्नुहुन्छ भनेर ल्याएको होइन । उहाँको भिजन-मिसन पहिलेबाट नै मधेशलाई समृद्ध बनाउने र वर्षौंदेखि मधेशका नाममा यहाँका नेताहरूले गरेको लुट उजागर गर्दै समृद्ध मधेश बनाउन उहाँलाई यहाँ बोलाएको हो ।

गगन र अमरेशलाई नै किन एकै निर्वाचन क्षेत्रमा भिडाउनुभएको यहाँहरूले ?
हामीले भिडाउन खोजेको होइन, संयोग त्यस्तो मिलेको हो। सर्लाही ४ नम्बर क्षेत्र जहिले पनि कांग्रेसको गढ भन्ने हाम्रो बुझाइ थियो। कांग्रेसकै भोट ल्याएर महन्थ ठाकुरले तीनपटक जित्नुभयो। यस्तै कांग्रेसकै भोट ल्याएर र अमरेश सिंहले पनि तीनै पटक यहाँबाट जित्नुभएको छ। सर्लाही ४ कांग्रेसको लागि उब्जाउ भूमि हो। त्यो रणनीतिअनुरूप ४ नम्बरबासीले गगन दाइलाई चाहनुभएको हो।
काङ्ग्रेस सभापति यस क्षेत्रबाट हार्नुभयो भने त तपाईंहरूलाई गाह्रो होला नि ?
गगन दाइलाई हामीले सर्लाही ल्याएर मधेश प्रदेश नै काङ्ग्रेसमय बनाउन खोजेको हो। हामीले स्थानीय तहको निर्वाचनमा पनि देशभर गठबन्धन हुँदा सर्लाहीका २० पालिकामा गठबन्धन गरेनौँ। गठबन्धन नगरेकै कारण २० पालिकामध्ये कांग्रेसले १२ वटामा जित हासिल भएको छ। त्यसबेला पनि स्थानीय तहको चुनावी कमाण्डर मै थिएँ।
गगन दाइको सल्लाहमै हामीले गठबन्धनको निर्णयविरुद्ध सर्लाहीलाई उभ्याएको हो। यहाँहरुलाई थाहै छ, दुई नम्बर क्षेत्रबाट म आफैँ उम्मेदवार छु। २०७९ को निर्वाचनमै गगन दाइले सर्लाहीबाट उठ्ने योजना बनाउनुभएको थियो। तर त्यसबेला हाम्रो हातमा टिकट नभएका कारण उहाँ उठ्न पाउनु भएन। त्यसबेला मेरो बुवा सर्लाही ४ बाट उठ्नुभएको हो । तर कांग्रेसकै नेताहरूको अन्तर्घातका कारण झिनो मतान्तरले हार्नुभयो। यसपाली सर्लाही ४ मा गगन दाइलाई ल्याएर चुनाव जिताउने र मधेशको पिछडिएको क्षेत्र सर्लाहीलाई देशभर चिनाउने रणनीति बनाएका हो ।
तर यहाँहरूलाई जित्न त कठिन होला नि, वर्षौंदेखि जित्दै आएका अमरेश सिंह त्यहीँबाट उम्मेदवार हुनुहुन्छ ?
भाइरल हुन उहाँले पेनसर्ट खोलेर सदनमा प्रस्तुत भएको त यहाँहरूले देख्नुभएकै छ । उहाँमा कहाँ नैतिकता छ ? संस्कार र अनुसन्धान त सम्बन्धित क्षेत्रमा देखाउनुपर्यो। २०७९ को निर्वाचनमा अन्तर्घात उहाँबाट बढी भएका कारण कांग्रेस सर्लाहीमा कमजोर भएको हो । उहाँलाई मैले कारबाही गरेर पार्टीबाट निकालेको हो । जुन देशमा पार्टीमा र परिवारमा अनुशासन हुँदैन त्यो आफैँ पतनको बाटोमा जान्छ ।
उसो भए सर्लाही ४ मा गगन थापाको प्रतिस्पर्धी को हो ?
गगन दाइको प्रतिस्पर्धी सर्लाहीमा अहिले कोही छैन, उहाँलाई चुनाव जित्न समस्या छैन। उहाँले १० हजारभन्दा धेरै मतान्तरले जित्नुहुन्छ।
तर तपाईंहरू सर्लाही ४ मा मात्रै अल्मलिनु भयो, अरू तीनवटा क्षेत्रमा कांग्रेस कमजोर होला नि फेरि ?
सर्लाहीले उहिलेबाटै राष्ट्रियस्तरको नेता धेरै नै पायो तर उहाँहरुले जिल्लाका लागि केही गर्न सक्नुभएन। सर्लाहीबाटै महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादवले जित्नुभयो । तर उहाँहरूले सर्लाहीका लागि के गर्नुभयो भनेर प्रश्न जहिले रहेको छ। सर्लाही झन् उहाँहरूका कारण पछि पर्दै गएको छ।
कहिले पहाडी– मधेशीको नाममा कहिले जातीयताका नाममा उहाँहरूले सर्लाहीलाई उपेक्षा गरिरहनुभयो । अहिले गगन दाइ केन्द्रीय नेतृत्वमा आउनु र सर्लाहीबाटै निर्वाचन लड्नुलाई यहाँका स्थानीयवासीले हर्षोल्लाषका गरेका छन् । गगन दाइलाई जिताउन सर्लाहीबाट १०० जना महाधिवेशन र ७० प्रदेश प्रतिनिधि त काठमाडौं नै पुग्नुभयो। मधेशमा हाम्रो जिल्ला सबैभन्दा पछि पर्न गएका कारण यहाँका स्थानीयले गगन दाइप्रति ठूलो भरोसा राख्नुभएको छ । उहाँलाई सर्लाहीको वस्तुस्थिति र धरातलबारे स्पष्ट थाहा छ, किनभने उहाँले २०७९ को निर्वाचनमै यहाँबाट लड्न खोज्नुभएको थियो।
तपाईंहरू अरु तीनवटा क्षेत्रमा चाहिँ के गर्नुहुन्छ ?
हामी दुई र चारमा कुनै पनि रोकतोकबिना निर्वाचन जित्छौं। हामीलाई १ र ३ मा अलिक समस्या देखिन्छ, तर केही कसरत गरेमा जितिन्छ । हामी चारवटै क्षेत्र जित्नुपर्ने दबाबमा छौँ, जित्छौं पनि। कांग्रेसमा अहिले गुट-उपगुट सकिएकाको चारवटै निर्वाचन क्षेत्रलाई जित्ने रणनीतिसाथ अगाडि बढाएका छौँ। कांग्रेसमै बस्ने र आगामी पार्टी यात्रा यहीँबाट अगाडि बढाउने मान्छेले योपटक अन्तर्घात गर्नुहुन्न । कहीँ पनि हार हुने अवस्था देखिएको छैन।
यहाँ पनि क्षेत्र नम्बर २ को उम्मेदवार हुनुहुन्छ। तपाईंको स्थिति के छ ?
यस क्षेत्रमा सातवटा स्थानीय तह काङ्ग्रेसले जितेको छ। क्षेत्र नम्बर २ को क र ख मा नै कांग्रेसले जित हासिल गरेको छ। पेशागत रूपमा म डाक्टर भएकाले जनतामाझ जोडिने मौका पाएको छु। अहिले यहाँसँग कुरा गर्दै गर्दा पनि म जनतासँगै छु । उहाँहरूको उपचार गरिरहेको छु। म डाक्टर हुँ र मैले बाहिर गएर मनग्गे पैसा कमाउन सक्थें तर मैले मेरो कर्मथलोलाई छाड्नु हुँदैन भनेर बसेँ। यहाँको जीवनस्तर उकास्न काम गर्नुपर्छ भनेर लागेको छु ।

गगन थापाका लागि सर्लाही ४ मा के-के कुरा चुनौती बन्न सक्छ ?
चुनौती भनेर ठ्याक्कै त्यस्तो छैन तर स्थानीयबासी नभएकाले व्यक्तिगत रूपमा उहाँलाई गाह्रो हुन सक्ला । सर्लाहीबासी र ४ नम्बर क्षेत्रका जनताले उहाँलाई जिताएर पठाउन अवसर मान्नुभएको छ।
अहिले सभापति मधेश झर्नुभएको छ, उहाँ मधेशभर घुम्नुहुन्छ ?
हो मधेशका जनताको कुरा सुन्ने र आउँदो दिनमा के के काम गर्न सकिन्छ भनेर योजना बनाउने तयारीमा उहाँ हुनुहुन्छ। आफ्नो निर्वाचन क्षेत्रमा मात्रै होइन, समग्र जिल्लामै डुलिरहनुभएको छ। यहाँहरुलाई पनि त्यो थाहै छ।
उसो भए मधेशमा कांग्रेसले जित हात पार्ला ?
हाम्रो टार्गेट २० वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्ने हो। कङ्ग्रेस मधेशमा पहिलो पार्टी बनाउने योजनामा हामी लागिरहेका छौं । सभापति नै मधेश झरेपछि त कांग्रेसमय भएको छ। पहिलेको सभापतिप्रति जुन तरिकाको वितृष्णा थियो हो, त्यस्तो यहाँ छैन।
तर राष्ट्रिय स्वतन्त्र पार्टी मधेशमा पहिलो शक्ति बन्छु भनेर लागिरहेको थाहा छ नि ?
मधेशमा त्यस्तो कुराले काम गर्दैन। तराईवासीले हिजो बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर हुँदा कबाडी व्यवसायीमाथि गरेको अन्याय बिर्सिएका छैनन्। उहाँ पूर्वमधेशी हो, अहिले उहाँको यहाँ कुनै प्रभाव र सम्भावना छैन । अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ वित्तीय अपराधमा मुछिएर अनुसन्धानको घेरामा हुनुहुन्छ।
मधेशबासी जनता मिटरब्याजी र वित्तीय अपराधीहरूबाट टाढा हुन चाहन्छन् । मेयर भनेको जनताको प्रतिनिधि हो । उहाँ जनताको प्रतिनिधि भएर के कति काम गर्नुभयो, पारदर्शी छ कि छैन ? भन्ने हेर्नुपर्छ । सभापति रवि पनि सहकारीको पैसामा नेता भएको हो। नयाँ जोगीले धेरै खरानी धसेर हुनेवाला केही छैन। अहिले सबैभन्दा लोकतन्त्र मान्ने, जनताको माग सम्बोधन गर्ने र सपना साकार पार्ने पार्टी कांग्रेस भएको छ । गगन सभापति भएपछि कांग्रेसमाथि जनताले ठूलो अपेक्षा राखेका छन् ।













प्रतिक्रिया