घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति « Khabarhub

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटनाको २० दिनपछि तनहुँ प्रहरीले शंकास्पद व्यक्तिलाई सार्वजनिक गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ४६ वर्षीय कुमार नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । अनुसन्धानका क्रममा प्राप्त प्रमाण, प्रदेश अस्पताल दमौलीको पोस्टमार्टम रिपोर्ट, केन्द्रीय विधिविज्ञान प्रयोगशालाको रिपोर्ट र प्रारम्भिक अनुसन्धानको आधारमा नेपालीलाई पक्राउ गरिएको उनको भनाइ छ । “नेपालीको विरुद्धमा पीडितका आफन्तले कर्तव्य ज्यान मुद्दामा संयुक्त पूरक किटानी जाहेरी दरखास्त दिएका छन्, सोहीअनुसार अनुसन्धान भइरहेको छ,” उनले भने ।

डीएसपी विकका अनुसार, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा नेपालीलाई जिल्ला अदालत तनहुँले सात दिनको म्याद थप गरेको छ । माघ १३ गतेदेखि लागु हुने गरी बुधबार अदालतले म्याद थप गरेको उनले जानकारी दिए । प्रहरी स्रोतका अनुसार, नेपालीलाई घटनाको तेस्रो दिन नै नियन्त्रणमा लिइएको थियो ।

घटनाको प्रकृति जटिल भएकाले अनुसन्धानमा समय लागेको डीएसपी विकको भनाइ छ । घटनामा अन्य कनेक्सन हुन सक्ने भएकाले खोजी भइरहेको उनले बताए । उनका अनुसार, प्रहरीले हाल विधिविज्ञान प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा अनुसन्धान गरिरहेको छ । “केही रिपोर्ट आएका छन्, केही अझै बाँकी छन्,” उनले संक्षिप्त प्रतिक्रिया दिए ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, चप्पल, सल, शंकित व्यक्तिले प्रयोग गरेका कपडालगायत सामग्री प्रमाणका रूपमा संकलन गरी विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको हो । घटनाको थप अनुसन्धान प्रक्रिया जारी रहेको डीएसपी विकले बताए ।

गत पुस २६ गते बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–५, कसेरीघाटमा तीनजनाको शव धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको थियो । शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रको पर्खालबाहिर दुई पुरुष र त्यहाँबाट झन्डै डेढ किलोमिटर पर कसेरीघाटको जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् ।

मृतकमध्ये फोहोरमैला प्रशोधन केन्द्र सञ्चालनको जिम्मा लिएको ग्रिन रोड प्रालिका कर्मचारी शुक्लागण्डकी नगरपालिका–११, पाल्पालीछापका ३९ वर्षीय नारायण विकको त्यही दिन पहिचान खुलेको थियो ।

हत्याको तेस्रो दिन मात्र महिलाको पहिचान खुलेको हो । मृतक महिला तनहुँकै भीमाद नगरपालिका–८, भागरकी ५८ वर्षीया देउमाया थापा रहेको प्रहरीले जनाएको छ । देउमायासँगै फोहोरमैला प्रशोधन केन्द्रबाहिर टहरामा बस्ने अन्दाजी ५५ वर्षीय पुरुषको भने अझै पहिचान खुल्न सकेको छैन । उनको पहिचानका लागि प्रहरीले प्रयास गरिरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट विज्ञ टोली परिचालन गरेको थियो । तर, २० दिन बितिसक्दा पनि हत्या प्रकरणको ठोस निचोडमा प्रहरी पुग्न सकेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ९ : २३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी