सुकुम्वासीसँग कुरा गर्नै पत्रकारलाई निषेध, नगरप्रहरी भन्छन्- फोटो, भिडियोले हाम्रो जागिर जान्छ  « Khabarhub

सुकुम्वासीसँग कुरा गर्नै पत्रकारलाई निषेध, नगरप्रहरी भन्छन्- फोटो, भिडियोले हाम्रो जागिर जान्छ 

समस्याको अर्को पाटो- ससुरा, जेठाजु, बुहारी एकैठाउँ बस्दा सकस हुने रहेछ



खबरहबकर्मी टीम बुधबार दिउँसो सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा पुगेको थियो । सत्संगको भवन बल्खुदेखि दक्षिणकाली जाने सडकतर्फ लाग्दै गर्दा त्रिभुवन विश्वविद्यालयको मुख्य गेटको ठ्याक्कै विपरीत बागमती नदी किनारमा अवस्थित छ । गाडीबाट झरेर सत्संग प्रवेश गर्दै गर्दा त्यहाँ एक हुल सशस्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी र सत्संगका स्वयंसेवक हामी नजिकै आए । 

उहाँहरूसँगै त्यहाँ रिपोर्टिङमा सधैँ भेटिरहने साथीहरू पनि सँगै प्राङ्गणमै हुनुहुन्थ्यो । त्यो देखेर रिपोर्टिङका क्रममा सहज हुनेमा हामी ढुक्क थियौँ । तर त्यहाँ त्यसो भएन । गेटदेखि नै निगरानी गर्न खोजेका सुरक्षाकर्मी लगायतले हामी त्यहाँ जानुको उद्देश्य सोधे । त्यसबारे हामीले समाचार संकलनका लागि त्यहाँ आएको भन्यौँ । 

रिपोर्टिङका क्रममा खटिएका संवाददातालाई उहाँहरूले सभ्य शैलीमा भन्नुभयो– ‘तपाईँहरूले मोबाइल क्यामेरा केही पनि प्राङगण भित्र प्रयोग नगरिदिनु । अडियो रेकर्डिङ्ग पनि नगरिदिनुहोला । हाम्रो सत्संगको अनुशासन अनुसार हामीले यहाँ कहिले पनि फोटो भिडियो खिच्ने गर्दैनौ । तपाईँहरूले पनि त्यो अनुशासन पालन गरिदिनुहोला’ नाम खुलाउन नचाहेका संत्सगका एक स्वयंमसेवकले बताए । 

सरकारले कुन अवस्थामा राखेको छ भन्ने विषयमा जनतालाई सुसूचित गर्न त्यहाँ पुगेका हामी उहाँहरूको कुरा सुनेर निराश बन्यौँ । हामीले सो सूचना पाउँदासम्म सत्संगको बीच भागमा निर्माण गरिएको एक ट्रष्ट देखेका थियौँ । जसको चारैतिर भित्ताहरु थिएनन । खुला थिए । ट्रष्टमा २५ वटा टेन्टका घर सेट गरिएको थियो । अन्य करिब २५ टेन्ट अट्ने खाली ठाउँ देखिन्थ्यो । जहाँ सशस्त्र प्रहरीले टेन्ट तथा बिजुलीको व्यवस्थापन गर्दै थियो । 

ट्रष्ट वरपर चौरमा केही सुकुम्वासी लुगा बिस्तारा मिलाउँदै गरेका देखिन्थे । चौरको अर्कोतर्फ मनोपरामर्शको लागि डेस्क राखिएको थियो । सोही क्रममा हामी खबरहबकर्मीले उहाँहरूसँग सुकुम्वासीको त्यहाँको अवस्था र बसाई अवलोकनका लागि अनुमति माग्यौँ । उहाँहरूले हुन्छ हामीले लैजान्छौँ भन्नुभयो । 

‘तपाईँहरूले उहाँहरूको बसाइँ हेर्नुहुन्छ भने हामीसँग हिँड्नुस्,’ एक नगरप्रहरी र सत्संगका स्वयमसेवकले अगाडी लगाउँदै भने, तर त्यहाँ तपाईँहरूले उहाँहरूसँग कुरा गर्न पाउनुहुन्न । तपाईँहरूले कोही चिनेको हुनुहुन्छ भने गेट बाहिर बोलाउनुहोस् र कुरा गर्नुस् ।  त्यसमा हामीले रोक्दैनौँ,’ उनले भने । 

हवस् भन्दै उहाँहरूलाई अघि लगाएर हामी सुकुमवासीलाई राखिएको ट्रस्टभित्र पस्यौँ । डायरी र पेन भने हातमा थियो । त्यसमा भने उहाँहरूले विरोध जनाउनुभएन । सोही क्रममा हामी सशस्त्र प्रहरीले टेन्ट र विद्युत्का लागि काम गर्दै गरेको ठाउँमा गएर उभियौँ । 

‘सत्संगभित्र बसेका सुकुमवासीको फोटो खिच्न नपाए पनि उहाँहरूले काम गर्दै गरेको मात्रै खिच्न मिल्छ ?,’ हामीमध्ये एकले सोध्यौँ । उक्त प्रश्नमा नगरप्रहरीले अलिक निराश स्वरमा भने, ‘तपाईँहरूले के–के भनेर भिडियो, फोटो राखेर समाचार लेखिदिनुहुन्छ । सोहीकारण हाम्रो जागिर जाला भन्ने पीर भइसक्यो,’ । 

उहाँहरूले भोगेको प्रेसर अनुभव गर्न हामीलाई समय लागेन । त्यसपछि भने हामीले उहाँहरूसँग त्यहाँको के कति बसेका छन् लगायतका प्रश्न सोध्यौँ । ‘यहाँ अहिले ५७ परिवारका १६१ जना सदस्य हुनुहुन्छ,’ सुकुम्वासी व्यवस्थापनमा खटिएका स्वयंसेवक पर्शुराम दाहालले बताए । उनका अनुसार उनीहरूका लागि बिहानको चियादेखि साँझसम्मको खानासम्म व्यवस्था स्वयम् सत्संगले नै गरेको छ ।
 
‘सरकारले उहाँहरूको एक हप्ताको खानाको व्यवस्थापनको जिम्मा हामीलाई नै गरिदिनु भन्नुभएको छ । सो अनुसार बिहान ७ बजे चिया बिस्कुट, ११ बजे खाना, दिउँसो २ बजे पुनः चिया खाजा र साँझ साढे ६ बजेदेखि खानाको व्यवस्था गरेका छौँ,’ उनले बताए । 

खाना भने बालबालिकादेखि वृद्धसम्मलाई समान रुपमा खुवाइरहेको उनले थपे । 

सोही क्रममा प्याकिङको खाना वितरण गरिएकाले अपुग भएको केही सुकुम्वासीको गुनासो उहाँहरू माझ राख्दा दाहालले भने, ‘हाम्रो यहाँको भवनमा रहेको चूलो डुबानका कारण सञ्चालनमा छैन । त्यसैले हामीले सामाखुसीको भवनबाट खाना बनाएर ल्याएर उहाँहरूलाई खुवाउन थालेका छौँ,’ । 

मंगलबार बेलुकासम्म भने प्याकिङ गरेरै ल्याएको खाना खुवाउनुपरेको उनले स्वीकार गरे । 

‘केही दिन प्याकिङ गरेरै ल्याएको खाना खुवाउनुपरेको  थियो । त्यसले गर्दा केहीलाई अपुग भएको हुन सक्छ । आज बिहानबाट हामीले सामाखुसीबाट पकाएर ल्याएको खाना उहाँहरूलाई लाइनै राखेर जति खानुहुन्छ शुद्ध शाहाकारी खाना खुवाइरहेका छौँ,’ उनले भने । 

शनिबार थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँका बासिन्दालाई सत्संगमा लगिएको थियो । त्यहाँ बसेका १६१ मध्ये २ जना भने आफूहरूको उपत्यकामै घर भएकाले सत्संगमा नबस्ने भन्दै गइसकेको उनले सुनाए । ‘हाम्रो घर छ भनेर २ जना त यहाँबाट गइसक्नुभएको छ,’ उनले भने । 

वैशाख महिना यसै पनि हावाहुरीसहित वर्षा हुने महिना । दिनभरि प्रचण्ड गर्मी छ । साँझ, परेलगत्तै हावाहुरीसहित देशैभर वर्षा भइराखेको छ । 

शनिबार वर्षौदेखि ओतिएको छानो खोसिएपछि त्यहाँ पुगेका उनीहरू यसै पनि पीडामा छन् । त्यसैमाथि सत्संगको ट्रष्टमुनि ओत पाएका उनीहरुलाई बताससहितको वर्षाले त्यहाँ पनि सहजै निदाउन नदिएको स्वयंसेवक दाहालले बताए । 

‘हिजो राति हुरीबताससहित पानी पर्‍यो । त्यसको बाछिटाले चारैतर्फ खुला ट्रष्टमुनि सुतेका छेउतर्फका केहीको बिस्तारा हल्का भिज्यो । त्यसैले अहिले टेन्ट हालेका हौँ,’ उनले बताए । 

सोबारे मिडियामा आएको एक भिडियो देखाउँदै उनले भने, ‘सुरुको दिन ५ सय जना र अहिले हामी दैनिक सय जना खटेर खाना खुवाउनेदेखि सेवा गरिरहेका छौँ । यसरी सामान्य कुराले गर्दा नकारात्मक टिप्पणी गरिदिनु त भएन नि । मिडियाले दुई पक्षको कुरा नराखी आफुखुसी कन्टेन्ट बनाइदिँदा आलोचना बढेको छ । तर हामी सतप्रतिशत सेवामा लागेका छौँ,’। 

यससँगै उनले सरकारले १५ दिनसम्म त्यहाँ व्यवस्थापन गर्न सघाउन भनेको सुनाए । 

‘सरकारले १५ दिनभित्र उहाँहरूलाई अन्यत्रै स्थानान्तरण गर्ने भनेको थियो । हामी त जति सेवा दिन पाएपनि खुसी हुनेछौँ । तर खानाको लागि एक हप्ताबाहेक दिनका लागि केही कुरा भएको छैन । हामीलाई जिम्मा दिनु भो भने हामीले पनि डोनर खोज्नुपर्छ र त्यो गर्छौँ पनि,’ उनले भने । 

उक्त सत्संगको हाललाई ५० परिवार राख्न सक्ने क्षमता रहेको उनले सुनाए ।

‘सरकारले थप राखिदिनु भनेमा सामाखुसीमा राख्न सकिन्छ । यहाँ भने सय परिवार मात्रै राख्न मिल्छ । ५० वटा चर्पी भएकाले खासै समस्या छैन,’ उनले भने । 

यति भने लगत्तै उनीहरूले हामीलाई ट्रष्ट बाहिर जान अनुरोध गरे । हामीले ट्रष्ट परिसरमै बसेर केही सुकुम्वासीसँग कुरा गर्न प्रयासरत रह्यौँ । सोही क्रममा तस्वीर खिच्न नपाएकोमा टेलिभिजन मल्टीमिडिया कन्टेन्ट संकलनका लागि आएका साथीहरू भने आक्रोशित पनि देखिए । इकान्तिपुरका एक संवादातालाई प्रहरीले फोटो खिचेको भन्दै धकेल्दै बाहिर निकालेको उनीहरूले सुनाएका थिए । तर हामीले भने ती गतिविधि देखेनौँ । तर सार्वजनिक क्षेत्र र विषयमा सञ्चाकर्मीकमथि त्यो तहको प्रतिबन्ध भने सह्य थिएन । 

सोही क्रममा सत्संग परिसरमा भेटिएका एक सुकुम्बासीसँग संवाद गर्न अनुरोध गर्दा उनले भने, ‘हामी विशेष निगरानीमा छौँ बोल्दैनौँ,’ । त्यहाँ खेलिरहेका बालबालिका भने विद्यालय जान चाहेको बताए । 

‘मेरो रिजल्ट पनि के हो थाहा छैन । काँ पढ्ने के गर्ने थाहा छैन । अरु त यहाँ रमाइलो छ । नयाँ किताब लिन पाए हुन्थ्यो भन्ने लागेको छ,’ आफू ६ कक्षामा अध्ययनरत रहेको बताउने एक बालकले भने ।  

त्यहाँको बसाई र खानाबारे भने कुनै गुनासो नरहेको समूहमा फुटबल यताउता गराइराखेका उनीहरूले भने । ‘हामीलाई ब्याडमिन्टन चाहिएको छ । खाना मिठो छ,’ उनीहरूले बताए । 

यस्तै, थापाथली बस्तीबाट अस्थायी रुपमा त्यहाँ राखिएका विक्रम लामाले भने सानो समस्यालाई मिडियाले बढाइचढाइ गरेको बताए । 
‘हिजो परेको पानीले बिस्तारा भिजेको सामान्य कुरा हो । त्यसलाई बढाइचढाइ गरिदिनहुन्छ के । हिजो छड्के आयो भिजेको छ त्यो सामान्य हो त्यसैलाई के के भयो भन्ने नगराइदिनुस् के,’ उनले अनुरोध गरे । 

मिडियामा आएको भिडियोबारे सुरक्षा निकायले उनीहरूमाथि दबाब दिएर राखिएको बारे जिज्ञासा राख्दा उनले भने, ‘हामी यहाँ सन्तुष्ट छौँ । यहाँ यस्तो फेसिलिटी दिइरहनु भएको छ । कुनै प्रेसर छैन,’ उनले सुनाए । 

सोही क्रममा खाजा, खाना चियासहित बोकेर आएका स्वयंसेवक देखिए । जहाँ खाजामा भुजा र चिया सबै सुकुम्बासीलाई वितरण गरियो । बिहान १० बजे नै खाना खाएका उनीहरूको पेट त्यो भुजा र चियाले भरियो भरिएन अझ सोचनीय विषय छ । 

सबै चिया खानतर्फ केन्द्रित हुँदा हामी उनीहरूको टेन्टतर्फ प्रवेश ग¥यौँ । सबै सुकुम्बासी भरखरै व्यवस्थापन गरिदिएको टेन्टमा बिस्तारा मिलाउँदै थिए । २/३ खण्डमा व्यवस्थापन गरिएको ती टेन्टको दुई मान्छेसमेत सकसले उभिन मिल्ने ग्यापमा बालबालिका कुदिरहेका थिए ।

जहाँ एक मानसिक असन्तुलन भएकी वृद्ध आमा ‘खोई म अफिस जान्छु भन्दै त्यहीँ साँघुरो गल्ली लट्ठी टेक्दै छिचोल्न खोज्दै थिइन् । यस क्रममा एक वृद्ध हामीसँग कुरा गर्न तयार भए । उनी बुहारीदेखि नातिसम्म एकै परिवारमा सुत्नुपरेकोमा अप्ठ्यारोमा रहेको सुनाए । 

‘पहिलो दिन २ वटा झुल बल्लतल्ल पाइयो । बुहारीहरू एक झुलमा सुते म र नाति एकमा । नातिका ४ साथी पनि त्यहीँ कोचिन आए । एक छिनमा झूलको नामोनिशाना रहेन,’ उनले भने । 

बुहारी, जेठाजु, ससुरा सबै एकै ठाउँमा बस्दा पुरुषलाई भन्दा पनि महिलालाई बढी समस्या भएको उनले बताए । सोही क्रममा त्यहाँ आइपुगेका नगर प्रहरीले लामोसमय बसेको भन्दै हामीलाई बाहिर निस्कन भने । ‘तपाईँहरू २÷३ घण्टादेखि यहीँ हुनुहुन्छ अब बाहिर जानुहोस्,’ उनले भने । 

सोही क्रममा केही महिलाहरू मिडियामा भिडियो आएकै कारण आफूहरूले बाहिर कोठा पाउन समेत समस्या परिरहेको भन्दै आक्रोश पोखिरहेका थिए । 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : ३३ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड