शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता « Khabarhub

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

विश्लेषक भन्छन्, गरीखाने वर्गसँगको सम्बन्ध टुटेकाले एकताले पनि काम गर्दैन



काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ । नेताहरूको जुँगाको लडाईंका कारण वाम पार्टीहरू जनअनुमोदित हुन चुकेका छन् । अहिले अस्तित्वमा रहेका २२-२३ वटा कम्युनिस्ट पार्टीमध्ये प्रतिनिधि सभामा दुई वटा कम्युनिस्ट पार्टीको मात्रै सीमित प्रतिनिधित्व छ ।

प्रतिनिधि सभामा अहिले नेकपा एमालेको २५ सिट छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको केबल १७ सिट छ । पछिल्लो चुनावमा अरु कम्युनिस्ट पार्टीहरुले नराम्ररी धुलो चाटे । यही राजनीतिक अवस्था कायम रहे आगामी दिनमा पनि ती कम्युनिष्ट पार्टीहरू फस्टाएर आउने सम्भावना न्यून छ ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलन र फागुन २१ को चुनावले नेपालमा व्यापक राजनीतिक परिवर्तन ल्याएको छ । राजनीतिक परिवर्तनसँगै शक्तिहीन भएका कम्युनिष्ट पार्टीहरू अहिले आएर एकताको डम्फू बजाउन थालेका छन् । अहिले नै मुख नखोले पनि सांकेतिक तरिकाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कम्युनिस्टहरुलाई एक बनाउने अभियानमा अग्रसर रहेको देखिन्छ । जननेता मदन भण्डारीको ७५ औँ जन्मजन्तीको अवसरमा आयोजित मदनपत्नी विद्याको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चार जना कम्युनिष्ट पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा उभिए ।

भण्डारीको सचिवालयले पनि पछिल्लो समय कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न उनी सक्रिय हुन खोजेको सूचना दिएको छ । तर, भण्डारी आफैँ कम्युनिस्ट आन्दोलनको नेतृत्व लिन तम्सिएपनि जनताले पत्याइहाल्ने स्थिति भने देखिन्न । समाजको तल्लो वर्गको आवाज बन्नुपर्ने कम्युनिस्ट नेताहरू पछिल्लो समय स्वार्थ र सत्ताको द्वन्द्वमा फस्दै गएपछि जनआक्रोश चुलिएको विश्लेषकहरु बताउँछन्, यो आरोपबाट भण्डारी पनि चोखो छैनन् । कम्युनिष्ट पार्टीमा आबद्ध युवा नेताहरु पनि पुराना र पहिलो पुस्ताले पद त्याग्नुपर्ने र पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क गरिरहेका छन् । अन्यथा एकताको औचित्य नहुने वाम युवापङ्क्तिको मत छ ।

धेरै कम्युनिस्ट पार्टीले अहिलेसम्म पनि फागुन २१ मा भोग्नुपरेको पराजयलाई गम्भीर रूपमा आत्मसमीक्षा गरिसकेका छैनन् । नेतृत्वको सत्तालिप्सा प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गर्न वाम दलहरु तयार नै छैनन् । तत्काल वाम एकता भए अहिले एकीकृत कम्युनिष्ट जनमत प्रतिनिधि सभामा दोस्रो स्थानमा आउने देखिन्छ । युवा वाम नेताहरु नरेश रोकाया, पदम गिरी, उषाकिरण तिम्सिना, बिन्दा पाण्डे, आरती लामा, स्वदेश पराजुलीहरु एकताको नाममा नेताहरूले पुरानै कार्यशैली दोहोर्‍याएको खण्डमा जनताले विश्वास नगर्ने बताउँछन् ।

दीर्घकालीन एकताको पक्षमा नेताहरू, पद भने नछाड्ने संकेत

आइतबार पूर्वप्रधानमन्त्रीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीबीच दीर्घकालीन र परिपक्व एकताको खाँचो रहेको कुरा खोले । चारै जना कम्युनिस्ट नेताले एकताको आह्वान गर्दा कसैले पनि पद त्याग्न तयार भएको उल्लेख गरेनन् अथवा नयाँ पुस्तालाई नेतृत्व सुम्पने छाँटकाँट देखाएनन् ।

धेरै पछि चारै जना वाम नेताले पहिलो पटक मञ्च सेयर गरेपनि पदको लोभ सबै नेतामा देखिन्थ्यो । ०७४ सालमा एमाले विभाजन भएपछि ओली र माधव नेपालसँगै झलनाथ खनालबीच लामो समय पानी बाराबारकै स्थिति थियो । यही क्रम २०७९ को निर्वाचन र २०८२ फागुनको निर्वाचनमा पनि देखियो । ओलीले माधव नेपालको नाम लिएर मुख कुल्ला गर्नेसम्मका अभिव्यक्ति दिन्थे ।

उता माधव नेपालले पनि कम्युनिस्ट आन्दोलनका मुख्य शत्रु ओली नै भएको टिप्पणी गर्थे । यसपछि उनीहरू बीच छिटपुट बाहिर बोलचाल भएपनि पार्टी र नीतिगत रुपमा कहिल्यै संघीय जोडिएका थिएनन् । आइतबारको कार्यक्रममा वक्ता झलनाथ खनालले आजकै दिनबाट दीर्घकालीन कम्युनिस्ट एकता हुनुपर्ने आवाज उठाए । उनले भने, ‘वामपन्थी एकता गरौँ, आज बाध्यताले एक भएका छौँ । सबै कमरेडहरूलाई म हार्दिकताका साथ आग्रह गर्न चाहन्छु- आजको दिनबाट दीर्घकालीन एकता गरौँ ।’ उनले फेरि दोहोर्‍याएर भनेका थिए, ‘हामीले यो एकता निर्वाचनअगाडि नै गर्न सकेको भए आज कम्युनिस्ट पार्टीको १०० भन्दा बढी सिट हुन्थ्यो ।’

उनीलगत्तै कार्यक्रमलाई सम्बोधन गरेका नेकपाका सहसंयोजक माधवकुमार नेपालले आत्मसमीक्षा सहितको एकता हुनुपर्ने बताए। उनले नेताहरूको प्रवृत्ति सच्याएर मात्रै पार्टी एकता हुनुपर्ने तर्फ गरे । ‘सबैले आत्मसमीक्षा गरौं। यो समाजलाई हामीले बुझ्न सकेनौँ। हामीले के के विकृति ल्यायौं यो कुरालाई आत्मसमीक्षा गरौँ’, उनले भने, ‘सबैले आफ्नै पार्टी भित्र आत्मचिन्तन गरुन् । …भावनाको कुरा मात्रै गरेर हुँदैन कुराले चिउरा भिज्दैन । मनभावना र कर्म मिल्यो भने मात्रै एकता गर्ने हो । आज मिल्यो, भोलि फुट्यो… सिद्धान्तनिष्ठ हुनुपर्छ ।’

माधवको भनाइको आशय ओलीलक्षित देखिन्थ्यो । नीति सिद्धान्त र विचार एक नभएको खण्डमा मिलेर पनि केही नहुने तर्क गरिरहँदा ओली निकै गम्भीर देखिन्थे । लगत्तै बोल्ने पालो भएका प्रचण्डले पनि यसअघि कम्युनिस्ट फुटेको तीतो इतिहास सुनाए । उनले सडक र सदनमा विचारका विषयमा गतिविधिहरू अगाडि बढाएपछि मात्रै एकताको विषयमा सोच्नुपर्ने बताए । ‘हामीले जबजलाई स्वीकार्दै २०७४ मा पार्टी एकता गरेकै हो । मैले क्रमभङ्ग भयो भनौँ भने फेरि के उत्पात हुन लाग्यो भन्छन् । अहिले परिस्थिति फेरिएको छ आत्मसमीक्षा गर्दै हामी पनि फेरिनुपर्छ । यो परिस्थितिमा ढिलो नगरी चाँडोभन्दा चाँडो कम्युनिस्ट एक हुनुपर्छ । मैले पनि भोलि नै एकता गरौँ भनेको होइन, २०७४ को घाउ बिर्सेको छैन,’ प्रचण्डले भने, ‘सहकार्य गरौँ संसदमा गरौं सडकमा गरौं। जति ढिलो गर्‍यो, उति ठूलो दुर्घटना हुनेवाला छ ।’

प्रचण्डपछि बोल्ने पालो आएका ओलीले असल कामको चर्चा कतै पनि नभएको भन्दै चित्त दुखाए । उनले असल कामको गर्नेहरूलाई बदनाम गर्ने प्रवृत्ति रहेको भन्दै आफू चोखिने मेलो खोजे । त्यसपछि ओलीले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने र मिल्नुपर्ने कुरा राखे । ओलीले यसो भन्दा कार्यक्रममा सहभागी कार्यकर्ताहरुले बाक्लो हुटिङ गरेका थिए । त्यसपछि बोलेकी पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, सङ्गठन र कार्यशैली परिवर्तन ल्याउन नसक्दा समस्या आएको बताइन् ।

तीर ओलीतिर…

कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा आजको परिस्थिति आउनुमा यिनै नेताहरूको मुख्य दोष देखिन्छ । इतिहासकै सबैभन्दा कठिन र दुःखद घडीमा रहेको कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ लिनका लागि पहिलो पुस्ता बिदा हुनुपर्ने पक्षमा नेकपा एमालेका तल्लो तहका नेताहरु छन् । पार्टीले गरेको चुनावी समीक्षाका क्रममा कोशी, बागमती, लुम्बिनी प्रदेशका नेताहरु नेतृत्व फेरिनुपर्ने पक्ष उभिँदा नेतृत्व तहका नेताहरु भने पद छाड्न तयार छैनन् ।

अहिले प्रचण्ड संयोजक रहेको नेकपामा पनि माधव पक्ष र झलनाथ पक्षबीच विवाद चुलिँदा थोरै भएका कार्यकर्ता पनि अन्यौलमा छन् । यही परिस्थितिबीच धेरै जना नेताहरू नयाँ वैकल्पिक शक्तितिर पनि खुल्न थालेका छन् । एमालेका ओली निकट नेता महेश बस्नेत कम्युनिस्ट एकता आजको दिनमा सम्भव रहेको बताउँछन् । तर, एमालेकै फरक धारका नेता गोकुल बास्कोटा भने अपरिपक्व एकताले २०७४ सालको भन्दा कम्युनिष्ट पार्टीमा हालत हुने विचलन आउने बताउँछन् ।

धेरै वामपन्थी नेताहरु अहिले कम्युनिस्ट आन्दोलन इतिहासकै कमजोर अवस्थामा पुग्नुमा ओलीलाई दोष दिन्छन् । उनै ओलीसँग सहकार्य गरेर अगाडि बढ्दा जनताले अझ अरु कम्युनिस्टलाई पनि एउटै डालोमा लाएर हिँड्ने टिप्पणी समेत हुन थालेको छ । अहिले ओली नेपालकै सबैभन्दा विवादित पात्र बन्न पुगेको राजनीतिक विश्लेषक इन्द्र अधिकारी बताउँछिन् । उनी ओलीकै कारण भदौ २३-२४ को आन्दोलन भयानक भएको उनको दाबी छ । उनी ओलीलाई जनताले अझै लामो समय माफी नगर्ने टिप्पणी गर्छिन् । पछिल्लो सरकारलाई आफूहरूकै गल्तीको उपज भएको प्रचण्डले पनि स्वीकार गरेका छन् ।

वाम विश्लेषक भन्छन्- ‘गरी खाने वर्गसँगको सम्बन्ध विच्छेद भएको छ एकताले काम गर्दैन’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ लामो समयदेखि वामपन्थी आन्दोलनको विषयमा कलम चलाउँदै आएका छन् । उनी कम्युनिष्ट पार्टी विभाजन भएदेखि नै कम्युनिस्टहरू इतिहासकै नराम्रो घडीमा उभिने दिन नजिकिएको भन्ने वकालत गर्थे । बाम र कम्युनिस्ट एकताको विषयमा विश्लेषक श्रेष्ठ यसो भन्छन्-

शक्तिहीन भएपछि उनीहरू एक ठाउँमा आएको सोझै विश्लेषण गर्न सकिन्छ । उनीहरू इतिहासकै सबैभन्दा कमजोर स्थितिमा आएपछि एक ठाउँमा आएजस्तो देखिन्छन् । तर पद छाडेर दोस्रो या तेस्रो पुस्ता आएर सम्हाल भन्ने अवस्थासम्म अझै पनि पुगेका छैनन् । इतिहासमा कहिले पनि कम्युनिस्टहरू यतिको कमजोर अवस्थामा थिएनन् । अहिले नेताहरूलाई हामी मिलेनौँ भनेदेखि कुनै खैरात छैन भन्ने कुराको महसुस चाहिँ भएको छ।

हामी योभन्दा उता मिलेन भने भविष्य अन्धकार छ भन्ने कुरा चाहिँ उनीहरूले बुझेका छन्। तर के कारणले यो अवस्था आयो भनेर अझै पनि विश्लेषण गर्न चुकेको छ । भूलको आत्मासमीक्षा नगरिकन कुनै पनि कुराको सुरुवात गरेको खण्डमा जनताले त्यो कुरा स्वीकार्दैनन् । के कारणले भूल भयो र कहाँ कहाँ भूल भयो ? यो भूलको आत्मा समीक्षा उनीहरूले एकदम गम्भीर ढंगले गर्नु जरुरी हुन्छ । भूलको कहानी पत्ता लगाएर सच्याउने दिशातिर उनीहरू उन्मुख भए भनेदेखि एउटा कुराको सुरुवात हुन्छ। अहिले उनीहरुले वर्ग छोडे सबैभन्दा ठूलो भूल गरे । जुन वर्गबाट उनीहरू आएका थिए त्यो वर्गसँगको सम्बन्ध विच्छेद भयो। अहिले तल्लो तहको वर्ग नेतृत्वविहीन भएको छ ।

भूमिहीन र सुकुम्बासीको मुद्दामा समेत कुरा ओकल्ने कोही पनि देखिएको छैन । नेपालमा करिब ७०% गरीखाने वर्ग छ । त्यो वर्ग कहाँ जाउँ कसले हाम्रो आवाज बोल्देला कसले हाम्रो नेतृत्व गर्देला भनेर खोजिरहेको छ उनीहरू एकदम नेतृत्वविहीन भएका छन् । त्यो गरीखाने वर्गको नेतृत्व गर्न सक्छ त अहिलेको वामले ? सबैभन्दा गम्भीर प्रश्न त्यो हो नेतृत्व गर्न सक्नका लागि पहिले आफ्नो दृष्टिकोण सुधार्नुपर्यो । दोस्रो आफ्नो चरित्र सुधार्नुपर्‍यो ।

नीति कार्यक्रम सुधार्नुपर्‍यो त्यो नसुधारी कम्युनिस्ट आन्दोलन एक हुने मोडमा देख्दिन । यी तीन वटा कुरामा नेतृत्वले आफू आफू म म भनेर आत्मालोचना नगरे कम्युनिस्टको भविष्य छैन । विद्या भण्डारीलाई कम्युनिस्ट आन्दोलनको नेतृत्व गराउने कुरा त्यति सम्भव छैन। कम्युनिस्ट पनि त अहिले चारवटा पार्टी मात्र होइनन् त २२-२३ वटा पार्टी छन् भनेर त यहाँहरुले नि लेखिरहनु भएको छ । विद्या भण्डारीलाई नेतृत्व गराए पनि अरु कुनै भण्डारीलाई नेतृत्व गराए पनि अब उचाइमा पुग्नेवाला छैन। पहिलो र दोस्रो पुस्तालाई अगाडि बढाउँदा पनि दोस्रो तेस्रो पुस्ता पनि उही चरित्रको देखिन्छ ।

उही दृष्टिकोणको उही चरित्रको भएपछि जनताले कसरी विश्वास गर्ने । आफ्नो आफ्नो पार्टीमा गम्भीर आत्मसमीक्षा गरेर जनतासँग माफी नमागेसम्म कम्युनिस्ट पार्टीले काहीँ कतै एकता गरेर पनि पुरानो लय समात्दैनन् । चरित्र दृष्टिकोण र नीति नसुधारेसम्म सम्भव छैन। विच्छेद भएको वर्गसँग कसरी सम्बन्ध गाँस्ने भन्ने स्पष्ट दृष्टिकोण ल्याउन सक्नुपर्छ। उपाय त्यो हो । उनीहरूले त्यो उपाय नगरेसम्म तल्लो वर्गले पत्याउने कसरी ?

तल्लो वर्गले नेताले गल्ती स्वीकारेर माफी नमागेरसम्म यिनीहरुले हाम्रो नेतृत्व गर्लान् हामीलाई माथि पुर्‍याउलान् भनेर पत्याउँदैन। नेपाली जनताले सुध्रिएको कम्युनिस्ट चाहन्छन् पुरानोमा नयाँ खोल लगाएको होइन। सचिन उनीहरू तयार नहुने र एउटा एकताको डम्फु मात्रै बजाउने हो भने यो त सम्भव छैन । उनीहरू मिले तापनि सचिएनन् भने भने पत्याउनेवाला छैन।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : १० बजे

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी