विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका « Khabarhub

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

के हो कन्भर्जन डिसअर्डर ?


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले बालबालिकाको सुरक्षा, मानसिक स्वास्थ्य तथा विद्यालय प्रशासनको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । पछिल्लो समय बूढानीलकण्ठ विद्यालयकी एक पूर्वछात्रामा देखिएको कडा मानसिक स्वास्थ्य समस्या ‘कन्भर्जन डिसअर्डर’ को विषय सार्वजनिक भएपछि फेरि एक पटक विद्यालयभित्रको वातावरण, बाल संरक्षण र मानसिक स्वास्थ्यबारे बहस सुरु भएको छ ।

यसअघि पनि विद्यालयको हाताभित्रै बालबालिकाले ज्यान गुमाएका थुप्रै घटनाले देशव्यापी ध्यान तानेका थिए । तर तीमध्ये अधिकांश घटनामा पीडित परिवारले अपेक्षा गरेअनुसार न्यायको अनुभूति गर्न सकेका छैनन् । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन विद्यालयको होस्टेलमा २०८० फागुन १२ गते १४ वर्षीया छात्रा सलिन पोखरेल मृत फेला परिन् ।

परिवारले यौन दुर्व्यवहारपछि हत्या गरिएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको थियो । घटनाले देशव्यापी ध्यान तानेको थियो । घटनाले विद्यालयको सुरक्षा तथा होस्टेल व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको थियो । प्रहरीले विद्यालयका केही जिम्मेवार व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, पोष्टमार्टम रिपोर्टले मृतकमाथि कुनै किसिमको यौन दुर्व्यवहार नभएको पुष्टि गरेपछि पक्राउ परेकाहरूले सफाइ पाए ।

त्यसअघि २०८० जेठ १७ गते काठमाडौं–१६ स्थित इलिप्स स्कूलको होस्टेलमा बस्दै आएका कक्षा ५ मा अध्ययनरत १३ वर्षीय विद्यार्थी मृत फेला परेपछि विद्यालयमा व्यापक विरोध भएको थियो । परिवारले हत्या भएको आशंका व्यक्त गर्दै विद्यालय प्रशासनविरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो । विद्यार्थीको शरीरमा चोटका चिन्हहरू देखिएको र होस्टेलमा शारीरिक दुव्र्यवहार हुने गरेको आरोप अभिभावक तथा विद्यार्थीहरूले लगाएका थिए ।

घटनापछि प्रधानाध्यापक, होस्टेल इन्चार्ज लगायतलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लियो । तर अनुसन्धानबाट आत्महत्या भएको निष्कर्ष निकालिएपछि त्यो घटना पनि विस्तारै सेलायो । यस्तै २०८० असोज १२ गते सुर्खेतको वीरेन्द्रनगरस्थित उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा ८ वर्षीय बालक सलाम पुलामी मगर मृत फेला परे । घटना शंकास्पद भएको भन्दै परिवार र स्थानीयले विरोध प्रदर्शन गरेका थिए । आक्रोशित आफन्तले निष्पक्ष अनुसन्धानको माग गर्दै आन्दोलन गरेका थिए भने प्रहरीले विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । तर घटनाको निष्कर्षले पीडित पक्षलाई सन्तुष्ट पार्न सकेन ।

यी तीनवटै घटनामा अबोध बालबालिकाले विद्यालयको हाताभित्रै ज्यान गुमाए । तर पीडित परिवारले उचित न्याय पाएको अनुभूति गर्न सकेनन् । यही पृष्ठभूमिमा अहिले बूढानीलकण्ठ विद्यालयकी १२ वर्षीया पूर्व छात्रा विद्यालयमा भएको कथित शारीरिक तथा मानसिक यातनाका कारण ‘कन्भर्जन डिसअर्डर’ जस्तो गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको आरोप अभिभावकहरूले लगाएका छन् ।

अभिभावकका अनुसार ती बालिका अहिले विद्यालय जान सक्ने अवस्थामा समेत छैनन् । उता विद्यालय प्रशासन र अभिभावक संघले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै विद्यालय प्रशासन र अभिभावक संघले छुट्टाछुट्टै विज्ञप्तिसमेत जारी गरेका छन् ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन भएका प्रतिष्ठित विद्यालयहरूमा बेला–बेलामा हुने यस्ता घटनाले विद्यालय प्रशासन, अभिभावक, छानबिन गर्ने निकाय र सरकारको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । कलिलै उमेरमा बालबालिका किन आत्मघाती निर्णयसम्म पुग्छन् ? किन उनीहरू गम्भीर मानसिक समस्याको शिकार बन्छन् ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

यस्ता घटनाबारे मनोचिकित्सक डा. वासुदेव कार्की भन्छन्, ‘बालबालिकाको मानसिक स्वास्थ्यलाई कुनै एक घटना वा एक व्यक्तिको व्यवहारसँग मात्र जोडेर हेर्न मिल्दैन । विद्यालय, परिवार र सामाजिक वातावरणले त्यसमा महत्वपूर्ण प्रभाव पार्ने गर्छ ।’

कन्भर्जन डिसअर्डर के हो ?

डा. कार्कीका अनुसार कन्भर्जन डिसअर्डर मानसिक तनाव, डर, पीडा वा आघातजस्ता मनोवैज्ञानिक समस्याले शारीरिक लक्षणको रूप लिने अवस्था हो । सामान्य भाषामा बुझ्दा, कुनै व्यक्तिले अत्यधिक मानसिक तनाव वा मनोवैज्ञानिक दबाब भोगिरहेको छ भने त्यसको प्रभाव शरीरमा देखिन थाल्छ । तर परीक्षण गर्दा ती शारीरिक लक्षणको कुनै स्पष्ट जैविक वा न्युरोलोजिकल कारण भेटिँदैन ।

यस्तो अवस्थामा बिरामीले हातखुट्टा नचल्ने, बोल्न गाह्रो हुने, शरीर बटारिने, बेहोसजस्तो हुने, हिँड्न नसक्ने, कम्पन हुने, दृष्टि वा श्रवण क्षमतामा समस्या आएको जस्तो अनुभव गर्न सक्छ । तर, विस्तृत स्वास्थ्य परीक्षणमा त्यसको शारीरिक कारण पुष्टि हुँदैन ।कन्भर्जन डिसअर्डरमा समस्या नाटक गरेको वा बनावटी गरेको भन्ने होइन, डा. कार्की भन्छन्, ‘व्यक्तिले भोगिरहेको मानसिक पीडा शरीरमार्फत अभिव्यक्त भएको हुन्छ । यो वास्तविक मानसिक स्वास्थ्य समस्या हो ।’

किन हुन्छ यस्तो समस्या ?
डा. कार्कीका अनुसार मानसिक स्वास्थ्य समस्याको उत्पत्ति जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको संयुक्त प्रभावबाट हुन्छ ।
कसैमा जन्मजात रूपमा मानसिक स्वास्थ्य समस्याप्रति संवेदनशीलता बढी हुन सक्छ । त्यसमा बाल्यकालको अनुभव, हुर्काइ, परिवारको वातावरण, विद्यालयको व्यवहार, साथीभाइसँगको सम्बन्ध र सामाजिक परिस्थितिले थप प्रभाव पार्ने उनी बताउँछन् ।

उनका अनुसार कन्भर्जन डिसअर्डरमा विशेषगरी मनोवैज्ञानिक र सामाजिक पक्षको भूमिका बढी देखिन्छ । जोखिममा रहेका बालबालिकाले लगातार डर, दबाब, अपमान, तनाव वा असुरक्षाको अनुभव गरे भने उनीहरूमा यस्ता समस्या विकसित हुन सक्छन् । ‘यस्तो मानसिक स्वास्थ्य समस्या अचानक एक दिनमा पैदा हुँदैन । लामो समयसम्म सञ्चित तनाव, भय, असहजता वा मनोवैज्ञानिक दबाबले अन्ततः कुनै न कुनै रूपमा असर देखाउन सक्छ,’ उनले भने ।

१४ वर्ष पुग्नुअघि नै सुरु हुन्छन् धेरै मानसिक समस्या

डा. कार्कीले अन्तर्राष्ट्रिय अध्ययनलाई उद्धृत गर्दै मानसिक स्वास्थ्य समस्या बालबालिकामा धेरैले सोचेभन्दा व्यापक रहेको बताए । उनका अनुसार विश्वभर करिब २० प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक वा मनोसामाजिक समस्या हुने गरेको छ । त्यस्तै, जीवनमा देखिने मानसिक स्वास्थ्य समस्यामध्ये झण्डै ५० प्रतिशत समस्या १४ वर्षको उमेर पुग्नुअघि नै सुरु हुने अध्ययनहरूले देखाएका छन् ।

हामी प्रायः मानसिक स्वास्थ्य समस्या वयस्कमा मात्र हुन्छ भन्ने सोच्दछौं, तर धेरै समस्या बाल्यकाल वा किशोरावस्थामै सुरु भइसकेका हुन्छन्, उनले भने ।

आवासीय विद्यालय कति सुरक्षित ?

बूढानीलकण्ठ विद्यालयको घटनापछि आवासीय विद्यालय अर्थात् होस्टेलमा बालबालिका राख्नु उपयुक्त हो कि होइन भन्ने प्रश्न पनि उठेको छ । डा. कार्कीले भने समस्याको मूल कारण होस्टेल वा घर मात्र नभई वातावरण रहेको बताउँछन् ।

बालबालिका घरमा बसून् वा आवासीय विद्यालयमा, उनीहरूले सुरक्षित, सम्मानजनक र सहयोगी वातावरण पाउनुपर्छ, उनले भने । उनका अनुसार होस्टेलमा बसेकै कारण मानसिक समस्या हुन्छ भन्ने प्रमाणित अध्ययन छैन । तर असुरक्षित, भययुक्त वा दुव्र्यवहारपूर्ण वातावरण जहाँ भए पनि त्यसले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ ।

‘बालबालिकाले सबैभन्दा आवश्यक कुरा सुरक्षा, माया, सम्मान र सुन्ने वातावरण पाउनु हो,’ उनले थपे ।

विद्यालयमा काउन्सिलर अनिवार्य हुनुपर्छ

डा. कार्कीका अनुसार नेपालमा विद्यालय शिक्षामा मानसिक स्वास्थ्यको विषय अझै पर्याप्त प्राथमिकतामा पर्न सकेको छैन । उनले प्रत्येक माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य बुझ्ने स्वास्थ्यकर्मी, विद्यालय नर्स वा मनोसामाजिक परामर्शदाता (काउन्सिलर) को व्यवस्था अनिवार्यजस्तै हुनुपर्ने बताए ।

विद्यालयमा बालबालिका दिनको धेरै समय बिताउँछन् । त्यहाँ उनीहरूको व्यवहारमा आएको परिवर्तन, डर, तनाव, निराशा वा अन्य मानसिक समस्या प्रारम्भिक अवस्थामै पहिचान गर्न सकियो भने धेरै जटिल समस्या हुनबाट रोक्न सकिन्छ उनले भने ।
विशेषगरी आवासीय विद्यालयमा अभिभावक प्रत्यक्ष रूपमा उपस्थित नहुने भएकाले मानसिक स्वास्थ्य सहायता प्रणाली अझ बलियो हुनुपर्ने उनको धारणा छ ।

दोषारोपण होइन, समाधान खोजौँ

बूढानीलकण्ठ विद्यालयको घटनाले एकातिर अभिभावकमा चिन्ता बढाएको छ भने अर्कोतिर विद्यालयहरूको जवाफदेहिता माथि पनि प्रश्न उठाएको छ ।

तर डा. कार्कीका अनुसार यस्ता घटनालाई केवल आरोप–प्रत्यारोपको विषय बनाएर समाधान निस्कँदैन । हामीले कसलाई दोषी भन्नेभन्दा पनि बालबालिकालाई सुरक्षित वातावरण कसरी दिने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ, उनले भने । उनका अनुसार परिवार, विद्यालय, समुदाय, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र राज्य सबैको साझा जिम्मेवारी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु हो ।

विद्यालयको हाताभित्रै भएका मृत्युका घटनादेखि मानसिक स्वास्थ्य संकटसम्मका पछिल्ला घटनाले एउटा गम्भीर सन्देश दिएको छ । बालबालिकाको शैक्षिक उपलब्धिभन्दा पहिला उनीहरूको सुरक्षा, सम्मान र मानसिक स्वास्थ्य सुनिश्चित गर्न सकिएन भने विद्यालयको मूल उद्देश्य नै प्रश्नको घेरामा पर्न सक्छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ५१ बजे

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले