रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’ « Khabarhub

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार बसेको केन्द्रीय समिति बैठकले पनि पदाधिकारी र केन्द्रीय सदस्यसहित सचिवालय सदस्य टुङ्ग्याउन सकेन । पार्टीलाई चाहिने अत्यावश्यक पदहरु प्रवक्ता र कोषाध्यक्ष समेत टुङ्ग्याउन नसक्दा रविमाथि प्रश्न उठेको थियो ।

पार्टी सभापति रविले वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनित गरेपनि अन्य पदाधिकारीबारे नबोल्दा नेताहरुले प्रश्न उठाए । उनले हतार नगर्न र यसबारे एक सातापछि केही निर्णय हुने जानकारी गराएका थिए । उनले ‘म पदाधिकारी हुन्छु, म सचिवालय सदस्य हुन्छु भन्ने विषयमा मिडिया ट्रायल नगर्न’ नेताहरुलाई आग्रह गरे ।

‘पदाधिकारी सचिवालय सदस्य र केन्द्रीय सदस्य टुङ्ग्याउनुपर्ने टुङ्गिएर जान्छ । आगामी साता त्यसबारे केही थपघट छलफल होला । आजलाई वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नियुक्त गरौँ । अरु विषयमा छलफल हुँदै जान्छ । तपाईंहरुले म पदाधिकारीको दाबेदार हो । म सचिवालयको दाबेदार हो भनेर मिडियालाई नभन्नू, पद चाहिए मलाई भन्नू तर मिडियालाई होइन । कसले कति योगदान गरेको छ र कसलाई समेट्नुपर्छ भन्ने विषय हामी सल्लाहमा टुङ्ग्याउँछौँ,’ रविले भनेका थिए, ‘पार्टी शुद्धीकरणका लागि तपाईंहरूले उठाउनुभएको प्रश्न र राख्नुभएको जिज्ञासा ठिक छ । सहमतिको महाधिवेशन बनाउनुपर्ने भएकाले कसको भूमिका कहाँ राख्दा ठिक हुन्छ भन्ने विषय हामी अध्ययन गरिरहेका छौँ ।’

रविले नेताहरूलाई प्रधानमन्त्री र आफूबीच कुरा नमिल्दा पदाधिकारी र सचिवालय सदस्य सहित केन्द्रीय सदस्य टुङ्ग्याउन नसकेको भन्ने अफवाहका पछि नलाग्न आग्रह गरेका थिए । उनले हिजोको बैठकमा अत्यावश्यक पद टुङ्ग्याउने प्रयत्न गरे पनि देशको पछिल्लो समसामयिक राजनीति अवस्था र पार्टीका विभिन्न कामले गर्दा नभ्याएको जानकारी गराए ।

‘केही पदाधिकारी र केन्द्रीय सदस्यको टुङ्ग्याउने विषयमा सभापतिज्यूले तयारी गर्नुभएको रहेछ तर देशमा विभिन्न घटनाक्रम लगायतका कुराहरु आएकाले उहाँले त्यसमा थप गृहकार्य अगाडि बढाउन पाउनुभएन रे !,’ पार्टी केन्द्रीय सदस्य यज्ञमणि न्यौपाने भन्छन्, ‘अबको एक सातापछि पुनः बैठक बस्छ । त्यहाँबाट केही विषयहरू टुङ्गिएर जान्छन् । पार्टीभित्र पद टुङ्ग्याउने विषयमा नेताहरूले छलफल गरिरहेकाले बाहिर आएका हल्लाहरु साँचो होइन ।’

न्यौपानेले प्रवक्ता, कोषाध्यक्ष लगायतको पद नटुङ्ग्याउँदा समस्या भएको आवाज उठेकाले त्यसको सम्बोधन गर्न सभापति तयार रहेको जानकारी दिएका छन् । ‘मिडियालाई पार्टी प्रवक्ता र पार्टीलाई कोषाध्यक्ष सहित अरु पदहरू पनि आवश्यक परेको महसुस सभापतिले पनि गर्नुभएको रहेछ । मिडियालाई सूचना दिने विषय केन्द्रीय सदस्यसहित महामन्त्री र अरु सहममन्त्रीले दिँदै गर्ने भन्ने कुरा भयो । अहिलेलाई महामन्त्रीले मिडियालाई सूचना दिनुहुन्छ,’ न्यौपानेले भने, ‘नयाँ कोषाध्यक्ष नआएसम्म पुरानो कोषाध्यक्ष लिमा अधिकारीले काम गर्नुहुन्छ । आवश्यकता अनुसार अर्को साताबाट पदहरू पनि थपिँदै जान्छन् ।’

नामहरूबारे सहमति जुट्न बाँकी

दुई साताअघि रवि बालेनबीच महाधिवेशनका बाँकी काम टुङ्ग्याउने विषयमा रवि निवासमा छलफल भएको थियो । तर बालेन पक्षबाट पदाधिकारीमा पठाउने नाम र केन्द्रीय सदस्यमा पठाउने नाम धेरै आएकाले दुवै पक्षहरूबीच सहमति जुट्न सकेको थिएन । रविले प्रवक्तामा आफूनिकट व्यक्तिलाई पठाउन लागे पनि महामन्त्री सहित उपसभापति बालेन कोटाबाट राख्नुपर्ने दबाब छ ।

यसका लागि बालेन पक्षले उपयुक्त व्यक्तिको नाम पठाएको छैन । ‘घरी उपसभापतिमा सुदन गुरुङको नाम छ । घरी सुनिल लम्सालको छ । पदाधिकारीमा पनि उहाँले ११ टुङ्ग्याउनुपर्नेमा ६,७ जना दाबी गर्नुभएको छ रे,’ पार्टी स्रोत भन्छ, ‘५१ जना केन्द्रीय सदस्य टुङ्ग्याउनुपर्नेमा ३० भन्दा बढी त बालेन पक्षबाटै नाम आइरहेको छ रे । समायोजना आएका अरु पक्षलाई पनि समेट्नुपर्ने कारण भागबण्डामा समस्या देखिएको साँचो हो । दाबी त गर्न पाइयो, मिलाएर समेटिन्छ । उहाँहरू आफूले पनि कसकसलाई पठाउने भन्ने फाइनल गर्नुभएको छैन ।’

स्रोतले दिएको जानकारी अनुसार बालेन पक्षले भागबण्डामा बहुमत पाउनुपर्ने माग राखिरहेको बताइन्छ । रविले बालेन पक्ष मात्र होइन पूर्वविवेकशील साझा पक्ष, थरुहट समूह पक्ष, दलित समूह पक्ष, जेन-जी लगायतका नेताहरुलाई समेट्नुपर्ने कारण उपयुक्त होमवर्क गर्न नपाएको बताइन्छ । ‘सहमतिको महाधिवेशन बढाउनुपर्ने भएकाले विभिन्न व्यक्तिहरुलाई समेट्ने विषयमा सभापतिले तयारी गरिरहनुभएको होला । अर्को सातासम्ममा केही पदहरु टुङ्गिने संकेत देखिएको छ,’ पार्टीकी पूर्व कोषाध्यक्ष लिमा अधिकारी भन्छिन्, ‘बीचमा विभिन्न देशमा राजनीतिक समस्याहरू आएका कारण दुई तीन जना नेता बसेर टुङ्ग्याउन भ्याउनुभएको छैन । सबै भूगोल र समुदायलाई समेट्ने गरी उहाँले तयारी गर्नुभएको होला ।’

पार्टी महामन्त्री विपिनकुमार आचार्य पनि पार्टीभित्र केन्द्रीय सदस्य सचिवालय र पदाधिकारी टुङ्ग्याउने विषयमा कसैसँग असहमति नरहेको बताउँछन् । उनी देशको पछिल्लो राजनीतिक अवस्थाका कारण छलफल गरेर पदहरू टुङ्ग्याउनका लागि सभापति र प्रधानमन्त्री सहित अरु नेताहरूको समय नमिलेको जानकारी दिन्छन् ।

‘सभापतिज्यूले चाँडै टुङ्ग्याउने प्रयत्न गरिरहनुभएको छ । राजनीति अवस्था र देशको पछिल्लो घटनाक्रमका कारण त्यसतर्फ होमवर्क गर्न नपाउनुभएको पक्कै हो,’ उनी भन्छन्. ‘दुई नेताहरू एक ठाउँमा बसेर १०-१५ मिनेट छलफल गर्न पाएको खण्डमा टुङ्गिहाल्छ । अहिले समय नमिलेको हो । अर्को केन्द्रीय कमिटी बैठकबाट पक्कै केही पदहरू पूर्ति हुनेछन् ।’

यता पार्टी नेतृ समीक्षा बास्कोटा पनि हिजोको केन्द्रीय कमिटी बैठकमा खुलस्त रुपले सबैले आफ्ना कुरा राखेकाले सभापति पनि प्रफुल्लित र अरु नेताहरूको पनि मनमा भएको विचारहरू व्यक्त भएको बताउँछिन् । उनी विभिन्न पदहरू टुङ्ग्याउने विषयमा सभापतिले नेताहरूसँग छलफल गर्न नपाएकाले अर्को हप्तासम्ममा केही फ्रेमवर्क आउने जानकारी दिन्छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा भएको थियो । एक महिना बितिसक्दा पनि ११ जना पदाधिकारी १८ भन्दा बढी सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य सभापतिले टुङ्ग्याउन सकेका छैनन् । विभिन्न समूहबाट आएका व्यक्तिहरूलाई समायोजन गर्नुपर्ने र भागबण्डा मिलाउनुपर्ने कारण सभापतिलाई यी पदहरु टुङ्ग्याउन सकस परेको देखिन्छ । पार्टीको विधानमा सभापतिले नै ५१ जना केन्द्रीय सदस्य र पदाधिकारी एकल मनोनित गर्न पाउने अधिकार दिएको छ ।

पार्टीको विधानमा सभापतिले एक उपसभापति, एक महामन्त्री, दुई सहममन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता ३ सहप्रवक्ता र दुई जना सहकोषाध्यक्ष सहित वरिष्ठ नेता पनि मनोनित पाउने प्रावधान छ । जसमध्ये बुधबार उनले एक वरिष्ठ नेता मात्रै मनोनित गरे । वरिष्ठ नेता सर्वसम्मत रुपमा टुङ्गिएको छ । पार्टीको पहिलो महाधिवेशन भएकाले एकता र सहमतिको झल्को दिने गरी पार्टी सभापतिलाई यी अधिकार दिएको सहममन्त्री निशा डाँगी बताउँछिन् ।

एकैपटक टुङ्ग्याउन असम्भव

पदाधिकारी केन्द्रीय सदस्य र सचिवालय आवश्यकता अनुसार टुङ्ग्याउँदै जाने रविले बताएका छन् । बुधबारको केन्द्रीय समिति बैठकमा आवश्यकता अनुसार टुङ्ग्याउँदै जाने भएकाले यतातिरको चिन्ता नलिई आफ्नो कार्यभार सम्हाल्न सभापतिले आग्रह गरेका थिए ।

‘पार्टीका अर्को पनि बैठक बस्छ । आवश्यकता अनुसार पदाधिकारी केन्द्रीय सदस्य र सचिवालय सदस्य मनोनित हुँदै जानुहुन्छ । यहाँहरुले आआफ्नो जिम्मेवारी पूरा गर्नुहोला । साथीहरू केही गुनासो आलोचना र टिप्पणी भए यसरी नै पार्टीभित्र गरौँ, बाहिर मिडियामा पुगेर छताछुल्ल पार्न आवश्यक छैन । यहाँ बैठकमै नभएको कुराहरू पनि मिडियामा आइरहेका हुन्छन् । त्यसकारण अब यहाँहरु केन्द्रीय सदस्य हुनुभएको छ । संयमित भइदिनुहोला ।’ रविले भनेका थिए ।

‘हामी सबै नयाँ छौँ । कसरी यिनीहरूको खेदो खन्नु, खोट देखाउनु भनेर लागि परेका छन् । त्यसकारण जे भन्नु छ– महामन्त्रीज्यूलाई भन्नुहोस् । मलाई भन्नुहोस् । पार्टीका अरु पदाधिकारी साथीहरुलाई भन्नुहोस् । बाहिर जथाभावी प्रमाण बिना बोल्दै नहिँड्नुस् । संसदीय दलको नेता परिवर्तन गर्ने विधान सभापतिले थप्यो भनेर यहाँहरुले भन्नुभयो। यो पाँच वर्ष मात्रै होइन अर्को पाँच वर्ष पनि वालेनजीले चलाउनुहुन्छ भने दिन तयार छु। तर देशमा राम्रो काम हुनुपर्‍यो ।’ उनले भनेका थिए ।

रविले विधान आफू अनुकूल बनाएको आरोप नेताहरुले लगाएपछि आफू थप त्याग गर्न पनि तयार रहेको बताएका थिए । आफ्नो नियत सफा रहेको र अरु पार्टीमा जोडिने व्यक्तिहरूको पनि नियत सफा नै देखेको बताउँदै आफू र प्रधानमन्त्रीको सम्बन्धलाई लिएर पनि चर्चा गर्न छाडिदिन आग्रह गरेका थिए ।

‘म र प्रधानमन्त्रीबीच कुनै दरार आएको छैन, सबै विषयहरू हामी सल्लाहमै गर्ने गरेका छौँ,’ सभापतिले भने, ‘यहाँले रचनात्मक सुझाव दिनुहोस् । एक पटक एउटा मन्त्रीसम्म कम्तीमा एक महिनामा भेटिदिनुहोस् । उहाँहरूलाई पनि रचनात्मक सुझाव दिनुहोस् । पार्टीको काममा पनि खटेर लाग्नुहोस् र धेरै सांसदहरू पनि हुनुहुन्छ। आफ्नो भूमिकालाई पनि अब्बल बनाउनुहोस् अध्ययन अध्यापन गर्नुहोस् ।’

रविले पार्टी चलाउन सरकार चलाउन र संसदीय भूमिका निभाउनका लागि आफ्नो योग्यता बढाएर जानुपर्ने नेताहरूलाई आग्रह गरेका थिए । दोहोरो भूमिकामा भएका साथीहरूले सकेसम्म काममा खट्न र जिम्मेवारीप्रति इमान्दार हुन रविको सुझाव थियो । उसले अब थपिने पदाधिकारी केन्द्रीय सदस्यको भूमिका पनि पार्टीप्रति खटिने किसिमको हुनुपर्ने भएकाले त्यसतर्फ आफूले ध्यान दिएको उल्लेख गरे ।.

महाधिवेशनबारे छेडछाड

महाधिवेशनमा गुटको विषयको पनि कुरा उठेको थियो । पार्टी नेतृ रिमा विश्वकर्मा, तोसिमा कार्की, गणेश कार्की, सागर ढकाल लगायतका नेताहरूले पार्टी महाधिवेशनमा उठेका प्रश्नहरूको विषयमा कुरा राखेका थिए । रिमाले महाधिवेशनमा सिक्न नहुने धेरै कुराहरू सिकेको आरोप लगाएकी थिइन् । उनले महाधिवेशनका क्रममा बाटैमा संस्थापन इतर, बालेनको पक्ष र विपक्ष गुट जस्तो हल्ला चलेको आरोप लगाएकी थिइन् ।

बैठकमा केन्द्रीय सदस्य गणेश कार्कीले बन्द सत्रमा प्रस्तुत भएको विधानभन्दा फरक विधान आएको बताउँदै यसबारे प्रश्न राखेका थिए । विधानमा सभापति रविले चाहेको खण्डमा संसदीय दलको नेता परिवर्तन गर्न सक्ने व्यवस्था गरिएकोप्रति उनले आपत्ति जनाए । तर, गणेशलाई काउन्टर दिनेगरी नेतृ क्रान्तिशिखा धितालले बालेनपक्ष र रविपक्ष भन्दै समूहगत रूपमा भोट मागेको आरोप कार्कीमाथि लगाइन् ।

निर्वाचनमा धेरै प्राविधिक त्रुटीहरु भएको भन्दै यसबारे अनुसन्धान हुनुपर्ने माग राखिएको थियो । तोसिमा कार्कीले कोही अघिल्लो दिन विजयी भएको र भोलिपल्ट उ पराजित भएकाले यस्ता विषयहरुमा छानबिन हुनुपर्ने माग राखेकी थिइन् । बैठकमा बोल्ने अरु नेताहरुले पनि महाधिवेशनको विषयमा निर्मम समीक्षा हुनुपर्ने आवाज उठाएका थिए । बुधबारको बैठकमा रविलाई अब केन्द्रीय सदस्य पदाधिकारी र सचिवालय सदस्य थप्दा समानुपातिक र प्रतिनिधिमूलक सँगै योग्यताको पनि ख्याल गर्नुपर्ने माग उठेको थियो ।

बैठकबारे जानकारी दिँदै रास्वपा स्रोत भन्छ, ‘महाधिवेशनमा उठेका विभिन्न विषयहरूमा नेताहरूले चासो राख्दै जवाफ माग्नुभएको थियो । नेतृत्वले पहिलो महाधिवेशन भएकाले धेरै टेक्निकल मिस्टेक भएको र सिक्नुपर्ने कुरा थुप्रै भएको जानकारी गराउनुभयो । धेरै जना पार्टीका नेताहरू महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन भन्दा बाहिरी पक्ष भनेर विषयहरु उठेकाले यसको सत्य तथ्य छानबिन हुनुपर्ने आवाज उठाउनुभएको थियो ।’

नेताहरुले महाधिवेशनको क्रममा भएका गल्तीहरूको विषयमा प्रश्न राख्दा पहिलो महाधिवेशन भएकाले पार्टीले राम्रोसँग होमवर्क गर्न नसकेको सभापति लामिछानेले स्वीकार गरे । उनले आवश्यक पर्दा महाधिवेशनको सन्दर्भमा भएका गल्तीहरूको विषयमा समिति बनाएरै छानबिन गर्न समेत तयार रहेको जानकारी दिएका थिए ।

रविले अन्तिममा बोल्ने क्रममा महाधिवेशनको विषयमा आफ्नो तर्फबाट नेताहरुले खुलेर कुरा राख्दा आफू खुसी भएको बताउँदै चित्त नबुझेको कुरा पार्टीभित्रै राख्न आग्रह गरे । उनले लोकतान्त्रिक प्रक्रियामा आफ्नो विचार राख्न स्वतन्त्र भएको बताउँदै विचार राखेकै आधारमा कसैप्रति दुश्मनी नओकल्न आग्रह गरेका थिए । रविले महाधिवेशनमा भएको कमी कमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सच्याएर जाने बाचा समेत गरेको केन्द्रीय सदस्यको भनाइ छ ।

शीर्ष नेता जिताउन रणनीति बुनिएको आक्षेप

पार्टीको पहिलो महाधिवेशनमा शीर्ष र चर्चित नेता जिताउनका लागि विभिन्न व्यक्तिले रणनीतिक योजना बनाएकाले यसको छानबिन हुनुपर्ने माग राखिएको थियो । छानबिन हुनुपर्ने माग राख्नेमा रञ्जु दर्शना, रिमा विश्वकर्मा लगायतका नेताहरुले राखेका थिए । यो मागमा धेरै नेताहरूको समर्थन रहेको देखिन्थ्यो ।

पार्टीको महामन्त्रीमा पराजित भएका सागर ढकालले पनि यसतर्फ संकेत गर्दै पहिलो महाधिवेशनमा नेतृत्वमा रहेका व्यक्तिहरूबाटै धेरै गल्ती भएको आरोप लगाएका थिए । महाधिवेशनमा संस्थापन पक्ष र अरु पक्ष भन्दै सभापति निकट नेताहरूले गुट चलाएको आरोप यस अगाडिका प्रवक्ता मनिष झाले महाधिवेशन स्थलमै लगाएका थिए । बुधबारको बैठकमा नेताले यो विषय पनि उठाएका थिए ।

बैठकमा समुदाय क्षेत्र र भूगोल नसमेटेको आरोप पनि लागेको थियो । ‘नो भोट’ सम्बन्धी व्यवस्था नगरिएको र आयोजक कमिटीले व्यवस्थापनको जिम्मेवारी नसम्हालेको आरोप नेताहरुले लगाए । बैठकमा धेरैजना नेताले निर्वाचन आयोगमाथि पनि प्रश्न उठाएका थिए । निर्वाचन आयोगको विषयमा छानबिन समिति बनाउनुपर्ने र महाधिवेशनको विषयमा छानबिन हुनुपर्ने माग गर्दा रविले इन्कार गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ६ : २२ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार