प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ) « Khabarhub

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् । उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरे । साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार घटना भएलगत्तै सुरक्षा निकाय घटनास्थलमा परिचालन भई अवस्था नियन्त्रणमा लिन, थप अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सक्रिय रहेका छन् । गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको उल्लेख गर्दै उनले छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए ।

उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने र जनधनको थप क्षति हुन नदिन सरकार निरन्तर क्रियाशील रहेको बताए। स्थानीय तहमा विश्वासको वातावरण निर्माण गर्न आवश्यक सबै प्रयास भइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले परिस्थिति सामान्यीकरणका लागि केन्द्रमा सर्वदलीय बैठक बोलाएर छलफल गरिएको तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर पीडित पक्षसँग भेटघाट तथा सुरक्षा अवस्थाको अनुगमन गरिरहेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट पनि आवश्यक निर्णय भइसकेको उनले बताए ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न प्रधानमन्त्रीले सबैमा आग्रह गरे । सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना मात्रै विश्वास गर्न पनि उनले अनुरोध गरे ।

प्रत्येक नागरिकको जिउधनको रक्षा, सामाजिक सद्भाव कायम राख्नु र शान्ति सुरक्षा सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक अधिकार दिएको स्मरण गराउँदै उनले सरकार उक्त संवैधानिक अधिकारको संरक्षणमा प्रतिबद्ध रहेको बताए। कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने उल्लेख गर्दै सबै धर्मको मूल सन्देश करुणा, दया, प्रेम र शान्ति रहेको उनले बताए ।

प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको दुखद घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा अन्य क्षेत्रमा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिकोणबाट उचित नहुने धारणा राखे ।

सम्बोधनको अन्त्यमा उनले सबै नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय तथा सञ्चारमाध्यमलाई धैर्यता, संयमता र जिम्मेवारीका साथ शान्ति, सद्भाव, भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न अपिल गरेका छन् ।

यस्ताे छ पूर्णपाठ

नमस्कार। आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु । म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु । केही दिन अघि सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछिका केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ । यस दुखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।

घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकेको छ ।

घटना भए लगतै सबै सुरक्षा निकायहरुले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरुसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयम् सो स्थानमा पुगिसक्नुभएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिने छन्।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै
पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।

आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु, हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबै भन्दा ठुलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।

(मैथिली भाषामा) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति, सदभाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकार के तर्फ से हार्दिक अपील करहल छी। धन्यवाद।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ९ : ०४ बजे

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका