काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट आइलाग्यो । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको झडप बिहीबारसम्म आइपुग्दा कोशी र मधेशका विभिन्न जिल्लामा फैलँदो छ।
जसले ठूलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार सुरुदेखि नै गम्भीर नबन्दा पाँच दिनमा हुनै नहुने घटना भए । तनाव फैलिएर देशभर पुग्ने अवस्था आएको छ। सरकारकै कारण जनधनको क्षति भएको आरोप प्रतिपक्षीसहित मधेसी दलले लगाएका छन्।
मधेसवादी दलका नेताहरूले सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाह जिम्मेवार बनेको भए यति ठूलो क्षति नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार छलफलका क्रममा आफूहरूले यही कुरा राखेको राजेन्द्र महतो बताउँछन्। महतोका अनुसार आइतबार राति सुनसरीमा गोली चलेपछि सोमबार नै प्रधानमन्त्रीले स्थिति नियन्त्रणमा लिन अभिभावकीय भूमिका निर्वाह गर्न सकेनन्।
‘प्रधानमन्त्रीसहित पार्टीले पनि संवाद र छलफलका कार्यक्रम ढिलाइ गर्दा थप क्षति भएको महसुस हामीले गरेका छौं। सुनसरीमा बेलुका त्यस्तो घटना भएपछि सोमबार बिहानै प्रधानमन्त्रीले वार्ता र संवाद अघि बढाउनुपर्ने थियो,’ महतो भन्छन्, ‘घटनालाई दुई समुदायबीचको विवादका रूपमा मात्रै नहेरी सबै कोणबाट विश्लेषण गर्न हामीले रविजीलाई सुझाव दिएका छौं। हामीले त यो बैठक प्रधानमन्त्रीले बोलाउनुपर्नेमा किन तपाईंले बोलाउनुभयो भनेर समेत प्रश्न राख्यौं। उहाँले प्रधानमन्त्रीले पनि आफ्नो काम गरिरहनुभएको छ भन्ने दाबी गर्नुभयो।’
महतो प्रधानमन्त्रीले पाँच दिनसम्म मौनता देखाउँदा देशमा ठूलो दुर्घटना भएको बताउँछन्। मधेसी समुदायबाट प्रधानमन्त्री बनेकोमा आफूहरूले गर्व गरेको उल्लेख गर्दै उनले त्यो आशा निराशामा बदलिन नहुने बताए।
महतो जस्तै महन्थ ठाकुर पनि सरकारले सुरुमै सक्रियता नदेखाउँदा अवस्था बिग्रिएको बताउँछन्। ‘सरकारले सुरुमै संयमता नअपनाउँदा राज्यले ठूलो क्षति बेहोर्नुपर्यो। आगजनीसँगै प्रहरी प्रशासनबाट नागरिकमाथि दमन गर्दै गोली प्रहार भयो। यो घटनाको निर्मम समीक्षा हुनुपर्छ,’ ठाकुरले रविलाई भनेको कुरा सुनाउँदै भने, ‘जहिले पनि मधेसी जनता र मधेशमाथि प्रहार हुने गरेको छ। त्यसकारण यो घटनालाई सामान्य रूपमा लिनु हुँदैन। निर्मम समीक्षा हुनुपर्छ भन्ने हाम्रो माग छ। प्रधानमन्त्रीज्यूले ढिलो गरी पहल थाल्नुभयो। सोमबारै यो प्रक्रिया सुरु गरेको भए यस्तो भयावह अवस्था आउने थिएन।’
उता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग पनि रविले बिहीबार छलफल गरेका थिए। छलफलमा कोशी र मधेशका सांसदहरूले घटनालाई विभिन्न कोणबाट निर्मम समीक्षा गर्नुपर्ने र राज्य यस घटनामा चुकेको बताएका थिए।
घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका सांसद तथा पूर्व पार्टी प्रवक्ता मनिष झाले भने, ‘घटनामा सरकार चुकेको छ। गृहमन्त्रीज्यूको असक्षमता र अपरिपक्वता देखिएको छ। यसबारे निर्मम छानबिन होस्।’
उनले पनि घटना लगत्तै सरकारका तर्फबाट गम्भीरता देखाइएको भए थप क्षति नहुने बताए। जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि प्रधानमन्त्रीले ढिलो गरी कदम चाल्दा देशले थप क्षति भोग्नुपरेको बताए। आफूहरूले मंगलबार नै पार्टी सभापति लामिछानेलाई प्रधानमन्त्रीले तत्काल कदम चाल्नुपर्ने सुझाव दिएको तर प्रधानमन्त्रीले बेवास्ता गरेको उनको आरोप छ।
‘प्रधानमन्त्रीले नागरिकलाई शान्त रहनुहोस्, संयमता अपनाउनुहोस् भन्नका लागि पनि नागरिकले ज्यानै दिनुपर्ने अवस्था सिराहा घटनाबाट देखियो। राज्यको नेतृत्व संयमित र जिम्मेवार नबन्दा थप क्षति भएको छ,’ राउत भन्छन्, ‘मान्छे मर्नु पटक्कै सामान्य विषय होइन। प्रधानमन्त्री, गृहमन्त्रीलगायतका व्यक्तिहरू सुरुमै जिम्मेवार बनेको भए देशले यति धेरै क्षति र ज्यान जाने जोखिम भोग्नुपर्ने थिएन।’
राज्यको लापरवाहीकै कारण तीन जनाको ज्यान गएको राउतको दाबी छ।

प्रधानमन्त्री नबोलेकोमा प्रश्न
आइतबार राति सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भयो। सोमबार दिनभर सुनसरीका विभिन्न क्षेत्रमा अशान्ति हुँदा न प्रधानमन्त्री बोले, न पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्यो।
मंगलबार पनि सुनसरीलगायत क्षेत्रमा तनाव बढ्दै गएपछि पार्टीले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन र सबैलाई धैर्यवान बन्न आग्रह गर्यो। घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै सभापति रविले सबैलाई संयमित भएर घरमै बस्न अपिल गरे।
रविले विज्ञप्ति जारी गरेको करिब ६–७ घण्टापछि प्रधानमन्त्री बालेन्द्र शाहले पनि सामाजिक सञ्जालमार्फत संयमित रहन आग्रह गर्दै घटनाको सरकारी तवरबाट छानबिन भइरहेको जानकारी दिए। तर राति ११:२५ बजे प्रधानमन्त्रीले स्टाटस लेखिसक्दा पनि बुधबार र बिहीबार नागरिक शान्त हुन सकेनन्। सुनसरी, सिराहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरियो। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सिराहामा पनि बिहीबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो।
त्यसपछि प्रधानमन्त्री र गृहमन्त्रीको तीव्र आलोचना हुन थालेपछि सरकार सक्रिय देखियो। बिहीबार राति ९ बजेपछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सबै पक्षलाई धैर्य र संयमता अपनाउन आग्रह गरे तथा घटनाको निष्पक्ष छानबिन भइरहेको बताए।
बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेर गृहमन्त्री सुदन गुरुङलाई सुनसरी पठाइएको छ। उनी अहिले सुनसरी पुगेर विभिन्न अस्पतालमा घाइतेहरूको अवस्था बुझिरहेका छन्। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेता पनि पुगेकी छन्।
घटनाको पाँच दिनपछि प्रधानमन्त्री बालेन्द्र सक्रिय देखिएका छन्। राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतल निवास पुगे। बुधबार रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए।
त्यसयता राष्ट्रपति पौडेल, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विभिन्न नेताहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्न, संयमित रहन र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिसकेका छन्। प्रतिपक्षी दलहरूले पनि यही माग उठाइरहेका छन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई सर्वपक्षीय बैठक बोलाएर घटनालाई थप लम्बिन नदिन पहल गर्न सुझाव दिएको बताइन्छ। साथै, यस्ता घटनामा राजनीतिक नेतृत्व संवेदनशील र संयमित हुनुपर्ने सुझाव पनि दिएको स्रोतको दाबी छ। राष्ट्रपति सचिवालयले पनि प्रधानमन्त्रीलाई संयमतापूर्वक परिस्थिति सामान्य बनाउन सुझाव दिएको जनाएको छ।
अहिलेसम्म प्रधानमन्त्री बालेन्द्र शाहले सर्वपक्षीय बैठक बोलाउने निर्णय गरेका छैनन्। तर शुक्रबारसम्ममा सर्वपक्षीय बैठक बोलाउने तयारी भइरहेको स्रोतको दाबी छ। रवि लामिछानेले विपक्षीलगायत अन्य दलका नेतासँग निरन्तर छलफल गरिरहे पनि यसबीच प्रधानमन्त्री र पार्टी सभापतिको प्रत्यक्ष भेट भने भएको छैन। यद्यपि पार्टी सचिवालयले दुवै जना आपसी सल्लाहमै काम गरिरहेको दाबी गरेको छ।
सरकारले मुख बन्द गरेको विपक्षीको आरोप
विपक्षी दलहरूले बिहीबार १४ दिनपछि सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन खोजे। तर बैठक चलिरहेका बेला प्रधानमन्त्री सुरक्षा परिषद्को बैठकमा रहेकाले उपस्थित हुन सकेनन्।
देशका विभिन्न घटनाप्रति प्रतिपक्षीले तीव्र आलोचना गरेपछि केही समय सदनमा तनावको अवस्था सिर्जना भएको थियो। सुनसरीपछि सिराहामा पनि गोली चलेको घटना सार्वजनिक भएपछि सभामुखले बैठक स्थगित गरेका छन्।
‘देशका विभिन्न जिल्लामा प्रदर्शन भएपछि सांसदहरूलाई अवस्था नियन्त्रण गर्न र संवादमार्फत समाधान खोज्न आआफ्नो क्षेत्रमा पठाइएको हो। त्यसकारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो,’ एक मन्त्रीले खबरहबसँग भने, ‘बहाना बनाएको होइन। देशमा अवस्था बिग्रँदै गएपछि सबै सांसदलाई स्थानीयसँग वार्ता, संवाद र छलफलमार्फत स्थिति नियन्त्रण गर्न जिल्लामा पठाइएको हो।’
सभापति लामिछानेले पनि कोशी र मधेशका सांसदहरूसँग छलफलपछि आआफ्नो क्षेत्रमा गएर स्थानीयसँग संवाद गर्दै स्थिति सामान्य बनाउन आग्रह गरेका थिए।











प्रतिक्रिया