नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र « Khabarhub

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई खोज, उद्धार, राहत तथा मृतकको पहिचानका लागि सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

भारतको विदेश मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) पठाउन प्रस्ताव गर्नुका साथै भारतीय वायुसेनाका विमानमार्फत अत्यावश्यक राहत सामग्री नेपाल पठाइएको जनाएको छ।

भारतले हालसम्म तीनवटा विमानमार्फत करिब ५७ दशमलव ५ टन राहत सामग्री नेपाल पठाइसकेको जनाएको छ। चौथो विमान पनि शुक्रबार काठमाडौंका लागि प्रस्थान गर्ने तयारीमा रहेको विज्ञप्तिमा उल्लेख छ।

गत अगस्ट २६ मा बाढी आएको दिन नै भारतीय वायुसेनाको सी–१३० जे हर्क्युलिस विमानले १० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याएको थियो। उक्त सामग्रीमा अस्थायी आवासका सामग्री, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधि रहेका थिए।

त्यसको भोलिपल्ट अगस्ट २७ मा सी–१७ ग्लोबमास्टर विमानले थप ३७ दशमलव ५ टन राहत सामग्री काठमाडौं ल्याएको भारतले जनाएको छ। उक्त सामग्रीमा २८ दशमलव ५ टन टेन्ट, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री र जेनेरेटर, ८ टन औषधि तथा १ टन खाद्यान्न छ।

त्यस्तै, अगस्ट २८ मा अर्को सी–१३० जे विमानले भारतीय सेनाको ५ सदस्यीय सुरुङ उद्धार प्राविधिक टोली र ६ सदस्यीय स्वास्थ्य टोली नेपाल पठाएको थियो।

उक्त विमानमार्फत थप १० टन राहत सामग्री पनि ल्याइएको थियो। उक्त सामग्रीमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्न, पानी शुद्धीकरण ट्याब्लेट तथा औषधि रहेका छन्।

भारतले सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि आएको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा शुक्रबारदेखि काम सुरु गरेको जनाएको छ।

चौथो उडानमार्फत भारतीय सेनाको १३ सदस्यीय सुरुङ उद्धार विशेषज्ञ टोली अत्याधुनिक उपकरणसहित काठमाडौं पठाइँदै गरेको जनाएको छ।

यसअघि नेपाल आएर स्थलगत अध्ययन गरेको टोलीको मूल्यांकनका आधारमा विशेषज्ञ टोली पठाउन लागिएको भारतले जनाएको छ।

त्यसैगरी, मृतकको पहिचानका लागि डीएनए नमुना परीक्षणमा सहयोग गर्न ६ वटा फरेन्सिक टोलीका १९ सदस्य पनि नेपाल पठाइँदैछन्। विमानमार्फत थप राहत सामग्रीसमेत पठाइने जनाइएको छ।

भारतले नेपालका आवश्यकता अनुसार थप लक्षित सहायता परिचालन भइरहेको जनाएको छ।

यसअन्तर्गत सडक सम्पर्क पुनःस्थापना तथा राहत कार्यलाई सहयोग पुर्‍याउन बेली पुल र प्राविधिक टोली पठाउने तयारी गरिएको छ।

एउटा बेली पुल नेपालमै पुगिसकेको र प्रभावित क्षेत्रमा आवश्यकताअनुसार प्रयोग गर्न सकिने भारतले जनाएको छ।

यसैबीच, भारतले बाढीपछि हालसम्म नेपालमा रहेका १०८ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ। यसअघि सम्पर्कविहीन रहेका करिब ५० जना भारतीय नागरिकसँग पनि पुनः सम्पर्क स्थापित भएको बताइएको छ।

चीनको स्थानीय सरकारी स्रोतलाई उद्धृत गर्दै भारतले पछिल्लो दुई दिनमा ५९८ जना भारतीय नागरिक चीनबाट सुरक्षित रूपमा नेपाल प्रवेश गरेको जनाएको छ। चीनतर्फ अझै करिब ९ सय भारतीय नागरिक रहे पनि उनीहरू सुरक्षित र सम्पर्कमा रहेको बताइएको छ।

तर, बाढी प्रभावित क्षेत्रमा अझै २७५ भन्दा बढी भारतीय नागरिक तथा भारतीय मूलका १२८ जना व्यक्ति बेपत्ता वा सम्पर्कविहीन रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।

भारतले बाढीबाट प्रभावित भारतीय नागरिकको खोज तथा उद्धारका लागि नेपाल र चीनका अधिकारीसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।

भारतीय विदेश मन्त्रालयमा चौबीसै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष स्थापना गरिएको छ भने काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले २४ सै घण्टा हेल्पलाइन सञ्चालन गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट २६ मा नेपालका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी बाढीप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका थिए।

त्यसपछि अगस्ट २८ मा भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालका परराष्ट्रमन्त्रीसँग पनि टेलिफोन वार्ता गरेका थिए।

भारतले नेपालसँगको विशेष र घनिष्ठ सम्बन्धलाई उल्लेख गर्दै यस दुःखद घडीमा नेपालप्रति ऐक्यबद्धता कायम राख्ने र आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : ५२ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न