काठमाडौं- रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ।
आयोजनास्थलसम्म पुग्न सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ।
बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति पुनः भीषण बाढी आए पनि उद्धार तथा पहुँच निर्माणको काम रोकिएको छैन।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली-३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’को काम अन्तिम चरणमा पुगेको छ।
अबको करिब एक घण्टामा टनेल इन्ट्री खोल्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको गृहमन्त्रालयले जनाएको छ। त्यसपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अघि बढाइने भएको छ।
यसबीच सुरुङभित्र रहेका व्यक्तिहरूलाई जीवनरक्षाका लागि आवश्यक हावा तथा अक्सिजन उपलब्ध गराउने प्रयाससमेत भइरहेको छ।
भर्टिकल होलमार्फत सुरुङभित्र अक्सिजन पठाइएको छ। सुरुङभित्र फसेकाहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धारको पूर्वतयारीका रूपमा प्राविधिक टोलीले विभिन्न माध्यमबाट सम्पर्क तथा पहुँच स्थापित गर्ने प्रयास गरिरहेको छ।
सुरुङमा उद्धार तथा निर्माण कार्यमा खटिएका तनहुँबाट रास्वपा सांसद एवम् उक्त दलको ऊर्जा तथा जलस्रोत विभाग प्रमुख श्रीराम न्यौपानेले यसअघि करिब १५ किलोमिटर सुरुङ खनेको अनुभवलाई अहिले ‘रेस्क्यु होल’ निर्माणमा प्रयोग गर्ने अवसर प्राप्त भएको बताएका छन्।
उनका अनुसार त्रिशूली-३ ‘ए’ मा २४ सै घण्टा काम गरिरहँदा मेलम्ची खानेपानी आयोजना र नागढुंगा सुरुङमार्गमा २४ सै घण्टा काम गरेको अनुभव पनि स्मरण भइरहेको छ।
‘२४ मिटरभित्रको सुरुङको भागमा डेब्रिस नभएको भए आजै हावा, ध्वनि, पानी र खानेकुरा पठाउने लक्ष्य रहेको छ,’ न्यौपानेले बताएका छन्।
त्रिशूली-३ ‘बी’ मा पनि उद्धार प्रयास जारी
उता रसुवाकै त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार अभियान जारी छ।
पछिल्लो अपडेटअनुसार त्यहाँको ‘फ्रन्ट फेस’मा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।
उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा समन्वय निरन्तर भइरहेको सम्बन्धित टोलीले जनाएको छ।
९३४ जना अझै सम्पर्कविहीन
बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा ठूलो जनधनको क्षति भएको छ। प्राप्त विवरणअनुसार रसुवाका सातवटा जलविद्युत् आयोजनाबाट ७३० जना र नुवाकोटका छवटा आयोजनाबाट २०४ जना गरी कुल ९३४ जना अझै सम्पर्कविहीन छन्।
बाढीका कारण आयोजनास्थलमा रहेका कर्मचारी, प्राविधिक तथा अन्य कामदारको उद्धार सबैभन्दा ठूलो चुनौती बनेको छ। सडक तथा पहुँचमार्ग क्षतिग्रस्त भएपछि उद्धार सामग्री र उपकरण आयोजनास्थलसम्म पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
विदेशबाट दक्ष जनशक्ति र उपकरण ल्याउन दबाब
यसैबीच, विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूलाई सकुशल उद्धार गर्न नेपालभित्र उपलब्ध स्रोतसाधन र जनशक्तिबाट मात्रै काम गर्दा उद्धार प्रक्रिया निकै ढिलो हुनसक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणकै प्राविधिकहरूले विदेशी दक्ष जनशक्ति र आवश्यक उपकरण तत्काल झिकाउनुपर्ने विषय उठाएका थिए।
उनीहरूले आफ्नो तहबाट व्यवस्थापन हुँदै ऊर्जा मन्त्रालयसम्म यस विषयमा जानकारी गराउँदै छिटोभन्दा छिटो अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति र सुरुङ उद्धारका लागि आवश्यक उपकरण परिचालन गर्न दबाब दिएका थिए।
एक प्राविधिकले उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, ‘यत्रो अर्बौंको कारोबार गर्ने प्राधिकरणका कर्मचारीदेखि यसै क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रका साथीहरूलाई बचाउन यस्तो निरीह बन्नु परिरहेको छ। सरकारले किन ढिलोसँग समन्वय गरिरहेको हो, बुझ्न सकिएको छैन।’
अहिले नेपाली सेना, विद्युत् आयोजनाका प्राविधिक तथा अन्य उद्धार टोली सुरुङभित्र पहुँच पुर्याउने र फसेकाहरूलाई बाहिर निकाल्ने प्रयासमा केन्द्रित छन्। सुरुङको प्रवेशद्वार खुल्नेबित्तिकै खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिने तयारी गरिएको छ।












प्रतिक्रिया