सरकारले समन्वय नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद « Khabarhub

सरकारले समन्वय नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार दिनपछि रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग संवाद थालेका छन्।

उनले आइतबार टेलिफोन संवाद गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय सरकारसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित स्थानीय तहका अध्यक्षहरूसँग लामिछानेले आइतबार रास्वपाको केन्द्रीय कार्यालयबाट टेलिफोन संवाद गरेका हुन्।

केन्द्रीय तहका नेताहरूलाई समेत सँगै राखेर गरिएको संवादमा उनले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहतको अवस्था र स्थानीय तहले भोगिरहेका समस्या तथा आवश्यकताबारे जानकारी लिएका थिए।

संवादका क्रममा स्थानीय जनप्रतिनिधिहरूले सडक, विद्युत्, शव व्यवस्थापन, सुरुङमा फसेकाहरूको उद्धार, खाद्यान्न तथा आवासलगायतका समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्।

गोसाईकुण्ड गाउँपालिका रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनर्स्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने बताएका छन्।

उनले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभाव रहेको भन्दै तत्काल व्यवस्था गर्न माग गरे। विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउनुपर्नेमा पनि उनले जोड दिए।

आमाछोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि तत्काल थप उपाय अपनाउनुपर्ने बताए। सीमित मात्रामा भए पनि जेनेरेटरको व्यवस्था गरेर विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको माग थियो।

कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल जोड्नुपर्ने बताए। बाढीपछि तातो खाना पकाउन आवश्यक ग्यासको पूर्ण अभाव रहेको भन्दै उनले तत्काल एक हजार ग्यास सिलिन्डर व्यवस्था गर्न माग गरे। विद्युत् प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम तत्काल सुरु गर्नुपर्ने उनले बताए ।

देवकोटाले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी हुन नसकेको गुनासोसमेत गरेका थिए।

उत्तरगया गाउँपालिका रसुवाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्याका रूपमा प्रस्तुत गरे। उद्धारमा सुरक्षाकर्मीहरू खटिएका कारण नियमित जनसुरक्षाका काम प्रभावित भएको र सुरक्षा प्रत्याभूति हुन नसकेको भन्दै उनले थप सुरक्षाकर्मी परिचालन गर्न माग गरे।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न कठिनाइ भइरहेको जानकारी पनि लामिछानेलाई गराए।

त्यस्तै, धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले कम्तीमा १०० वटा टेन्ट आवश्यक रहेको भन्दै विस्थापितका लागि तत्काल वैकल्पिक आवासको व्यवस्था गर्न माग गरे।

सरकारसँग समन्वय गर्ने रविको प्रतिबद्धता

स्थानीय तहका अध्यक्षहरूले उठाएका समस्या र आवश्यकताबारे जानकारी लिएपछि रास्वपा सभापति लामिछानेले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले जनप्रतिनिधिहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित मन्त्रालय तथा निकायसँग छलफल गरी समस्याको यथाशीघ्र समाधानका लागि पहल गर्ने बताएका छन्।

रास्वपाका अनुसार लामिछानेले संवादलगत्तै विभिन्न मन्त्रीहरूसँग समन्वयको प्रक्रिया अघि बढाएका छन्। बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

सडक, विद्युत्, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत चुनौती देखिएको छ। स्थानीय तहहरूले तत्काल सडक खुलाउने, विद्युत् पुनःस्थापना गर्ने, शव व्यवस्थापन गर्ने र विस्थापितलाई अस्थायी आवास उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्न माग गरिरहेका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : १६ बजे

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि