काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजाँदा विश्व क्रिकेटको इतिहास भने अनेकौँ सफलतासँगै ठूला विवादहरूले पनि घेरिएको देखिन्छ। क्रिकेटको सबैभन्दा लामो र परम्परागत स्वरूप ‘टेस्ट क्रिकेट’को इतिहासमा मैदानभित्रको खेल मात्र होइन, कयौँ घटनाले राजनीतिक र कूटनीतिक हलचल नै ल्याइदिएका छन्।
भर्खरै ‘स्यान्डपेपरगेट’ (बल टेम्परिङ) काण्डको आठ वर्ष पूरा भएको सन्दर्भमा टेस्ट क्रिकेट इतिहासका सबैभन्दा चर्चित र प्रभाव पार्ने विवाद:
१. बडीलाइन सिरिज (१९३२–३३): अस्ट्रेलियाका महान् ब्याट्सम्यान डन ब्याडम्यानलाई रोक्न बेलायती कप्तान डगलस जार्डिनले रणनीतिक रूपमा तीव्र बलरसमेत रहेका ह्यारोल्ड लारवुड र बिल भोसलाई अस्ट्रेलियाली ब्याट्सम्यानको शरीरलाई नै लक्षित गरी बल फाल्न लगाएका थिए। त्यस समय सुरक्षात्मक उपकरणको अभावमा ब्याट्सम्यानहरू गम्भीर घाइते भए। यो घटनाले दुई देशबीच कूटनीतिक तनाव उत्पन्न गराएको थियो भने पछि क्रिकेटको नियम नै संशोधन गर्नुपरेको थियो।
२. हान्सी क्रोन्ये र म्याच फिक्सिङ (२०००): दक्षिण अफ्रिकाका कप्तान हान्सी क्रोन्ये भारतीय बुकीहरूसँग म्याच फिक्सिङमा संलग्न रहेको खुलासा दिल्ली प्रहरीको फोन ट्यापिङबाट भएको थियो। क्रिकेट जगत्लाई स्तब्ध बनाएको यस काण्डपछि क्रोन्येमाथि आजीवन प्रतिबन्ध लगाइयो र आईसीसीले भ्रष्टाचार निवारण संयन्त्र स्थापना गर्यो।
३. लर्ड्समा पाकिस्तानको स्पट फिक्सिङ (२०१०): बेलायती पत्रिकाको ‘स्टिङ अपरेसन’मा पाकिस्तानी बलरहरू मोहम्मद आमिर र मोहम्मद आसिफले लर्ड्स टेस्टका क्रममा जानाजानी नो-बल फेलेको दृश्य सार्वजनिक भएको थियो। यस काण्डमा कप्तान सलमान बटसहित उनीहरूले प्रतिबन्ध र जेल सजाय भोगे।
४. स्यान्डपेपरगेट काण्ड (२०१८): दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अस्ट्रेलियाका क्यामरुन ब्यानक्रोफ्टले बल बिगार्नका लागि स्यान्डपेपर प्रयोग गरेको क्यामेरामा कैद भएको थियो। कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरको निर्देशनमा भएको यो घटनापछि उनीहरूमाथि लामो प्रतिबन्ध लगाइएको थियो।
५. ओभल टेस्ट परित्याग (२००६): इङ्गल्यान्डविरुद्धको चौथो टेस्टमा अम्पायरहरूले बल टेम्परिङको आरोपमा पाकिस्तानमाथि चार रनको जरिबाना लगाएपछि विरोधस्वरूप पाकिस्तानी टोली मैदान प्रवेश गर्न अस्वीकार गरेको थियो। टेस्ट क्रिकेटको इतिहासमा अम्पायरले विपक्षी टोलीलाई विजयी घोषणा गरेको यो पहिलो घटना थियो।














प्रतिक्रिया