काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टीका केन्द्रीय सदस्यहरू टोली बनाएर पालिका पुग्नेछन् ।अभियानमार्फत नागरिकका गुनासा र सुझाव सुन्नुका साथै रास्वपाका नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउने तयारी गरिएको छ ।
रास्वपाले स्थानीय तहमा कस्ता व्यक्ति उम्मेदवार बन्न सक्ने र उम्मेदवार छनोट प्रक्रिया कसरी अघि बढाइने भन्ने विषयमा पनि नागरिकलाई जानकारी दिने जनाएको छ । पार्टीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’सहित पूर्ण लोकतान्त्रिक प्रक्रियाबाट स्थानीय तहका उम्मेदवार छनोट गर्ने बताएको छ ।
त्यस्तै, वर्तमान सरकार गठन भएको ६ महिनामा संसद् र सरकारमार्फत भएका काम तथा पहलका विषयमा पनि पालिकास्तरमै जानकारी गराइनेछ । रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियान नागरिकका कुरा सुन्ने मात्र नभई पार्टीका कुरा पनि नागरिकसम्म पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।














प्रतिक्रिया