काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए पनि निगमले उपभोक्तालाई थप भार नपार्ने भन्दै हालकै मूल्य कायम राखेको हो ।
निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर करिब २० रुपैयाँले बढेर आएको छ । तर, हालैको बाढीपहिरोले पारेको असर, नजिकिँदै गरेको चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो ।
निगमका अनुसार नयाँ मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि यथावत् राखिएको छ। उपभोक्ताले अब एक सिलिन्डर ग्यासका लागि २ हजार ६० रुपैयाँ नै तिर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय बजार तथा भारतबाट प्राप्त खरिद मूल्यमा वृद्धि भए पनि नेपालमा बिक्री मूल्य नबढाउँदा निगममाथि थप आर्थिक भार पर्ने भएको छ । निगमका अनुसार पछिल्लो मूल्य समायोजन नगर्दा १५ दिनमा मात्रै करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
निगमले उपभोक्तामाथि तत्काल मूल्यवृद्धिको भार नपार्ने निर्णय गरे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा खरिद मूल्यमा हुने परिवर्तनले आगामी दिनमा मूल्य समायोजनको अवस्था सिर्जना हुन सक्ने जनाएको छ ।














प्रतिक्रिया