वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा अग्रिम मतदान गर्नेको सङ्ख्या चार करोड ३० लाख नाघेको छ ।
बीबीसीका अनुसार फ्लोरिडा विश्वविद्यालयको इलेक्सन ल्याबको तथ्याङ्कमा दैनिक ४० देखि ५० लाख अमेरिकी नागरिकले अग्रिम मतदान गरिरहेका छन् । यो सङ्ख्या पछिल्ला अधिकांश निर्वाचनको तुलनामा उच्च हो ।
इलेक्सन ल्याबको तथ्याङ्क व्यवस्थापन गर्ने प्राध्यापक माइक म्याकडोनाल्डका अनुसार टेक्ससमा औसतभन्दा धेरै मतदान भएको छ । त्यहाँ हिस्पानिक समुदायका मतदाताको सहभागितासमेत उल्लेख्य रूपमा बढेको छ ।
यसपटकको कुल मतदान सन् २०२० र सन् २०१८ को मध्यावधि निर्वाचनको सङ्ख्याभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । सन् २०१८ मा भएको मध्यावधि निर्वाचनमा सन् १९१४ पछिकै उच्च मतदान भएको थियो ।
म्याकडोनाल्डका अनुसार टेक्ससमा सन् २०२२ को मध्यावधि निर्वाचनको तुलनामा अहिलेसम्म करिब १७ लाख ५० हजार बढी मत खसिसकेको छ । उक्त राज्यमा ५८ लाखभन्दा बढी मतपत्र सङ्कलन भइसकेका छन् ।
टेक्सस यसपटकको निर्वाचनमा महत्त्वपूर्ण राज्यका रूपमा देखिएको छ । त्यहाँको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी अवधिमा अमेरिकी सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्न सक्नेछ ।
राजनीतिक दलको आबद्धता खुलाउनुपर्ने व्यवस्था भएका राज्यका तथ्याङ्कले डेमोक्रेटिक पार्टीका मतदाताको अग्रिम मतदान बढेको देखाएका छन् । रिपब्लिकन पार्टीका मतदाताको अग्रिम मतदान भने सन् २०२२ कै हाराहारीमा रहेको छ ।
म्याकडोनाल्डका अनुसार कुनै पनि राजनीतिक दलमा आबद्धता नजनाएका मतदाताको अग्रिम मतदान पनि बढेको छ । यद्यपि, यी तथ्याङ्कले उनीहरूले कुन उम्मेदवारलाई मतदान गरे भन्ने खुलाउँदैनन् ।
बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार अग्रिम मतदानमध्ये ४४ प्रतिशत डेमोक्रेटिक पार्टीका मतदाताले गरेका छन् । त्यस्तै, रिपब्लिकन पार्टीका मतदाताले ३१ दशमलव २ प्रतिशत र कुनै पनि राजनीतिक दलमा आबद्धता नजनाएका मतदाताले २४ दशमलव ७ प्रतिशत मतदान गरेका छन् ।
तर, यी तथ्याङ्क राजनीतिक दलको आबद्धता खुलाउनुपर्ने व्यवस्था भएका करिब आधा राज्यका मात्र हुन् ।














प्रतिक्रिया