निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना « Khabarhub

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो गठबन्धनले बहुमत गुमाएपछि विदेशी हस्तक्षेपको आरोप लगाएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना गरेका छन् ।

बीबीसीका अनुसार नेतान्याहुको दल लिकुडले इजरायलका अरब नेतृत्वका दलहरूमाथि निर्वाचन ‘चोरी’ गरेको आरोप लगाएको छ । कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त भएको आशङ्कामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान गरिरहेको छ ।

तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भन्दै खण्डन गरेको छ । कतारले आफूविरुद्ध गलत सूचना फैलाउने अभियान चलाइएको आरोपसमेत लगाएको छ ।

अन्तिम निर्वाचन परिणामअनुसार नेतान्याहुको गठबन्धन र यहुदी विपक्षी गठबन्धन दुवैले संसद्मा बहुमत प्राप्त गर्न सकेका छैनन् । १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा अरब नेतृत्वका दुई दलको गठबन्धन जोइन्ट लिस्ट र रामले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै १९ सिट जितेका छन् ।

अरब मतदाताको उल्लेख्य सहभागिताका कारण ती दलले अहिलेसम्मकै सबैभन्दा बढी सिट प्राप्त गरेका हुन् । निर्वाचन परिणामअनुसार नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट जितेको छ । यस्तो अवस्थामा सरकार गठनका लागि अरब नेतृत्वका दल निर्णायक बन्न सक्ने देखिएको छ ।

बिहीबार लिकुडले अरब दललाई मतदान गर्न मतदातालाई प्रलोभन दिइएको आरोप लगाएको थियो । यसअघि केन्द्रीय निर्वाचन समितिका प्रमुखले विदेशी हस्तक्षेपको गम्भीर आशङ्काबारे अनुसन्धान गर्न शिन बेटलाई आग्रह गरेका थिए ।

यद्यपि, दुवै अरब दलले आरोप अस्वीकार गरेका छन् । जोइन्ट लिस्टले आरोपलाई आधारहीन भनेको छ ।

निर्वाचन परिणामलाई बदनाम गर्ने प्रयासमार्फत अरब दलसँग सहकार्य गर्ने विपक्षी गठबन्धनको सम्भावना रोक्न खोजिएको नेतान्याहुका आलोचकहरूको आरोप छ । आइसेनकोटको गठबन्धनसँग सरकार गठनका लागि अरब नेतृत्वका दलसँग सहकार्य गर्नु नै अहिलेको प्रमुख विकल्प देखिएको छ ।

अनुसन्धानबारे जानकारी पाएका आइसेनकोटले घटनाबारे निष्कर्षमा पुग्न हतार गर्न नहुने बताएका छन् । उनले नेतान्याहुमाथि निर्वाचन परिणामको वैधतामाथि प्रश्न उठाउन योजनाबद्ध अभियान सञ्चालन गरेको आरोप लगाएका छन् ।

जोइन्ट लिस्टमा आबद्ध बालाद पार्टीका अध्यक्ष सामी अबु शेहादेहले पनि आरोप अस्वीकार गर्दै पराजित पक्षले जातिवादी आरोप लगाएर निर्वाचन परिणाम उल्ट्याउन सुरक्षा निकायलाई प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् ।

यसैबीच, शिन बेटले आफ्नो अनुसन्धानले कानुनी रूपमा मतदान गरेका सम्पूर्ण अरब समुदायलाई आरोपित नगरेको स्पष्ट पारेको छ । कार्यवाहक केन्द्रीय निर्वाचन समितिका महानिर्देशक डिन लिभ्नेले पनि निर्वाचनको निष्पक्षतामाथि व्यवस्थित रूपमा उल्लङ्घन भएको आरोप पुष्टि गर्ने आधार नरहेको बताए ।

निर्वाचनका क्रममा नेतान्याहुले अरब मतदाताको बढ्दो सहभागितालाई दक्षिणपन्थी गठबन्धनका लागि ‘आपत्कालीन अवस्था’ भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका थिए । उनले दक्षिणपन्थी मतदातालाई मतदानमा सहभागी गराउन अरब मतदाताले मतदान गरिरहेको देखाउने कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका तस्बिरसमेत सार्वजनिक गरेका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ९ : ०७ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा