जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो गठबन्धनले बहुमत गुमाएपछि विदेशी हस्तक्षेपको आरोप लगाएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना गरेका छन् ।
बीबीसीका अनुसार नेतान्याहुको दल लिकुडले इजरायलका अरब नेतृत्वका दलहरूमाथि निर्वाचन ‘चोरी’ गरेको आरोप लगाएको छ । कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त भएको आशङ्कामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान गरिरहेको छ ।
तर, कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भन्दै खण्डन गरेको छ । कतारले आफूविरुद्ध गलत सूचना फैलाउने अभियान चलाइएको आरोपसमेत लगाएको छ ।
अन्तिम निर्वाचन परिणामअनुसार नेतान्याहुको गठबन्धन र यहुदी विपक्षी गठबन्धन दुवैले संसद्मा बहुमत प्राप्त गर्न सकेका छैनन् । १२० सदस्यीय इजरायली संसद् (नेसेट) मा अरब नेतृत्वका दुई दलको गठबन्धन जोइन्ट लिस्ट र रामले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै १९ सिट जितेका छन् ।
अरब मतदाताको उल्लेख्य सहभागिताका कारण ती दलले अहिलेसम्मकै सबैभन्दा बढी सिट प्राप्त गरेका हुन् । निर्वाचन परिणामअनुसार नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट जितेको छ । यस्तो अवस्थामा सरकार गठनका लागि अरब नेतृत्वका दल निर्णायक बन्न सक्ने देखिएको छ ।
बिहीबार लिकुडले अरब दललाई मतदान गर्न मतदातालाई प्रलोभन दिइएको आरोप लगाएको थियो । यसअघि केन्द्रीय निर्वाचन समितिका प्रमुखले विदेशी हस्तक्षेपको गम्भीर आशङ्काबारे अनुसन्धान गर्न शिन बेटलाई आग्रह गरेका थिए ।
यद्यपि, दुवै अरब दलले आरोप अस्वीकार गरेका छन् । जोइन्ट लिस्टले आरोपलाई आधारहीन भनेको छ ।
निर्वाचन परिणामलाई बदनाम गर्ने प्रयासमार्फत अरब दलसँग सहकार्य गर्ने विपक्षी गठबन्धनको सम्भावना रोक्न खोजिएको नेतान्याहुका आलोचकहरूको आरोप छ । आइसेनकोटको गठबन्धनसँग सरकार गठनका लागि अरब नेतृत्वका दलसँग सहकार्य गर्नु नै अहिलेको प्रमुख विकल्प देखिएको छ ।
अनुसन्धानबारे जानकारी पाएका आइसेनकोटले घटनाबारे निष्कर्षमा पुग्न हतार गर्न नहुने बताएका छन् । उनले नेतान्याहुमाथि निर्वाचन परिणामको वैधतामाथि प्रश्न उठाउन योजनाबद्ध अभियान सञ्चालन गरेको आरोप लगाएका छन् ।
जोइन्ट लिस्टमा आबद्ध बालाद पार्टीका अध्यक्ष सामी अबु शेहादेहले पनि आरोप अस्वीकार गर्दै पराजित पक्षले जातिवादी आरोप लगाएर निर्वाचन परिणाम उल्ट्याउन सुरक्षा निकायलाई प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् ।
यसैबीच, शिन बेटले आफ्नो अनुसन्धानले कानुनी रूपमा मतदान गरेका सम्पूर्ण अरब समुदायलाई आरोपित नगरेको स्पष्ट पारेको छ । कार्यवाहक केन्द्रीय निर्वाचन समितिका महानिर्देशक डिन लिभ्नेले पनि निर्वाचनको निष्पक्षतामाथि व्यवस्थित रूपमा उल्लङ्घन भएको आरोप पुष्टि गर्ने आधार नरहेको बताए ।
निर्वाचनका क्रममा नेतान्याहुले अरब मतदाताको बढ्दो सहभागितालाई दक्षिणपन्थी गठबन्धनका लागि ‘आपत्कालीन अवस्था’ भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका थिए । उनले दक्षिणपन्थी मतदातालाई मतदानमा सहभागी गराउन अरब मतदाताले मतदान गरिरहेको देखाउने कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका तस्बिरसमेत सार्वजनिक गरेका थिए।














प्रतिक्रिया