सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७, कसहाका ५५ वर्षीय राजेन्द्र पण्डितले पनि पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै जीवन बिताएका छन् ।
उनका छोराछोरीले समेत यही सीप सिकेका छन् । तर बजारमा तयारी सामग्री (रेडिमेड) को प्रयोग बढ्दै जाँदा पुस्तौँदेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा नै संकटमा पर्ने चिन्ता उनलाई छ ।

दसैँ सकिएसँगै दीपावली र छठ पर्वका लागि माटाका भाँडा तथा पूजासामग्री बनाउन कुम्हाल समुदायलाई भ्याइनभ्याइ छ । बिहानदेखि बेलुकासम्म परिवारका सबै सदस्य माटाका सामग्री बनाउन व्यस्त छन् । परिवारका कसैले माटो खन्ने र तयार पार्ने काम गर्छन् भने कसैले मेसिन र हातको सहायताले विभिन्न आकारका भाँडा बनाउँछन् ।
चाडपर्व नजिकिएसँगै उत्पादन बढाउनुपर्ने भए पनि मेहनतअनुसारको मूल्य नपाउँदा उनीहरू आफ्नो पेसाको भविष्यप्रति चिन्तित छन् ।

राजेन्द्रका अनुसार पछिल्लो समय माटोदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्य बढेको छ । तर आफूहरूले मेहनत गरेर बनाएका माटाका सामग्रीको मूल्य भने बढ्न सकेको छैन ।
‘सबै सामग्री मिलाएर एउटा सेटको एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । त्यसमा लागत नै ६० देखि ७० रुपैयाँ लाग्छ । यही पेसाबाट परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । तर रेडिमेड सामग्रीको प्रयोग बढ्दै जाँदा हाम्रो पेसा संकटमा परेको छ,’ उनले चिन्ता व्यक्त गरे।
सोही वडाका उपेन्द्र पण्डित पनि पुस्तौँदेखि माटाका भाँडा बनाउने पेसामा संलग्न छन्। मेहनतअनुसार आम्दानी नहुँदा परिवार पाल्न र आर्थिक अवस्था सुधार्न कठिन भइरहेको उनी बताउँछन्। अर्को पेसामा जाने सीप र अवसर नहुँदा पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिन बाध्य भएको उनको भनाइ छ ।

‘पहिला बुवा–बाजेले माटाका भाँडा बनाएर पहिलो सिजनमै खेत किन्न सक्नुहुन्थ्यो । अहिले हामी वर्षभरि मेहनत गर्दा पनि एक कठ्ठा जग्गा किन्न सक्ने अवस्था छैन । वर्षभरि कमाएको पैसा परिवारको जीविकोपार्जन र छोराछोरीको पढाइलेखाइमै सकिन्छ,’ उपेन्द्रले भने।
हरेक वस्तुको मूल्य बढे पनि माटाका सामग्रीको मूल्य नबढ्नु आफूहरूका लागि ठूलो समस्या भएको उनको भनाइ छ । पेसाको संरक्षण र सहज जीविकोपार्जनका लागि आवश्यक वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरे।
कुम्हाल समुदायको पेसा र चाडपर्वबीचको सम्बन्ध नयाँ पुस्तासँग पनि जोडिएको छ । चाडपर्वका बेला विद्यालय बिदा हुँदा कतिपय बालबालिका आफ्ना बुवा–आमालाई माटाका सामग्री बनाउन सघाउँछन् ।
कक्षा ३ मा अध्ययनरत अनिषकुमार पण्डित पनि विद्यालय बिदाको समयमा अभिभावकलाई काममा सघाइरहेका छन् । ‘विद्यालय बिदा भएकाले बुवा–आमालाई काममा सघाइरहेको छु । उनीहरूले वर्षौँदेखि यही पेसा गरेर हामीलाई पढाउँदै आउनुभएको छ । त्यसैले हामी पनि काममा सहयोग गर्छौँ,’ अनिषले भने।

स्थानीय अर्जुन पण्डितले माटाका सामग्रीको उचित मूल्य निर्धारण हुनुपर्ने आवश्यकता औँल्याए । उत्पादकबीच एकता र व्यवस्थित बजारको अभावले पनि यो पेसा संकटमा परेको उनको भनाइ छ । एकातिर उत्पादकबीच सहकार्य कमजोर छ भने अर्कोतिर बजारमा रेडिमेड सामग्रीको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा परम्परागत पेसालाई टिकाइराख्न कठिन भइरहेको उनले बताए।

आधुनिक सामग्रीको प्रयोग बढे पनि धार्मिक तथा सांस्कृतिक परम्परामा माटाका भाँडाको महत्त्व अझै कायम छ । विशेषगरी दीपावली र छठमा पूजापाठका लागि माटाका सामग्री प्रयोग गर्ने चलनले यो पेसालाई केही हदसम्म निरन्तरता दिएको छ ।
सिरहा नगरपालिका–११ का ब्रहमदेव पण्डितका अनुसार दीपावली र छठजस्ता पर्वमा माटाका सामग्रीको विशेष महत्त्व हुन्छ । भक्तजनले पूजामा प्रयोग गर्ने सामग्री छनोट गर्दा परम्परागत माटाका भाँडालाई प्राथमिकता दिने गरेको उनी बताउँछन्।

कुम्हाल समुदायका लागि माटो भाँडा बनाउने कच्चा पदार्थ मात्र होइन, पुस्तौँदेखि परिवारको जीविकोपार्जन, संस्कृति र पहिचानसँग जोडिएको आधार पनि हो । तर बढ्दो उत्पादन लागत, उचित मूल्यको अभाव र रेडिमेड सामग्रीसँगको प्रतिस्पर्धाले यो परम्परागत पेसा संकटमा पर्दै गएको उनीहरूको गुनासो छ ।
स्थानीय कुम्हाल समुदायले माटाका सामग्रीको उचित मूल्य निर्धारण, उत्पादन तथा बजारीकरणमा सहयोग, आवश्यक तालिम र परम्परागत सीप संरक्षणका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।



















प्रतिक्रिया