मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह « Khabarhub

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ ।  गत आर्थिक वर्ष २०८२-८३ मा बैंक तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह गरेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मधेस प्रदेशका आठ जिल्लामध्ये धनुषामा एक अर्ब दुई करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको छ ।  

प्रतिवेदनअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । आर्थिक वर्ष २०८२-८३ मा प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ । 

 त्यस्तै, सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । यस अवधिमा मधेस प्रदेशको प्रतिव्यक्ति जिडिपी अमेरिकी डलर ९३४ रहने अनुमान गरिएको छ । 

कृषि उत्पादनतर्फ मधेस प्रदेशमा फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीले ओगटेको क्षेत्रफल ४.४६ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल भने ४.४७ प्रतिशत र तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । 

उत्पादनतर्फ तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत तथा मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको छ । 

पशुजन्य उत्पादनतर्फ मासु र अन्डा उत्पादनमा क्रमशः १०.१९ र ३.११ प्रतिशत वृद्धि भएको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ । माछा उत्पादनमा ५.०५ प्रतिशत वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

कृषि, माछापालन तथा वन क्षेत्रमा पनि उल्लेख्य कर्जा प्रवाह भएको छ ।  २०८३ असार मसान्तसम्म मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा रु ५९ अर्ब ८६ करोड ९० लाख कर्जा प्रवाह भएको छ । यो प्रदेशमा प्रवाह भएको कूल कर्जाको १२.१० प्रतिशत हो । 

औद्योगिक क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले वृद्धि भई रु एक खर्ब २८ अर्ब ९७ करोड पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा रु एक खर्ब २८ अर्ब नौ करोड रहेको थियो । अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

घरजग्गा कारोबारतर्फ मधेस प्रदेशमा गत आर्थिक वर्ष एक लाख १६ हजार २०७ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन् । यसबाट रु तीन अर्ब २२ करोड राजस्व संकलन भएको छ । 

बैंकिङ क्षेत्रको वित्तीय अवस्थातर्फ २०८३ असार मसान्तसम्म मधेस प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ ।  सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर रु चार खर्ब ९४ अर्ब ९५ करोड कायम भएको छ । 

पूर्वाधार विकासतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम यस प्रदेशसँग सम्बन्धित प्रमुख आयोजना हुन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ । 

यसैबीच, वैदेशिक रोजगारीका लागि मधेस प्रदेशबाट श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२-८३ मा प्रदेशका एक लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभरबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो । 

राष्ट्र बैंकको अध्ययनले मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको उच्च योगदान, बैंकिङ कर्जा तथा निक्षेपको अवस्था, औद्योगिक गतिविधि, घरजग्गा कारोबार र वैदेशिक रोजगारीको प्रवृत्तिलाई उजागर गरेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १२ : ३६ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै