काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सञ्चारगृहमाथि छापा मार्ने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारी गतिविधिप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता आचार्यले सञ्चारमाध्यममाथिको हस्तक्षेपलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको संज्ञा दिएका छन्। सरकारले सञ्चारगृहमा छापा मार्ने, सञ्चारकर्मीलाई पक्राउ गर्ने तथा समाजमा भय र त्रासको वातावरण सिर्जना गर्ने काम गरिरहेको भन्दै उनले त्यसको चर्को निन्दा गरेका छन्।
प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको आधारस्तम्भ बताउँदै उनले सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र समग्र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको बताएका छन्। राज्यका निकायहरू कानूनको शासनको मर्यादाभित्र रहनुपर्नेमा सरकारले नै कानून र लोकतान्त्रिक मान्यताविपरीत व्यवहार देखाउनु गम्भीर चिन्ताको विषय भएको उनको ठहर छ।
“कानूनको शासनको नाममा कानूनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन,” आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सञ्चारमाध्यममाथि भइरहेका गैरकानूनी हस्तक्षेप र सञ्चारकर्मीमाथिको धरपकड तत्काल रोक्न माग गरेका छन्। साथै, सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकारको सम्मान गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग जोडदार आग्रह गरेका छन्। सरकारको यसप्रकारको कदम दमनकारी र निरङ्कुश रहेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनको रक्षाका लागि एकजुट भई आवाज उठाउन सबैलाई आह्वान समेत गरेका छन्।














प्रतिक्रिया