काठमाडौं- नर्वेमा हालै सम्पन्न एक सैन्य अभ्यासका क्रममा प्रयोग गरिएका चिनियाँ निर्मित गाडीहरूले त्यहाँका संवेदनशील सैन्य सूचना संकलन गरी दृश्यहरू समेत क्यामेरामा कैद गरेको फेला परेको छ। ओस्लो विमानस्थलमा सञ्चालित सुरक्षा अभ्यासका क्रममा गाडीभित्र रहेका सैनिकहरूले अन-बोर्ड क्यामेराले खिचेका भिडियोहरू कन्ट्रोल स्क्रिनमा देखेका थिए ।
स्थानीय सञ्चारमाध्यम डागेन्स नेरिङ्सलिभका अनुसार सैनिकहरू चढेका भाडाका गाडीहरूले सैन्य परिसरका ढोका खोल्न प्रयोग गरिएका गोप्य कोड, अधिकारीहरूको आवतजावत र प्रयोग गरिएका मार्गहरू समेत रेकर्ड गरेका थिए । ती गाडीहरू चिनियाँ सरकारी स्वामित्वको चाङ्गान अटोमोबाइलद्वारा निर्मित दिपल ब्रान्डका थिए । उक्त गाडीहरू जिली समूहको अप्रत्यक्ष स्वामित्वमा रहेको हर्ट्ज नोर्गे नामक रेन्टल कम्पनीमार्फत सेनालाई उपलब्ध गराइएका थिए ।
नर्वेजीय होम गार्डका प्रवक्ता लेफ्टिनेन्ट कर्नल पेर गुन्नार ग्रोसबर्गहाउगेनले गाडीका सेन्सरहरूले भिडियो रेकर्ड गरी सिस्टममा भण्डारण गरेको पुष्टि गरेका छन् । उक्त तथ्याङ्कहरू चीन वा अन्य कुनै बाह्य पक्षलाई पठाइयो वा पठाइएन भन्ने स्पष्ट नभए पनि त्यसो भएको हुन सक्ने सम्भावनालाई उनले अस्वीकार भने गरेका छैनन् । यद्यपि, तत्काल अन्य विकल्प नभएका कारण सेनाले अभ्यासको अन्त्यसम्म तिनै गाडीहरू प्रयोग गरेको र भिडियोहरू डिलेट गरेको जनाएको छ।
नर्वेजीय सेनाले सबै चिनियाँ गाडीमा पूर्ण प्रतिबन्ध लगाउनुको साटो हरेक सैन्य स्थलको संवेदनशीलताका आधारमा क्यामेरा र सेन्सर जडान भएका गाडीहरूलाई प्रवेशमा रोक लगाउने रणनीति अपनाउने बताएको छ। अर्कोतर्फ, हर्ट्ज नोर्गेका बजारीकरण निर्देशक हाल्भार्ड नेर्बोभिकले ग्राहकहरूको डाटा सुरक्षित रहेको र कानुनी आधारविना कुनै पनि व्यक्तिगत डाटा कार निर्माता वा तेस्रो पक्षलाई नदिइएको स्पष्ट पारेका छन्। चाङ्गान ग्रुपले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।














प्रतिक्रिया