दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च जुटाउनुपर्ने बाध्यताका कारण दाङका किसानले सरकारले तोकेको समर्थन मूल्यभन्दा सस्तोमा धान बिक्री गरिरहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । तर, स्थानीय व्यापारीले उक्त मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि ६०० रुपैयाँसम्म कम मूल्यमा धान खरिद गरिरहेको किसानले बताएका छन् ।
दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी किसान माइली चौधरीका अनुसार गाउँका किसानले प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले धान बिक्री गरिरहेका छन् । धान उत्पादन राम्रो भए पनि भण्डारण गर्ने ठाउँको अभाव र तिहारको खर्च जुटाउनुपर्ने भएकाले सस्तोमा बेच्नुपरेको उनले बताइन्।
‘यस वर्ष धान प्रशस्त फलेको छ । खाद्यले उत्पादित धान कहिल्यै खरिद गर्दैन, घरमा भण्डारण गर्ने ठाउँ पनि छैन । तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले बिक्री गरिरहेका छौँ,’ उनले भनिन्।
स्थानीय सरकारले चासो नदिँदा किसान सस्तो मूल्यमा धान बेच्न बाध्य भएको सोही गाउँका नवीन अधिकारीले बताए। उनका अनुसार अर्नब चक्रवातका कारण मौसम प्रतिकूल हुने देखिएपछि धेरै किसानले बिहीबार रातभरि थ्रेसर लगाएर धान तयार गरी खेतबाटै प्रतिक्विन्टल तीन हजार १०० रुपैयाँका दरले व्यापारीलाई बिक्री गरेका छन् ।
वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको धान घाटा खाएर बेच्नुपरेको उनको गुनासो छ । अधिकांश मध्यम तथा निम्न आय भएका किसानले चाडपर्वको खर्च जुटाउन भर्खरै भित्र्याएको धान सस्तो मूल्यमा बिक्री गरिरहेको उनले बताए।
सरकारले धानको समर्थन मूल्य निर्धारण गरे पनि व्यापारीले आफूखुसी मूल्य कायम गर्दा किसान मर्कामा परेको उनको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा भने अहिलेसम्म नतोकिएको जानकारी दिनुभयो । केन्द्रबाट कोटा निर्धारण भएको पत्र प्राप्त भएपछि धान खरिद सुरु गरिने उनले बताए।
गत वर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको उल्लेख गर्दै उहाँले यस वर्ष पनि कोटा थोरै निर्धारण भए सबै पालिकामा पुगेर खरिद गर्न कठिन हुने बताए।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार दाङमा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती गरिएको छ ।
यसैबीच, बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि खेतमा काटेर राखिएको धान नोक्सान हुने चिन्तामा किसान छन् । केही दिनयता किसानले धान काट्ने र सुरक्षित स्थानमा राख्ने काम गरिरहेका छन् । तर, सबै क्षेत्रमा धान भित्र्याउने काम सम्पन्न भएको छैन । जिल्लामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ ।














प्रतिक्रिया