काठमाडौं- अमेरिकामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने उद्देश्यले चीनले इरान समर्थित हुथी विद्रोहीलाई सहयोग पुर्याइरहेको खुलासा भएको छ । हतियार अनुगमन गर्ने बेलायतस्थित अनुसन्धान संस्था ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’ (सीएआर) का अनुसार हुथी विद्रोहीहरूले चिनियाँ कम्पोनेन्ट (पुर्जा) हरूको प्रयोग गरी मध्यमसम्मको दूरीमा प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र निर्माणको प्रयास गरिरहेका छन्
विद्रोहीहरूले इरानी डिजाइनको ‘खैबर शेकान’ शृङ्खलाका क्षेप्यास्त्रहरू आफैँ उत्पादन गर्न खोजेका हुन् । यसको प्रहार क्षमता १,००० किलोमिटर (६२० माइल) भन्दा बढी हुन्छ।
यमनमा फेला परेका हतियारमा चिनियाँ आपूर्तिकर्ताका कागजातसहित कस्टम-मेड पुर्जाहरू, कच्चा पदार्थ, मेसिनरी र परीक्षण उपकरणहरू फेला परेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रतिवेदन तथा हतियार विज्ञहरूका अनुसार हुथीका लागि पठाइएका नियन्त्रणमा लिइएका सामानहरूमा चिनियाँ कम्पनीहरूको उत्पादन सबैभन्दा बढी रहेको छ ।
यो घटनाले हुथीहरूको प्राविधिक क्षमतामा ठूलो फड्को मारेको र आफ्ना मुख्य संरक्षक इरानमाथिको निर्भरता घट्दै गएको सङ्केत गर्छ । सार्वजनिक रूपमा मध्यपूर्व र उत्तर अफ्रिकामा शान्तिको आह्वान गर्दै आएको चीनले दोहोरो भूमिका खेलिरहेको देखिन्छ । बेइजिङले एकातिर लाल सागरमा हुथी आक्रमण रोक्न इरानलाई कूटनीतिक दबाब दिएको दाबी गर्छ भने अर्कातिर विद्रोहीहरूलाई सैन्य र नागरिक दुवै प्रयोजनमा आउने ‘द्वि-उपयोगी’ (ड्युअल-युज) सामानहरू आपूर्ति गरिरहेको छ ।
रुस-युक्रेन युद्धमा रुसलाई सहयोग गरेझैँ, चीनले सामान्य व्यापारको बहानामा हतियार बनाउन प्रयोग हुने मेसिन, क्षेप्यास्त्रको इन्धनमा प्रयोग हुने रासायनिक मल, विशेष धातु र ड्रोनका इलेक्ट्रोनिक्स सामानहरू हुथीसम्म पुग्न दिएको छ । यसका साथै इरानलाई ड्रोनका पुर्जा र कच्चा तेल खरिद गरेर आर्थिक सहायता दिँदै चीनले इरान र हुथी दुवैलाई रणनीतिक बल पुर्याएको छ ।
विज्ञहरूका अनुसार हुथी र चीनबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा झनै प्रगाढ बनेको छ । हुथी विद्रोहीहरूले आफ्ना प्रतिनिधिहरूलाई चिनियाँ भाषा (मान्डरिन) सिक्न पठाएका छन् भने बदलामा लाल सागरमा चिनियाँ व्यापारिक जहाजहरूलाई सुरक्षित आउजाउको ग्यारेन्टी दिएका छन् । चीनका लागि यो सम्बन्ध रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ ।
यदि चीनले ताइवानमाथि आक्रमण गरेमा, हुथीहरूले लाल सागरको व्यापारिक मार्गमा अवरोध सिर्जना गरी अमेरिकी सैन्य ध्यान र स्रोतलाई इन्डो-प्यासिफिक क्षेत्रबाट मोड्न सक्ने सम्भावना रहन्छ । अमेरिकी परामर्शदाता निकाय ‘बाशा रिपोर्ट’ का संस्थापक मोहम्मद अल-बाशाका अनुसार चीनको यो कदमलाई महाशक्तिहरूबीचको प्रतिस्पर्धा र रणनीतिक अवसरवादको रूपमा बुझ्न सकिन्छ ।
आफ्नै प्रत्यक्ष सैन्य बल प्रयोग नगरीकनै कम खर्चमा अमेरिका र उसका क्षेत्रीय साझेदारहरूमाथि दबाब बढाउने माध्यमका रूपमा चीनले हुथी विद्रोहीलाई प्रयोग गरिरहेको छ । यद्यपि, हुथीहरूलाई सहयोग गरेर चीनले जोखिमपूर्ण खेल खेलिरहेको र यसले दीर्घकालीन रूपमा उसैलाई असर पार्न सक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् ।














प्रतिक्रिया