‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’ « Khabarhub

समाज विभाजित नगर्न गगन थापाको विशेष अनुरोध

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि पर्सा, धनुषा, सिराहालगायत तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवको ज्यान गएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाप्रति सरकारले देखाएको असंवेदनशीलता थप चिन्ताको विषय बनेको टिप्पणी गर्दै बारम्बार आश्वासन दिने तर प्रभावकारी कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

थापाले घटनाको निष्पक्ष, गहिरो र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्। “बलको दुरुपयोग गर्नेले त्यसको जिम्मेवारी लिनैपर्छ, आगजनी र हिंसामा संलग्न हुनेले पनि कानुनअनुसार सजाय पाउनुपर्छ,” उनले भनेका छन्।

यो विषय संघीय सरकारसँग मात्र नभई प्रदेश सरकारसँग पनि जोडिएकाले मधेश प्रदेशका मुख्यमन्त्रीसँग यसबारे छलफल भएको जानकारी दिँदै उनले प्रदेश सरकारलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट झुटा सूचना, भ्रम र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन अपिल गर्दै थापाले अफवाह फैलाएर समाज विभाजित नगर्न विशेष अनुरोध गरेका छन्। विशेष गरी सडकमा रहेका युवाहरूलाई संयमित भई नेतृत्वदायी र सकारात्मक भूमिका निर्वाह गर्न उनले आह्वान गरेका छन्।

“हिंसाको जवाफ हिंसाले होइन, कानुनी प्रक्रियाले दिनुपर्छ,” थापाले लेखेका छन्, “दोषीलाई कानुनले सजाय दिलाउने काम राज्यले गर्नुपर्छ। त्यसका लागि हामी सबैले शान्ति कायम राख्न सहयोग गर्नुपर्छ।”

आफ्नो स्वार्थ पूरा गर्न समुदायबीच फाटो ल्याउन खोज्ने तत्त्वहरूलाई समयमै चिनेर असफल बनाउनुपर्नेमा उनले जोड दिएका छन्। सबै धर्म र संस्कृतिले मानवता, करुणा र मेलमिलापको शिक्षा दिने उल्लेख गर्दै सामाजिक सद्भाव र आपसी विश्वास जोगाउनु अहिलेको मुख्य दायित्व भएको उनले बताएका छन्।

“कसैको घर-सम्पत्ति नजलोस्, हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्,” थापाले भनेका छन्, “आ-आफ्नो ठाउँबाट सबैले जिम्मेवारीपूर्वक काम गरौँ। सरकारले आफ्नो जिम्मेवारी पूरा गरोस्, नागरिकले पनि शान्ति कायम राख्न सहयोग गरौँ।”

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ५५ बजे

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला