काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः विश्वका अग्ला हिमालहरूको शिखरसम्म पुगेर टुंगिएको छ। त्यही हिमाल चुम्ने यात्राका क्रममा नेपाली पर्वतारोहण क्षेत्रका एक अनुभवी र साहसी आरोही पुरबहादुर गुरुङ ‘युक्त’ सधैंका लागि अस्ताएका छन्। उनलाई पाकिस्तानी हिमाल ब्रोड पिकले आफूमा समाहित गरेको छ।
पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार आएको हिमपहिरोमा बेपत्ता गोरखाका पुरबहादुर गुरुङको शव शुक्रबार भेटिएको हो ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ओमानकी पर्वतारोही नधिरा अहमद अब्दुल्लाह अल हार्थीसँगै गुरुङको पनि मृत्यु भएको जनाएको छ। उनी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ नेतृत्वको टोलीका वरिष्ठ माउन्टेन गाइड तथा मुख्य सहयोगी थिए।
गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकका स्थायी बासिन्दा गुरुङ पर्वतारोहण क्षेत्रमा ‘युक्त’ नामले परिचित थिए। हिमालप्रतिको उनको समर्पण, अनुभव र नेतृत्व क्षमताका कारण उनी नेपाली पर्वतारोहण क्षेत्रका भरपर्दा गाइडमध्ये एक मानिन्थे।
१७ वर्षको उमेरदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय उनले सन् २०११ मा २२ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। समयसँगै उनी हिमाल चढ्ने मात्र होइन, विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकका रूपमा स्थापित भए।

उनको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक थियो १० पटक सगरमाथाको सफल आरोहण। यो कीर्तिमानसँगै उनी शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने नेपाली आरोही बनेका थिए। उनी गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा शिखरमा पुग्ने पहिलो व्यक्ति पनि हुन्।
सगरमाथामा मात्र सीमित नभई उनले मनास्लु, अन्नपूर्ण, ल्होत्से, मकालु, कञ्चनजंघा, केटु, ब्रोड पिक, ग्यासरब्रुम-१ र ग्यासरब्रुम-२ लगायतका विश्वका आठ हजार मिटरभन्दा अग्ला अधिकांश हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए। धौलागिरि, चो ओयु, नाङ्गा पर्वत र शिशापाङ्मा आरोहण गर्ने योजना अधुरै रह्यो।
२०८० सालमा उनले केवल १२ दिनको अवधिमा पाकिस्तानका चारवटा आठ हजार मिटरभन्दा अग्ला हिमाल ग्यासरब्रुम-२, ग्यासरब्रुम-१, ब्रोड पिक र विश्वकै दोस्रो अग्लो केटु सफलतापूर्वक आरोहण गरेर नयाँ कीर्तिमान बनाए । केटु आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति बन्नु उनको अर्को ऐतिहासिक उपलब्धि थियो।
पछिल्ला वर्षहरूमा पनि उनको हिमाल यात्राको गति रोकिएको थिएन। एकै सिजनमा अन्नपूर्ण, सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघा गरी पाँच वटा आठहजारी हिमाल आरोहण गरेर उनले आफ्नो क्षमता प्रमाणित गरेका थिए। उनले हालसम्म २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरिसकेका छन्।
एलिट एक्स्पेड कम्पनीका सिनियर माउन्टेन गाइडका रूपमा कार्यरत गुरुङ विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाका सबैभन्दा भरपर्दा सहयोगीमध्ये एक थिए। कठिन हिमाली अभियानमा उनको अनुभव, संयमता र नेतृत्वलाई विदेशी आरोहीहरूले समेत सम्मान गर्थे। भविष्यमा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको उच्च मान्यता प्राप्त गर्ने उनको योजना थियो।
गुरुङ केवल सफल आरोही मात्र थिएनन्, नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत पनि थिए। दुर्गम गाउँबाट अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै उनले मेहनत, अनुशासन र साहसले असम्भव देखिने लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने उदाहरण दिएका थिए ।
तर, हिमालसँग जीवनभरको सम्बन्ध गाँसेका यिनै अनुभवी आरोहीको यात्रा अन्ततः हिमालमै टुंगिएको छ। ब्रोड पिकको हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रले एक कुशल गाइड, साहसी आरोही र अनुभवी हिमालकर्मी गुमाएको छ।
लाप्राकका युक्त गुरुङ आजदेखि नेपाली हिम आरोहणका क्षेत्रका लागि इतिहास बनेका छन्। तर उनले टेकेका शिखर, बनाएका कीर्तिमान र नेपाली पर्वतारोहणलाई दिएको योगदान भावी पुस्ताका लागि प्रेरणाको शिखर बनेर उभिनेछ।













प्रतिक्रिया