काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेसन थिएटर भवनको उद्घाटन गरिएको छ।
भारतीय राजदूतावासका अनुसार दुईतले अपरेसन थिएटर भवनको शुक्रबार काठमाडौँस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो। परियोजना तुलसीपुर उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय राजदूतावासले जनाएको छ। यो दाङ जिल्लामा सम्पन्न भएको सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, अस्पताल व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गरेका थिए।
उनीहरूले नयाँ पूर्वाधारले दाङसहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशमा करिब ६ सय परियोजना अघि बढाइएको छ। तीमध्ये लुम्बिनी प्रदेशमा ६६ वटा र दाङ जिल्लामा सात वटा परियोजना रहेका छन्।
यसका साथै भारत सरकारले दाङ जिल्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई १९ वटा एम्बुलेन्स र आठ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ।
लुम्बिनी प्रदेशभर भने विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थालाई १६९ वटा एम्बुलेन्स र ५९ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ। सन् २०२२ को जनवरीमा राप्ती आँखा अस्पताललाई पनि एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो।
भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास साझेदारीअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकासमा सहयोग पुर्याउनुका साथै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई थप सुदृढ बनाउने जनाएको छ।












प्रतिक्रिया