मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ « Khabarhub

मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा दीर्घकालीन समाधानका लागि सर्वपक्षीय संवाद सुरु गर्न सरकारसँग माग गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले यस्तो माग गरेका हुन्।

पार्टीले धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि निन्दा गरेको छ। राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने उल्लेख गरेको छ।

प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको भन्दै राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण गर्न नसक्दा तराई–मधेसमा तनाव बढेको दाबी गरेको छ।

पार्टीले लोकतान्त्रिक व्यवस्थामा समस्याको समाधान दमन र गोली प्रहारबाट नभई संवाद, सहिष्णुता, विधिको शासन र पारस्परिक सम्मानमार्फत खोजिनुपर्नेमा जोड दिएको छ। घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन पनि राप्रपाले सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा तराई-मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व तथा धार्मिक महोत्सवका बेला पटक-पटक तनाव र साम्प्रदायिक विवाद दोहोरिने क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाका कमजोरी र प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुग्न तथा दीर्घकालीन समाधान खोज्न राप्रपाले आग्रह गरेको छ। साथै, यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय समिति गठन गरी तत्काल संवादको प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएको छ।

राप्रपाले प्रत्येक नेपालीले संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने जनाएको छ।

राज्यको उदासीनताका कारण देश द्वन्द्वतर्फ उन्मुख हुने जोखिम बढेको भन्दै सबै पक्षलाई विश्वासमा लिएर दीर्घकालीन शान्तिका लागि राष्ट्रिय अठोट आवश्यक रहेको पनि पार्टीको धारणा छ।

विज्ञप्तिमा २०६२/६३ को राजनीतिक परिवर्तनपछि अपनाइएको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक भएको उल्लेख गरिएको छ।

राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र सामाजिक एकतालाई पर्याप्त महत्व नदिइएका कारण समय–समयमा सामाजिक तथा धार्मिक तनाव देखिएको र त्यसतर्फ पुनर्विचार आवश्यक भएको राप्रपाको निष्कर्ष छ।

राप्रपाले वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापनाको आफ्नो एजेन्डा कुनै धर्म, सम्प्रदाय वा समुदायको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारेको छ।

पार्टीले नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता तथा सबै नागरिकको धार्मिक स्वतन्त्रता र समान अधिकार सुनिश्चित गर्ने राष्ट्रिय अवधारणाका रूपमा हिन्दु राष्ट्रको एजेन्डा अघि बढाउँदै आएको बताएको छ।

प्रवक्ता श्रेष्ठले पछिल्ला दुई दशकको अभ्यासले यसको आवश्यकता पुष्टि गरेको दाबी गरेका छन्। यस विषयमा राष्ट्रिय बहस सुरू गर्न पनि पार्टीले सबैमा आह्वान गरेको छ।

राप्रपाले नेपाली नागरिकलाई संयम, सहिष्णुता, विवेक र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र दीर्घकालीन शान्ति कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ३५ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन