‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक « Khabarhub

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशसमेत रहेका सम्पादन तथा प्रकाशन समितिका संयोजक हरि फुयाँल, न्यायाधीश सुनील पोखरेल, नेपाल बार एसोसिएनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रलगायतले उक्त पुस्तकको सार्वजनिक गरेका हुन्।

न्यायाधीश फुयाँलले कानुनी पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारका लागि तथा नवप्रवेशीका लागि यो पुस्तक मार्गदर्शन गर्न थप उपयोगी हुने विश्वास व्यक्त गरे। सूचना प्रविधिको विकाससँगै अदालत अहिले सूचनामा पारदर्शी बन्दै गएकाले जनगुनासो नआउनेगरी काम हुन थालेको उनले बताए।

‘कानुनी पत्रकारिता पहिलाभन्दा स्तरीय हुँदै गएको छ । पहिला कानुनमा समाचार लेख्ने पत्रकारको सङ्ख्या नगन्य हुन्थ्यो । अहिले सङ्ख्यात्मक वृद्धि भएको छ’, न्यायाधीश फुँयालले भने, ‘अदालतहरूले प्रवक्ता तथा सूचना अधिकारीको व्यवस्था गरेका छन्, वेबसाइटबाटै पनि सूचना लिनसक्ने व्यवस्था गरिँदैछ, यसबाट पनि पत्रकारलाई सहजीकरण हुँदै आएको छ ।’

बारका अध्यक्ष प्रा डा मिश्रले उक्त प्रकाशन न्यायिक पत्रकारिताका लागि मात्रै नभएर समग्र पत्रकारिताका लागि महत्त्वपूर्ण स्रोत सामग्री हुने विश्वास व्यक्त गरे । 

‘कानुनी क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्नेका लागि पुस्तक महत्त्वपूर्ण छ’, उनले भने, ‘सामान्य कानुनी ज्ञान हासिल गरेको वा कानुनी ज्ञानै नभएकाले अदालतको समाचार लेख्दा तात्विक भिन्नता पर्दछ ।’

मञ्चका पूर्वअध्यक्ष डा. लीलाधर उपाध्यायले पुस्तक अदालती पत्रकारिता गर्ने पत्रकारका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताउँदै यसले अदालती पत्रकारिता क्षेत्र झनै उत्तरदायी बन्ने अपेक्षा गरिएको उल्लेख गरे। 

मञ्चका अध्यक्ष कालिका खड्काले मार्गदर्शन अदालती समाचार लेख्ने, कानुनी पत्रकारिताको विषयमा अध्ययन गर्न चाहनेका लागि महत्त्वपूर्ण स्रोत सामग्री बन्न सक्ने बताए। तीन वर्षको तयारीबाट पुस्तक प्रकाशनमा ल्याइएको जनाउँदै उनले अदालती पत्रकारिता विषयमा समाचार लेख्नेका लागि यो सहयोगी बन्ने विश्वास व्यक्त गरे। 

मञ्चले सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिसँगको सहकार्यमा तयार गरेको सो पुस्तकको मञ्चका पूर्वअध्यक्ष डा. उपाध्याय र सर्वोच्च अदालतका शाखा अधिकृत राकेश बमले लेखन तथा सम्पादन गरेका हुन् ।

पुस्तकमा नेपालको न्यायिक र अदालती पत्रकारिताको इतिहास, मिथ्या सूचना पत्ता लगाउने तरिका, अदालती बिट पत्रकारिता गर्दा अपनाउनुपर्ने संवेदनशीलता, अदालती पत्रकारिताका चुनौती, अदालती पत्रकारिता र अदालतको अवहेलनासम्बन्धी विषय र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरू समेटिएका छन् ।

यस्तै संवैधानिक व्यवस्था, अदालतहरू, न्याय सम्पादन गर्ने अर्धन्यायिक निकाय, अदालती मुद्दाका प्रक्रिया, अदालतमा मानव संशाधन, अदालतको अवहेलनासम्बन्धी कानुन, अदालती समाचार लेख्दा पालना गर्नुपर्ने आचरणगत मार्गदर्शन समेटिएका छन् ।

कार्यक्रममा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, बारका महासचिव केदार कोइराला, विशेष अदालत, बार एसोसिएसनका अध्यक्ष टीकाराम कुँवर, संसद् सचिवालयका पूर्वसचिव राजेन्द्र फुयाँलले, ‘जष्ट नेपाल डटकम’का सम्पादक अरुण बराललगायत न्यायकर्मी र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ३२ बजे

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण