भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात् भैलः नाच सुरु भएको छ । तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर आइतबार रातिदेखि भैरव नाच सुरु भएको हो ।
यही भदौ १७ गतेसम्म प्रदर्शन हुने ऐतिहासिक तथा आनुष्ठानिक ‘परम्परागत थिमि भैलः अर्थात् भैरव नाच धार्मिक मान्यताअनुसार महत्त्वपूर्ण मानिँदै आएको छ ।
श्री गणेश सांस्कृतिक समाज (कुम्हाननी, तुलंननी, मध्यपुरथिमि–५) को आयोजनामा सुरु भएको भैलः नाच गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने परम्परा छ ।
तान्त्रिक विधिबाट मुकुन्डोमा प्राणप्रतिष्ठापन गरी त्यसलाई धारण गरेर परम्परागत पोशाक लगाएर दैवी शक्तिको आह्वान गरी नचाइने यस नाचलाई विसं १९९७ देखि प्रजापति समुदायले संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै आएको नाचका गुरु गणेशमान प्रजापतिले जानकारी दिए ।
प्रजापति समुदायद्वारा निरन्तरता दिइँदै आएको यो नाच मल्लकालदेखि नै सुरु भएको मानिँदै आएको छ । १९९७ सालदेखि प्रजापति समुदायले यसलाई संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै इतिहासलाई जीवन्त बनाउने काम गरेको नाच हेर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
परम्परागत थिमि भैलः अर्थात् भैरव नाचमा कुल ३२ तालमध्ये हाल प्रचलित २७ ताल विशेष स्थानअनुसार बजाइन्छ । नाचका क्रममा बाजाको तालमा ‘भैलः खायगु’ (भैरव जाग्ने) र देवगणले चार घण्टासम्म उग्र रूपमा जाग्ने र नाच्ने गर्छन् ।
पाँच जना मुख्य देवगणका रूपमा रहने भैलः नाचमा न्हापा भैलः (चण्डिका/दिगु भैलः) को डरलाग्दो ठूलो मुकुन्डो र हातमा खड्ग बोकेका पहिलो भैरव, लिपा भैलः (बटुक भैरव) जो बालकुमारी मन्दिरमा भैरवको प्रतीकका रूपमा रहने दोस्रो भैरव, न्हापा दागी (कुमारी): रातो वस्त्र, रक्तवर्ण, डमरु बोकेको बालकुमारीका प्रतीक, लिपा दागी (महालक्ष्मी): महालक्ष्मीका प्रतीक र ज्यापुंगःचा (हरिसिद्धी): साना उमेरका बालक, जसले कपासको बियाँ (ज्यापू) ले छातीमा हानेर उग्र रूप लिएका भैरव र दागीलाई शान्त पार्ने गरी तान्त्रिक विधिअनुसार देवगण नाच्ने परम्परा छ ।
यस वर्ष विज्ञान प्रजापति (न्हापा भैलः), रिजन प्रजापति (लिपा भैलः), निराजन प्रजापति (न्हापा दागी), विमल प्रजापति (लिपा दागी) र विनिस प्रजापति (ज्यापुंगःचा) ले देवगणका रूपमा नाच प्रस्तुत गरेका छन् ।
यसअघि नाचका गुरुहरू तेजकुमार प्रजापति, मोहनकृष्ण प्रजापति, सन्तबहादुर प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, राजकाजी प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापतिले तान्त्रिक नाचको एक महिना प्रशिक्षण दिएका थिए ।
नाच प्रदर्शनअघि यही भदौ १० र ११ गते ‘अखलेय् ल्हुय्केगु’ अर्थात् पूर्वअभ्यास गरी गाईजात्रा (सापारु) का दिन राति भैलःको अन्तिममा ‘साँज्या’ निकालिएको थियो ।
भैलः नाच मध्यपुरथिमिमा चार रातसम्म अर्थात् भदौ १७ गतेसम्म विधिवत् रूपमा नगरका विभिन्न डबली तथा टोलहरूमा प्रदर्शन गरिन्छ । तेस्रो दिन गरिने ‘बाँ पूजा’ का दिन भक्तजनलाई गुह्य पूजा कोठामा प्रवेश र पूजाको अनुमति प्रदान गरिन्छ भने पहिलो दिन भाज खाएर नाच प्रदर्शन गर्ने प्रचलन छ ।
प्राचीन कालमा नगरमा आउने भूतप्रेत, लाखे र पिशाचको भयबाट मुक्ति गर्न नगरवासीको रक्षा एवं शान्तिका लागि भैलः नाच सुरु भएको गुरु प्रजापति बताउँछन् ।












प्रतिक्रिया