काठमाडौं– उदीयमान अर्थतन्त्रहरूको संगठन ब्रिक्सका सदस्य राष्ट्रहरूले आपसी व्यापार र भुक्तानीलाई सहज तथा किफायती बनाउन आ-आफ्ना डिजिटल मुद्राहरू र तीव्र भुक्तानी प्रणालीहरूलाई आपसमा जोड्ने विषयमा गम्भीर छलफल गरिरहेका छन्। भारतीय रिजर्भ बैंक का गभर्नर संजय मल्होत्राले एक कार्यक्रममा दिएको जानकारीअनुसार सीमापार भुक्तानीलाई छिटो र सस्तो बनाउन यो कदम चालिएको हो।
ब्रिक्स संगठनले अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने अत्यधिक लागत घटाउन र कारोबारको गति बढाउन विभिन्न विकल्पहरूमाथि विचार गरिरहेको छ। विशेष गरी सदस्य राष्ट्रहरूले आफ्ना केन्द्रीय बैंकहरूले जारी गरेका डिजिटल मुद्राहरू र डिजिटल भुक्तानी पूर्वाधारहरूलाई एकीकृत गर्ने योजनालाई प्राथमिकतामा राखेका छन्। भारतले यस वर्षको शिखर सम्मेलनको आयोजना गरिरहेको सन्दर्भमा सीमापार व्यापार तथा पर्यटन भुक्तानीहरूलाई थप सुगम बनाउन यो एजेन्डालाई विशेष रूपमा अघि बढाइएको हो।
यस किसिमको एकीकृत प्रणाली सञ्चालनमा आएसँगै सदस्य राष्ट्रहरूबीचको आर्थिक कारोबारमा पश्चिमी देशहरूको प्रभुत्व रहेको परम्परागत बैंकिङ तथा सन्देश प्रणालीमाथिको निर्भरता कम हुने विश्लेषकहरूको ठम्याइ छ। साथै, यसले स्थानीय मुद्रामा व्यापार फछ्र्यौट गर्न र क्षेत्रीय आर्थिक साझेदारीलाई अझ बलियो बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया