मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित « Khabarhub

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ ।

बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ ।

मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताए ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताए । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो ।

उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उनले बताए ।

यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ९ : २२ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)