एजेन्सी – ओमानले आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको छ । यसैबीच, इरानले स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजमा तनाव बढ्दै गएको छ ।
ओमानको समुद्री सुरक्षा केन्द्रका अनुसार पानामाको झण्डा बोकेको ‘आरआईटीआई’ नामक व्यापारिक जहाजमाथि आक्रमण भएपछि आगलागी भएको थियो । त्यसपछि ओमानी नौसेनाले जहाजमा रहेका २५ जना चालक दलका सदस्यको उद्धार गरेको हो । उनीहरूलाई आवश्यक स्वास्थ्य उपचारसमेत प्रदान गरिएको केन्द्रले जनाएको छ । समुद्री जहाज ट्र्याकिङ वेबसाइट मरिन ट्राफिकका अनुसार उक्त जहाज कच्चा तेल बोक्ने ट्याङ्कर हो ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका समुद्री बारुदी सुरुङ हटाएको बताएका छन् । उक्त जलमार्गलाई खुला र सुरक्षित राख्न अमेरिकी सेना तैनाथ रहेको उनको भनाइ छ ।
बेलायती समुद्री सुरक्षा निकाय (युकेएमटीओ) का अनुसार शुक्रबार इरानको लाभान टापुबाट करिब ७४ किलोमिटर दक्षिणमा रहेको अर्को जहाजमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको थियो । जहाजका चालक दलका सदस्य सुरक्षित रहेको र वातावरणीय क्षतिको कुनै खबर प्राप्त नभएको निकायले जनाएको छ ।
इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले भने अनधिकृत मार्ग प्रयोग गरेको आरोपमा तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ । ती जहाजले नेभिगेसन तथा आफ्नो अवस्थिति पहिचान गर्ने प्रणाली बन्द गरेर इरानी चेतावनी बेवास्ता गरेको गार्ड्सको आरोप छ ।
इरानका अनुसार तीमध्ये एउटा ट्याङ्करमा २० लाख ब्यारेल तेल रहेको थियो । उक्त ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको पनि इरानले जनाएको छ ।
इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजले आफूले तोकेको मार्ग प्रयोग गर्नुपर्ने र यात्राबारे इरानी सेनासँग समन्वय गर्नुपर्ने अडान राख्दै आएको छ ।
इरानले उक्त जलमार्गमा लगाएको अवरोधको जवाफमा अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ । यसले इरानको तेल निर्यात र व्यापारिक गतिविधिमा थप अवरोध सिर्जना गरेको छ ।














प्रतिक्रिया