सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिनको वर्षाले खेतीमा क्षति पुर्याएपछि निराश भएका छन् ।
फूल टिपेर बजार पुर्याउने तयारीमा रहेका किसानको महिनौँदेखिको मिहिनेत वर्षाका कारण खेर जाने अवस्था आएको छ । वर्षाले फूलका बोट भुइँमा ढलाउनुका साथै उत्पादनमा समेत क्षति पुर्याएको किसानले बताएका छन् ।

गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएका छन् । उनले यस वर्ष चार कठ्ठा जग्गामा सयपत्री फूल लगाएकी थिइन् । खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेका उनले तिहार र छठमा फूल बिक्री गरेर चार लाख रुपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गरेकी थिइन् ।
तर, लगातारको वर्षाले करिब दुई हजार ५०० बोट फूल भुइँमा ढलेपछि लगानीसमेत डुब्ने अवस्था आएको उनले बताइन्।

त्यस्तै, गोलबजार नगरपालिका–६ का किसान रुदल नायकले करिब छ कठ्ठा जग्गामा लगाएको फूल खेतीमध्ये तीनदेखि चार कठ्ठाको फूल वर्षाले नष्ट गरेको बताएका छन् ।
सोही वडाकी किसान इन्द्रकुमारी लामाको पाँच कठ्ठामा लगाइएको सयपत्री फूलमा पनि वर्षाले ठूलो क्षति पुर्याएको छ । करिब १० वर्षदेखि फूल खेती गर्दै आएकी लामाले तिहार र छठमा फूल बिक्री गरेर चार लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकी थिइन् ।

चाडपर्वलाई लक्षित गरी फूल खेतीमा लगानी गरेका किसान वर्षाले उत्पादनमा क्षति पुर्याएपछि लगानीसमेत नउठ्ने चिन्तामा परेका छन् ।


















प्रतिक्रिया