बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर « Khabarhub

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

धरानलाई खेलकुदको सहरको रूपमा चिनाउन बुढासुब्बा गोल्डकपले महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए । ‘धरानलाई खेलकुदको सहर भनेर चिनाउन बुढासुब्बा गोल्डकपले ठूलो योगदान पुर्‍याएको छ, यसको वर्णन गरेर सकिँदैन’, अध्यक्ष तामाङले भने, ‘नेपालका प्रतिष्ठित क्लबहरूसँगै अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता रहने यस प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

विगत वर्षहरूमा १२ टिमसम्म सहभागी गराइएको बुढासुब्बा गोल्डकप विभिन्न कारणले केही समय आठ टिममा सीमित रहँदै आएकामा यस वर्ष भने १० टिमको सहभागिता रहनेछ । तामाङले भने, ‘यस वर्ष दश टिमको सहभागितामा यही माघ २२ गतेदेखि २६औँ संस्करणको प्रतियोगिताको सुरु हुँदैछ, यो हामी सबैका लागि खुसीको कुरा हो ।’

प्रतियोगिता बीचमा कोरोना महामारीका कारण दुई वर्ष आयोजना हुन नसके पनि त्यसपछि भने निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । बुढासुब्बा गोल्डकप धरानका लागि एउटा पहिचानजस्तै बनेको छ । अध्यक्ष तामाङले भने, ‘प्रतियोगिता सञ्चालनमा आर्थिक पक्ष पनि महत्त्वपूर्ण हुन्छ, हामीले प्रत्येक वर्ष बुढासुब्बा गोल्डकपको स्तर वृद्धि गर्न गम्भीर भएर लागेका छौँ ।’

यस वर्ष धरान उपमहानगरपालिकाले पहिलो र दोस्रो पुरस्कारको रकम सहयोग गर्ने भएपछि प्रतियोगिता सञ्चालन केही सहज भएको उनको भनाइ छ । फुटबलप्रेमीहरूको माग र चाहनाअनुसार यस वर्ष टिम सङ्ख्या आठबाट बढाएर १० पुर्‍याइएको अध्यक्ष तामाङले जानकारी दिए । यस वर्षको बुढासुब्बा गोल्डकपले फुटबलप्रेमीहरूलाई थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

कोशी पहाडको प्रवेशद्वारका रूपमा परिचित धरान सौखिन, ‘फेसनेबल’ र लाहुरेको सहरका रूपमा परिचित छ । पछिल्लो समय भने धरान खेलकुद प्रेमीहरूको सहरका रूपमा समेत परिचित हुँदै गएको छ । यसमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्त्वपूर्ण रहेको खेलप्रेमीहरूको भनाइ छ ।

बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा फुटबल तथा खेलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । अन्य खेलहरूको पनि आफ्नै महत्त्व भए पनि बुढासुब्बा गोल्डकप नेपालकै पुरानो तथा सम्मानित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धरानलाई योगदान पुर्‍याएको छ ।

तामाङले बुढासुब्बा गोल्डकपले धरानलाई मात्र नभई यहाँका खेलाडीहरूलाई पनि चिनाएको बताए ।

प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप सञ्चालन गर्न करिब एक करोड रुपैयाँ बराबरको लगानी लाग्ने गर्दछ । जसमध्ये केही प्रतिशत सहयोग स्थानीय सरकारबाट प्राप्त हुन्छ भने बाँकी रकम हङकङ, बेलायत, सिङ्गापुरलगायत विभिन्न देशमा रहेका सहयोगी व्यक्तिहरूको चन्दा तथा सहयोगबाट जुटाइनेछ ।

बुढासुब्बा गोल्डकप हेर्न सुनसरीका विभिन्न स्थानसँगै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायत जिल्लाबाट समेत खेलप्रेमी दर्शकहरू धरान आउने गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ११ : ३५ बजे

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू